+
+

मेरी श्रीमती: सुन्तलीसँग नाम जोडिएदेखि नै मैले प्रगति गरेँ

श्रीमती जीवन जिउने आधार हुन् । जीवनको एक पाटो, एक अंग हुन् । हुन त धेरै होलान्, विवाह नगरी एक्लै पूरै जिन्दगी बाँचेका वा बाँच्ने आँट गरेकाहरू । तर, आफू विवाहित भएकाले पनि होला, मलाई त श्रीमतीबिनाको जीवन कल्पना पनि गर्न सकिँदैनजस्तो लाग्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ९ गते १६:००

Sitaram Kattel (1)

सीताराम कट्टेल (धुर्मुस), कलाकार

श्रीमती जीवन जिउने आधार हुन् । जीवनको एक पाटो, एक अंग हुन् । हुन त धेरै होलान्, विवाह नगरी एक्लै पूरै जिन्दगी बाँचेका वा बाँच्ने आँट गरेकाहरू । तर, आफू विवाहित भएकाले पनि होला, मलाई त श्रीमतीबिनाको जीवन कल्पना पनि गर्न सकिँदैनजस्तो लाग्छ ।

जिन्दगीमा श्रीमतीको महत्त्व निकै हुन्छ । श्रीमती छिन् र ढुक्क छु । कुनै चिन्ता, तनावमा हुँदा पनि श्रीमतीलाई सुनाउँदा मन शान्ति हुन्छ । उनले केही न केही उपाय दिन्छिन्, ऊर्जा दिन्छिन्, चिन्ता नलिन भन्छिन्, उनले भनेपछि केही बिग्रेको छैन जस्तो लाग्छ ।

मेरा लागि श्रीमती प्रेरणाकी स्रोत हुन् । श्रीमतीसँगका हरेक पल प्रेरणादायी लाग्छन् । उनी व्यावहारिक छिन् । कतै म बहकिएँ भने पनि उनले लगाम लगाउँछिन्, सम्झाउँछिन्, सम्हाल्छिन् । उनको व्यावहारिकता नै देखेर मैले उनलाई रोजेको हुँ ।

मेकअप गर्दागर्दै देखेको

वृद्धवृद्धा आमाबाले भन्नुहुन्थ्यो, ‘तिमीहरूको जोडी भगवानले जुराइदिए जस्तो छ ।’ हामीभन्दा साना उमेरकाले मलाई दाजु नमस्ते, कुञ्जनालाई भाउजू नमस्ते भन्न थाले । यो सुन्दा मलाई त भित्रभित्र हो कि जस्तो पनि लाग्न थालिसकेको थियो ।

दमन रुपाखेती दाइले एउटा टेलिफिल्म बनाउँदै हुनुहुन्थ्यो, लौन सतायो । त्यसमा म पनि सहभागी थिएँ, प्रोडक्सन कन्ट्रोलर (व्यवस्थापक) को रुपमा, यो ०६० सालतिरको कुरा हो ।

लौन सतायोको सुटिङ थियो, मैतीदेवीमा । गाडीमा एउटी केटीले मेकअप गरिरहेको देखेँ । मेकअप गरिरहेकाले पनि होला, निकै फेसनेबल देखेँ । त्यतिबेला म थापाथलीमा भाडाको कोठामा बस्थेँ । आर्थिक अवस्था राम्रो थिएन, बन्दागोपीमा तेल नहाली छ्वाल्ल झोल हालेर खाने अवस्था थियो । उनी त्यहाँ हुनेखाने नै देखिन्थिन् । पहिरन महँगो देखिन्थ्यो, सहरिया हुनेखानेजस्तो । देख्नेबित्तिकै मनमनै सोचेँ- यो केटी निकै नै रैछ, कोचाहिँ रैछ !

त्यसपछि हामीबीच कुराकानी भयो । घर ललितपुर चापागाउँ, नाम कुञ्जना घिमिरे । कलाकार नै लागेर ‘के केमा काम गर्नुभाछ’ भनेर सोधेँ । उनले माटोले माग्दैन आफैँ दिनुपर्छ, अपराध लगायत टेलिफिल्म खेलेको बताइन् । थुप्रै टेलिसिरियल खेलिसकेकी रहिछन् । तर, हाँसेर-खुलेर कुरा गरिन्, हाइफाई वा कुनै घमण्ड देखाइनन् । मलाई उनी अनौठी लाग्यो । तर, पहिलो भेटमै आकषिर्त हुने, मन पराउने भन्ने भएन ।

जोडी मिल्छ भनेर साथीहरूले जिस्काउँदा

दमनदाइले दिन प्रतिदिन रेडियो नाटक पनि चलाउनुहुन्थ्यो, रेडियो नेपालमा । त्यसमा हामीले पनि काम गथ्र्यौं- म, कुञ्जना, केदारजी (केदार घिमिरे) लगायतले । पछि मेरी बास्सै बनाउने विषयमा छलफल हुन थाल्यो । कामकै सिलसिलामा हाम्रो भेट निरन्तरजसो हुन थाल्यो । रेडियो नेपालको क्यान्टिनमा खाजा खाइन्थ्यो, दमनदाइ लगायत साथीले म र कुञ्जनालाई जोडेर जिस्काउन थाले- तिमीहरू बिहे नभएका पर्यौ, जोडी मिल्छ भन्ने ढंगले । उनले त सामान्य रुपमा लिएजस्तो लाग्थ्यो, मलाई भने मिठास लाग्न थालेको थियो ।

दर्शकले भन्न थाले- जोडी मिलेको छ

‘मेरी बास्सै’ निर्माणमा लाग्यौँ- दमनदाइ, केदारजी, कुञ्जना, मलगायत । यो ०६१ सालतिरको कुरा हो । पहिले सहरी परिवेशको बनाइएको थियो । म काका र कुञ्जना भतिजीको भूमिकामा थिइन् । तीन-चार भाग गरेपछि त्यति गतिलो भएन भन्ने लाग्यो ।

त्यसपछि गाउँले परिवेशको बनाउने कुरा भयो । मैले अलि गोज्याङ्ग्रो-गोज्याङ्ग्रो, लफङ्गो खालको भूमिका गर्ने भएँ । नाम धुर्मुस पनि मैले नै राखेँ । उनको नाम सुन्तली राखियो । धुर्मुस र सुन्तली जोडी दर्शकले मन पराउनुभयो ।

०६२ सालतिर धुर्मस-सुन्तली, माग्नेबुढोको माग बढ्न थाल्यो, जिल्लाका सांस्कृतिक कार्यक्रममा । त्यतिबेला हामी ३० भन्दा बढी जिल्लामा गयौँ ।

जिल्लातिर जाँदा कतिपय वृद्धवृद्धा आमाबाले भन्नुहुन्थ्यो, ‘तिमीहरूको जोडी भगवानले जुराइदिए जस्तो छ ।’ हामीभन्दा साना उमेरकाले मलाई दाजु नमस्ते, कुञ्जनालाई भाउजू नमस्ते भन्न थाले । यो सुन्दा मलाई त भित्रभित्र हो कि जस्तो पनि लाग्न थालिसकेको थियो ।

एकपटक झापामा पनि कार्यक्रम पर्यो, मैले उनलाई मेरो घरमा पनि लिएर गएँ । उनको घरमा पनि हामी जान्थ्यौँ ।

प्रेम-प्रस्तावको कथा

Sitaram-kattel-2मलाई त उनी भित्रैबाट मन परिसकेको थियो । अरुले जोडी मिल्छ भन्दा बडो स्वाद पथ्र्यो । सबैले भन्दाभन्दा मलाई पनि एकचोटि प्रस्ताव हान्दिउँ न त भन्ने लाग्यो । म थापाथलीमा डेरामा बस्थेँ, पुरानो घरमा । एउटा कोठा, सात सय रुपैयाँ भाडा थियो । म बसेको चौथो तलामा झापातिरका एकजना दाइ बस्थे, परिवारसहित । उनको कोठामा फोन थियो ।

राति तीन-चार बजेतिर धारामा पानी आउँथ्यो । मैले उहाँहरूलाई पानी बोकेर पुर्याइदिन्थेँ । पानी पुर्याएपछि फोन गर्न पनि पाउँथेँ ।

०६२ सालतिर एक दिन मैले त्यहाँबाट कुञ्जनाको घरको ल्यान्डलाइनमा फोन गरेँ । त्यतिबेला मोबाइल त्यति आइसकेको थिएन ।

सुरुमा सामान्य कुरा भयो । मन बलियो बनाएर भनेँ, ‘सबैले हाम्रो जोडी मिल्छ भन्छन् । आखिर तपाईंले पनि बिहे गर्नैपर्छ, मैले पनि गर्नैपर्छ । मलाई त तपाईं मन पर्छ ।’

यति के भनेको थिएँ, आम्मामा उताबाट उनी पड्किहालिन्, हाँडीमा मकै पड्केजस्तो । ‘अहिले बेलै भाको छैन । भर्खर त करिअर बन्न लाग्दै छ । अहिले नै यस्तो सोचेँपछि हामी बिग्रन्छौँ । के सोचेको होला ?’

ठूलो आँटले फोन गरेको थिएँ, सोचेजस्तो उपलब्धि भएन ।

बिस्तारै-बिस्तारै प्रेमको गन्ध आउन थाली’गो

प्रेम-प्रस्ताव गरेपछि उनले मप्रतिको बोली-व्यवहारमा प्रस्ट थाहा हुने गरी केही दूरी राखिन् ।

भर्खर-भर्खर धुर्मुसको नामबाट चिनिन थालेको थिएँ । नाम हुँदै पैसा हुने भन्ने थिएन । भरे के खाने, भोलि के खाने भन्ने खालकै अवस्था थियो । उनी मन पर्यो, स्विकारे स्विकार्छिन्, नस्विकारे पनि हार खान्नँ भनेरै प्रेम प्रस्ताव गरेको थिएँ ।
त्यसपछि पनि सँगसँगै हामी देश-विदेशमा हुने कार्यक्रममा गइरहनुपर्यो । यता, मेरी बास्सैमा धुर्मुस-सुन्तली जोडीको चर्चा चुलिँदै गयो ।

उनलाई पनि आत्मीय साथी भएको महसुस हुँदै गयो होला । हिँड्दा बोल्दा घर-व्यवहारका कुरा पनि आउने भए । उनले मेरा समस्यामा साथ दिन थालिन् ।

नदिउँ, नखाउँ भन्ने उनको सोचै छैन । बिहे हुनअघि नै मेरी आमा काठमाडौं आउँदा उनले तिलहरी किनिदिएकी थिइन् । उतिबेलै घरपरिवारलाई पूरै मन दिन्थिन् । परिवार राम्रो भए सबै राम्रो हुन्छ भन्थिन् ।

मेरो घरमा अलिकति ऋण थियो । जेठो छोरो भएकाले ऋण मैले तिर्नुपथ्र्यो । उनले घर-व्यवहारमा पनि साथ दिन थालिन् । भाइ-बहिनीलाई पढाउनुपर्छ भनेर सहयोग गर्न थालिन् ।

भाइ-बहिनीलाई पढाउनुपर्छ, घरको ऋणधन पनि मिलाउँदै जानुपर्छ भनेर पूरै व्यावहारिक कुरा गर्न थालिन् ।
हुँदै जाँदा हामी आत्मीय साथी हुँदै गयौँ । बिस्तारै-बिस्तारै प्रेमको गन्ध आउन थाली’गो । मायाको गन्ध आउन थालेपछि भ्यालेन्टाइमा भेट्ने कुरा भयो, ०६३ सालको ।

पहिलो भ्यालेन्टाइन नै झुर भो

म थापागाउँमा बस्थेँ । मेरो भाइ कुमार (जिक्री) पनि मसँगै बस्थ्यो । भ्यालेन्टाइनको दिन थापागाउँको कोठामा सबैजना बस्ने-खाने कुरा भयो । बानेश्वरमा मैले उनका लागि गिफ्ट किनेँ- एउटा गुडिया । उनलाई गुडिया मन पर्ने थाहा थियो । मलाई भ्यालेन्टाइन डे, प्रेमिकालाई के गिफ्ट दिने भनेर खासै ख्याल थिएन ।

उनले मलाई एउटा सरस्वतीको मूर्ति गिफ्ट दिइन्, स्क्रिप्ट लेख्ने भएकाले सरस्वतीले बास गरुन् भनेर ।

त्यसपछि स्कुटर मैले चलाएँ, कुञ्जनाको रातो स्कुटर थियो । बाटोमा ‘आज मासु के खाने ? चिकेन खाने कि मटन खाने’ भन्छु, उनी मरेकाटे बोल्दिनन् । यसो फर्केर हेरेको त उनी छैनन्, छुटिछन् । फेरि फर्केर गएँ । उनी उताबाट हस्याङफस्याङ गर्दै आइरहेकी थिइन् । अनि भन्न थालिन्, ‘अहिले त तपाईंलाई यति होस छैन, मान्छे चढ्यो कि भन्नेसम्म ख्याल छैन । तपाईंसँग जिन्दगी कसरी चल्छ ?’

भो अब पहिलो भ्यालेन्टाइन नै झुर भइहाल्यो । तैपनि यस्तो-उस्तो भनेर फकाएँ ।

Sitaram Kattel (6)

ज्योतिषले मंसिरभित्रै बिहे गर्न भनेपछि

मेरो घरनजिकै झापा गौरादहमा निकै कहलिएका ज्योतिष छन्- ज्योतिषी ढकाल । ती ज्योतिषले धेरैलाई पुर्याएका छन् । मेरीआमाले ती ज्योतिषसँग मेरो ग्रहदशा हेरिरहनुहुन्थ्यो । उनले मलाई १७ वर्षको उमेरमा काठमाडौं टेक्छ भनेका थिए, त्यही भएको थियो । त्यस्तै, ‘एसएलसीमा कि यो फस्र्ट डिभिजनमा पास हुन्छ । कि त फेल हुन्छ । एउटा विषयचाहिँ यसले बिगार्यो,’ भनेका थिए । नभन्दै सबैमा फस्र्ट डिभिजन आयो, म्याथमा ४२ नम्बर मात्रै आयो, झन्डैले नगुल्टेको ।

०६५ सालको दशैँमा घर गएको थिएँ । आमाले तीनै ज्योतिषलाई मेरो चिना देखाउनुभएछ । ‘यो केटाले ०६५ सालको मंसिरभित्रै बिहे गर्नुपर्छ । नत्र कि यो केटो नै रहँदैन, रह्यो भने पनि प्रगति गर्दैन । खोलाछेऊ घर भएकी एउटी केटीसँग यसको माया बसेको छ’ भनेछन् । कुञ्जनाको पनि घर नख्खु खोलाछेउमै पर्छ ।

ज्योतिषले भनेपछि आमालाई के चाहियो ? लौ बिहे गरिहाल्नुपर्छ भन्न थाल्नुभो ।

भो अब ! भर्खर-भर्खर माया झांगिँदै थियो, बिहे त कहिले गर्ने भन्ने टुंगै थिएन । तैपनि कुञ्जनालाई फोन गरेँ, ज्योतिषले भनेको कुरा, आमाले भनेको कुरा सुनाएँ । अघिअघि ज्योतिषले मिलाएका प्रसंग पनि सुनाएँ ।

‘अहिलेको जमानामा ज्यातिषको विश्वास गर्ने, करिअर बनेकै छैन । त्यस्ता ज्योतिषले भनेर हुन्छ’ भन्न थालिन् । मैले भनेँ, ‘यहाँ उनले भनेको पुग्दै आएको पनि छ । फेरि आमाले पनि बिहे गर्न जोड गर्नुभाछ । उसले केटै रहँदैन भनेको छ, म मरिहालेँ भने के गर्ने ? अब तिमी नभए मैले अर्कीसँग भए पनि मैले त बिहे गर्नुपर्छ ।’ यति भनेपछि उनले पनि सोच्न थालिन् ।

पहिले आमालाई भनिन् । त्यसपछि बुवा हुँदै उनका आफन्तमा चर्चा भयो । सबैले मलाई टिभीमा देखिरहेकै थिए । केटो त देखेकै हो, तर घर-परिवार कस्तो छ भन्ने कुरा आएछ । उनले ‘घर-परिवार होइन, मैले केटालाई हेरेकी हुँ, जिन्दगी जिउने मैले हो । मलाई केटो मन परेको छ’ भनेर दबाब दिइछन् ।अन्ततः हामीले बिहे गर्ने भयौँ, १४ मंसिर ०६५ मा ।

झापादेखि काठमाडौंसम्मको यात्रा उनैलाई भेट्न रैछ

मेरो पुख्र्यौली थलो सोलुखम्बु हो । बुवाले चामलको भात खान दशैँ नै कुर्नुपथ्र्यो । छोराछोरीलाई सुखले चामलकै भात खुवाउन भनेरै मेरो बुवा झापा बसाइँ सरेर आउनुभयो, ०४८ सालमा ।

हाम्रो झापामा दुई बिगाहा जमिन थियो । पछि आमा बिरामी पर्नुभो, अप्रेसन गर्नुपर्यो, हामीले पनि पढ्नुपर्ने भयो, त्यसैले १० कट्ठा जमिन बेच्नुपर्यो । जेहोस्, परिवारमा खानलाई अभाव थिएन ।

म जेठो छोरो । ममुनि दुई बहिनी र दुई भाइ छन् । मैले सातदेखि १० कक्षासम्म हलो जोतेरै पढेँ । बिहान अरु मान्छे उठिसक्दा मैले एउटा गरो खेत जोतिसकेको हुन्थेँ । साढे नौ बजेतिर गोरु फुकाउँथे र हतारहतार स्कुल जान्थेँ । बत्ती थिएन, टुकी बालेर होमवर्क गर्थें । फेरि पनि स्कुलमा दोस्रो भइरहन्थेँ ।

स्कुल पढ्दा मैले चित्र बनाउँथेँ । श्री ज्ञानज्योति मावि गौरादहमा पढेको हुँ । त्यतिबेला स्कुलको अफिसमा मैले बनाएका धेरै चित्र राखिएको थियो- लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, मदन भण्डारी आदिको । ती चित्र अहिले के गरियो, थाहा छैन ।

साथीहरूको फोटोको पनि चित्र बनाइदिन्थेँ । यसबापत मलाई २५-३० रुपैयाँ दिन्थेँ । यो पैसाले कापीकलम किन्थेँ, कहिलेकाहीँ बुवालाई दिन्थेँ । मलाई आफैँले केही गर्नुपर्छ भन्ने सानैदेखि लाग्थ्यो ।

सात कक्षा पढ्दादेखि मेरो ध्यान नाटकमा गयो । स्कुलमा सांस्कृतिक कार्यक्रम हरेक शुक्रबारजसो भइरहन्थ्यो । हामीले त्यहाँ नाटक देखाउँथ्यौँ । झापामा एकजना बिछट्टै कलाकार हुनुहुन्थ्यो, गणेश विक, अहिले खसिसक्नुभयो । उहाँले मलाई नाटक सिकाउनुभएको हो ।  बेलुका बुवाआमा सुतिसकेपछि राति २ बजे म बरन्डाबाट फालहालेर नाटकको रिहर्सल गर्न जान्थेँ ।

घरमा ऋण थियो, जेठो छोरो भएकाले मैले नै तिर्नुपथ्र्यो, नतिरे बढ्दै जान्थ्यो । आर्थिक अभाव भएपछि घर-झगडा हुँदोरैछ- आमा र हजुरआमाबीच झगडा हुने, मन अशान्ति हुने हुँदो रैछ ।

एसएलसी पास भएपछि मेरो मन घुम्यो । सोचेँ, काठमाडौं जान्छु, चित्र बनाउँछु, नाटक खेल्छु, केही नभए भाँडै माझौँला । अन्ततः काठमाडौं आउने निर्णय गरेँ । बुवाले भन्नुभयो, ‘कसले जोत्छ, मैले सक्दिनँ, यहीँ क्याम्पस छ, यहीँ बसेर पढ् ।’

मैले जिद्धी गरेपछि बुवाले ३६ प्रतिशत ब्याजमा काठमाडौं आउने भाडा खोजिदिनुभयो- १७ सय रुपैयाँ ।

त्यही पैसाले काठमाडौं आएँ, ०५८ सालमा । १७ सय रुपैयाँले के हुन्थ्यो र ? त्यसपछि म कलंकीको एउटा कम्पनीमा भाँडा बेच्ने काम गरेँ । डोकामा भाँडा हालेर ‘आयो भाँडा’ भन्दै हिँडे । काठमाडौंमा धेरै दुःख गरेँ, यी सबै दुःख उनीसँग भेट रैछ ।

हनिमुन भनेकै सँगै प्रस्तुति

हामी जहिलेदेखि टेलिभिजनमा धुर्मुस-सुन्तली जोडी बनेर अघि बढ्दैँ थियौँ, त्यही बेला देशभर महोत्सव हुने क्रम बढ्दो थियो । महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा कलाकारको माग हुन्थ्यो ।

धुर्मुस-सुन्तली जोडीको पनि राम्रै माग थियो । हामीले १४ मंसिरमा बिहे गर्यौँ । तर, १७ मंसिरमा पोखरामा कार्यक्रम थियो, जोडी नै गयौँ । त्यसपछि २१ गते कोरियामा कार्यक्रम थियो, दुवै गयौँ । त्यसपछि इजरायल गयौँ ।  हामीले बिहे गरेको साल विभिन्न जिल्लामा महोत्सव परेको थियो । हाम्रो माग थियो । विदेशका कार्यक्रम कति तय भइसकेका थिए । हाम्रो हनिमुन भनेकै देश-विदेशका कार्यक्रममा सँगै प्रस्तुति दिने भयो ।

छोरी जन्मँदा 

हाम्री दुई वर्षकी छोरी छिन्, सुबिहानी । उनको नाम मैले राखिदिएको हुँ, सुन्तलीले बिहानै जन्माएको भएर- सुबिहानी ।

छोरी जन्मनुअघि नै कुञ्जनालाई जीडीएम सुगर भयो, नर्भिक हस्पिटलमा भर्ना गरिएको रहेछ ।

त्यतिबेला म रुकुमको कार्यक्रम सकेर नेपालगञ्ज आइपुगेको थिएँ । कुञ्जनाको अवस्था सामान्य नै रहेछ । त्यसैले आफन्तले उनलाई हस्पिटल भर्ना गरिएको मलाई खबर नगर्ने निधो गर्नुभएको रहेछ । तर, मलाई साढुदाइ (कुञ्जनाका भेनाजु) ले खबर गर्नुभएको थियो, कुञ्जनालाई हस्पिटल लगिएको छ, सामान्य छ, आत्तिनुपर्दैन भनेर । त्यसपछि म तत्कालै जहाजमा काठमाडौं आएँ ।

हस्पिटलमा मलाई देखेर कुञ्जना छक्क परिन् । त्यतिखेर मैले प्रमोद खरेलले गाउनुभएको ‘मनै कन्ट्रोल हुँदैन’ गीतको म्युजिक भिडियो बनाउँदै थिएँ । हस्पिटलमै भएका बेला सुटिङको काम सकेँ ।

१५ दिनजति हस्पिटल बसेपछि छोरी जन्मिइन् । घरमा लगेँ । तर, जन्मेको १६ दिनमै छोरी बिरामी परिन्, दाहिने घुँडामा इन्फेक्सन भयो । फेरि उनलाई पाटन हस्पिटल लगियो ।

त्यतिबेला मैले भूकम्पसम्बन्धी चेतनामूलक ‘जुल्फेको घर’ टेलिफिल्ममा काम गर्दै थिएँ । सुटिङ सक्नेबित्तिकै साँझ हस्पिटलमा जान्थेँ । राति ११-१२ बजेसम्म हस्पिटलमा रुँगेर बस्थेँ । मलाई एसिडिटी समस्या थियो, अनिदो बस्यो कि एसिडिटी बढ्थ्यो । म नै बिरामी भएपछि कुञ्जनाले मलाई घरमा बस्न भनिन्, त्यसपछि उज्यालो हुँदाबित्तिकै म हस्पिटल जान्थेँ ।

डाक्टर इमरान अन्सारीले अप्रेसन गर्नुपर्छ भन्नुभयो । हस्पिटलमा कागज गर्नुपर्दो रहेछ । यो अप्रेसन सफल हुन पनि सक्छ नहुन पनि सक्छ, के गर्नुहुन्छ भनेर सोधियो । मैले विदेश लैजान्छु भनेँ । तर, समय थिएन । अप्रेसन असफल भए पनि आफैँ जिम्मेवार हुने भनेर कागजमा हस्ताक्षर गरेँ ।

त्यति सानी बच्चीले औषधि खान सक्ने कुरा थिएन । सुई लगाइन्थ्यो । ढाडबाट पानी पनि निकाल्नुपर्ने भनियो । कुञ्जनालाई पनि गाह्रो, भर्खरकी सुत्केरी, छोरी बिरामी भएपछि हस्पिटलमा बस्नैपर्यो ।

त्यति सानी बच्चीले यत्रो पीडा पाउने भएपछि हामी बुढाबुढी सँगै रोयौँ ।

थुप्रैपटक सँगै रोएका छौँ

उनी रिसाएर बोल्न थालिन् भने म झोँक्राएझैँ बस्छु । उनको ‘धार्मिक प्रवर्चन’ सकिएको एक छिनपछि धुर्मुसकै पारामा ‘सुन्तली’ भनेर बोलाउँछु ।

बिहे भएको पाँच-सात दिनपछि सबै पाहुना गए । एक दिन साँझ मैले तरकारी ल्याएर उनलाई दिएँ । उनले अनौठो मानिन् । उनको मुहारमा नरमाइलोपन झल्कन्थ्यो ।मैले पनि सोचेँ- हिजोसम्म उनी आफ्ना बाबुआमासँग थिइन्, आमाले पकाएको खान्थिन्, आज बाबुआमा छाडेर मसँग आएकी छिन्, यत्रो जिन्दगी काट्नलाई ।

त्यसपछि मैले तरकारी केलाउन, खाना बनाउन सघाएँ । खाना खाएपछि मैले मेरो बालपन, स्कुल पढ्दाका दुःख, काठमाडौंका संघर्ष भन्न थालेँ । दुःखसुखका कुरा भएपछि हामी रुन थाल्यौँ ।

मेरो भाइ कुमार (जिक्री) युके जान्छु भन्यो, फिल्म डाइरेक्सन पढ्न । खर्च ११-१२ लाख लाग्थ्यो । हाम्रो बिहेकै सालको कुरा हो । भर्खर बिहेमा लागेको ऋण तिरेका थियौँ, बचत थिएन । त्यसपछि हामीले सरसापट गर्यौँ- कलाकार शिवहरि पौडेलदाइ, दीपकराजदाइसँग । मिडिया हबबाट  फेरि ऋण लियौँ । भाइलाई चाहिने पैसा जम्मा गर्यौँ । भाइ जाने भयो ।

तर, जाने दिनै ऊ बिरामी पर्यो- ज्वरो आएर बोल्नै नसक्ने भयो । यता सबै खर्च भइसकेको छ, नपठाई पनि भएन । उसलाई बिरामी अवस्थामै एयरपोर्टमा बिदावारी गर्यौँ । म घरको जेठो, भाइबहिनी हेर्ने जिम्मेवारी पनि मेरै, जिम्मेवारी लिएपछि माया बढी हुने । बिरामी हुँदाहुँदै पनि पठाउनुपर्यो, पठाएर र्फकंदा हामी बुढाबुढी रुँदै फक्र्यौं ।

त्यसपछि भूकम्पका बेला रोयौँ । त्यतिबेला हामी अमेरिका थियौँ, छोरी नेपालमै । नेपालमा भूकम्पले ठूलै क्षति गरेको खबर पाउँदाबित्तिकै हामी रोयौँ । भुइँचालो गएको १२-१३ घन्टापछि छोरी सकुशल रहेको खबर पायौँ । तर, जब भूकम्पले पुरिएका बालबालिका निकालेको, घर भत्केको समाचार पायौैँ, हामी डाँको छोडेर रोयौँ, हामी अमेरिकाका गल्ली-गल्ली रुँदै हिँड्यौँ ।

Sitaram-kattel-1

रिसाएका बेला ‘सुन्तली’ भनेर बोलाउँछु

उनले मलाई बाबा वा अंकल भन्छिन् । बिहे गर्नुअघि नै हाम्रो सर्कलमा अंकल भन्ने चलन थियो । एकले अर्कोलाई अंकल भनेर सम्बोधन गर्थ्यौं । मैले केदारजीलाई अंकल, केदारजीले मलाई पनि अंकल भन्ने गर्थ्यौं । यही भएर उनले अझै पनि अंकल भन्छिन् । मैले उनलाई काली, कालु यस्तै-यस्तै भन्छु ।

अहिले पनि हामी ‘डिप लभ’मै छौँ । उनले मलाई लोग्नेकै रुपमा मात्र कहिल्यै सोच्दिनन् । ऊ मेरो साथी हो, मित्र हो, जिन्दगी हो भन्ने खालको व्यवहार गर्छिन् । मैले पनि उनलाई श्रीमतीभन्दा बढी साथी सम्झन्छु, यसले नै सम्बन्ध दिगो बनाउँछ, बनाएको छ, जस्तो लाग्छ मलाई । वैवाहिक सम्बन्धलाई बन्धनका रुपमा लिइयो भने झगडा-डिभोर्स सुरु हुने त हो ।

लोग्ने स्वास्नीको झगडा परालको आगो भन्छन् । तर, अहिलेसम्म हाम्रो भीषण आगलागी नै हुने खालको झगडा भएको छैन । काम, घर-व्यवहारका कुरामा मैले मानिसलाई छिटो विश्वास गर्छु । छिटो-छिटो आत्तिएर निर्णय गर्छु । भइहाल्छ, चल्छ भन्ने ढंगले सोचेको हुन्छु । तर, उनले यसरी हुँदैन भनेर सम्झाउँछिन्, यसरी सम्झाउँदा पनि ठुस्काठुस्की  हुन्छ ।

विभिन्न कार्यक्रममा कसरी प्रस्तुति दिने, सक्रिप्ट कस्तो बनाउने भनेर हामीबीच छलफल हुन्छ । सँगै बसेर तयारी गर्छौं । यस्तो बेला म हाबी भएँ भने उनले चित्त दुखाउँछिन्, हुँदाहुँदा अहिले त यो कुराले उनको चित्त दुख्छ भन्ने मलाई पहिले नै थाहा हुन्छ ।

म लथालिंग भएर हिँडेको, लगाउनमा ध्यान नदिएको, जहाँ पनि खुला किताब भएर बोलेको उनलाई मन पर्दैन । तर, मेरो यस्तै स्वभाव छ । यसमा उनले सम्झाउने सिलसिलामा पनि ठाकठुकजस्तो हुन्छ ।

उनलाई मलाईभन्दा अघि बढी रिस उठ्छ, पहिले त झ्वाम्मै रिसाइहाल्थिन्, अहिले मेरै ड्याङमा आउँदै छिन् । अहिले कामले गर्दा म घरमा ढिला र्फकन्छु । ‘छोरी छाडेर हिँडिरहनुपर्छ, घरमा हुँदा त छिटो आउनू’ भनेर कराउँछिन् । यस्तै-यस्तै कुरामा ठुस्काठुस्की हुन्छ । हातै उठाएको, झगडा गरेर नबोलेको भन्ने छैन । त्यही एक-डेढ घन्टामा बोलिहाल्छौँ ।

उनी रिसाएर बोल्न थालिन् भने म झोँक्राएझैँ बस्छु । उनको ‘धार्मिक प्रवर्चन’ सकिएको एक छिनपछि धुर्मुसकै पारामा ‘सुन्तली’ भनेर बोलाउँछु । अनि, रिसले खुम्चिएको उनको मुहारमा हाँसो खुल्न थाल्छ ।

उनीसँग नाम जोडिएदेखि नै मेरो प्रगति भयो

मैले थालेका काम, चालेका हरपाइलामा उनले भरलाग्दो साथ दिन्छिन् । यो त मैले

पहिलेदेखि नै लागेको थियो, किनभने उनीसँग मेरो नाम जोडिएपछि नै मेरो प्रगति भएको हो ।

हामीले ०६७ सालमा घर बनायौँ, खुमलटारमा, दुवैको मेहनतले । भूकम्पपछि हामीले काभ्रेको पहारी बस्तीमा पुनर्निर्माणको काम थाल्यौँ । ७७ दिनमा काम सम्पन्न गर्यौँ, काम त विभिन्न सहयोगबाटै सम्पन्न भयो ।

तर, बीचमा पटकपटक आर्थिक समस्या आएका थियो, काम नै रोकिएला कि जस्तो भएको थियो, म पनि निराश थिएँ । तर उनले भनिन्, ‘चिन्ता नगर्नू, यो थालेको काम जसरी पनि पूरा गर्नुपर्छ, हाम्रो घर बेचौँ । हामीले यो घर पैतृक सम्पत्तिले बनाएका पनि होइनौँ । आफैँ कमाएका हौँ, दर्शकको मायाले । अहिले यो असल काम पूरा गर्यौँ भने हामीले फेरि कमाउन सक्छौँ ।’
उनको यो कुराले मलाई असाध्यै ठूलो बल मिल्यो । मेरो बुझाइ थियो कि महिलाहरू कमाएको सम्पत्ति जोगाउँ, बढाउँ भन्ने चाहन्छन् । तर, म गलत रहेछु । उनले मलाई आँट दिन यति ठूलो र बलियो निर्णय लिइन् । उनको साथ भएकाले पनि होला, त्यो काम घर नबेची पूरा भो ।

प्रस्तुति:  ध्रुवसत्य परियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?