२४ फागुन, काठमाडौं । शेरबहादुर देउवा देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको मुख्य पदका लागि दोहोर्याएर प्रतिस्पर्धामा उत्रिँदैछन् । तर, यो पहिलोपटक हो, जहाँ देउवालाई प्रमुख दाबेदार ठानिएको छ । र, यो उनका लागि अन्तिम अवसर पनि ठानिएको छ ।
कांग्रेसको राजनीतिमा ५० वर्षदेखि संलग्न ६९ वर्षीय देउवाका लागि पार्टीमा यो अन्तिम लडाइँ हुन सक्छ । त्यसैले उनलाई जसरी पनि यो लडाईं जित्नु छ । उनलाई यो थाहा छ कि सबैभन्दा ठूलो पार्टीको सभापति भनेको ‘वेटिङ प्राइममिनिस्ट’ पनि हो । अर्कोतर्फ, पार्टी सभापतिमा हारेको खण्डमा आफ्नो लामो राजनीतिक जीवनको अर्थपूर्ण समापन हुन सक्ने पनि उनलाई थाहा छ । त्यसैले देउवा गम्भीर छन् ।
को हुन् देउवा ?
विसं. २००३ साल जेठ ३१ गते डडेल्धुरामा जन्मेका देउवाले विद्यार्थी जीवनबाट राजनीति सुरु गरे । उनी कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य हुन् भने पहिलाे निर्वाचित अध्यक्ष हुन् ।
प्रजातन्त्र पुनस्र्थापना हुँदा ०४६ सालमा देउवा कांग्रेसका सशक्त युवा नेताका रुपमा उदाएका थिए । ०४८ सालको आम निर्वाचनमा उनी अत्यधिक मतान्तरका साथ डडेलधुराबाट विजयी भए । त्यसपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा उनी गृहमन्त्री भए ।
देउवाले ०५१ साल र ०५६ सालको संसदीय निर्वाचन तथा ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा पनि जीत हासिल गरे । पछिल्लो संविधानसभा चुनावमा उनी डडेलधुरा र कैलालीबाट निर्वाचित भए । उनी ०५२ सालमा प्रधानमन्त्री बनेपछि उनको व्यक्तित्व थप चुलियो ।
पार्टीभित्रको अन्तरसंघर्षमा देउवाले ०५९ सालमा कांग्रेस पार्टी फुटाएर प्रजातान्त्रिक कांग्रेस गठन गरी त्यसको सभापति बने । पहिलो संविधानसभा निर्वाचनअघि ०६४ सालमा उनको प्रजातान्त्रिक कांग्रेस माउ पार्टीमा विलय भयो ।
सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका देउवा सन् २०१३ देखि हालसम्म सो संगठनको एशिया क्षेत्रको अध्यक्ष र अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् भने मानविकी र कानूनमा स्नातक गरेका छन् । उनी सन् १९८८-८९ मा बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लण्डन स्कूल अफ इकोनोमिक्सको राजनीतिशास्त्र विषयका रिसर्च फेलो थिए ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा देउवाले पटक-पटक गरी ९ वर्ष जेल जीवन बिताएका छन् ।
उनलेे गृहमन्त्री पदमा बहाल रहेको अवस्थामा ४५ वर्षको उमेरमा डा. आरजू राणासित विवाह गरे । हाल उनीहरुका एक पुत्र छन् । उनकी पत्नी आरजू पनि समानुपातिकबाट कांग्रेस सभासद छिन् । देउवा परिवार हाल काठमाडौंको बूढानीलकण्ठमा बसोबास गरिरहेको छ ।
वीपीले काखी च्यापेपछि उदाए
युवाअवस्थामा शेरबहादुर देउवा कांग्रेसका महान नेता वीपी कोइरालाका प्रियपात्र थिए । यद्यपि उनको वीपीसँग लामो सहकार्य र सामिप्य भने हुन पाएन । देउवाले राजनीति सुरु गर्दा वीपी जेलमा थिए । जेलमुक्त भएपछि उनी भारत निर्वासनमा रहे । ०३३ सालमा वीपी भारतबाट फर्केपछि देउवाको वीपीसँग उठबस सुरु भयो ।
कांग्रेस इतिहासका जानकार हरि अधिकारी भन्छन्, ‘०३३ सालदेखि ०३९ सालसम्मको कालखण्डमा वीपीले जहाँ जाँदा पनि देउवालाई साथै लैजान्थे । देउवालाई धेरै काखी च्यापेको भनेर कसैले गुनासो गर्दा वीपीले जवाफ दिएका थिए, ‘यो जे कुरा पनि सिक्न खोज्छ, अरुले चासो दिँदैनन् ।’ वीपीकै निगाहमा देउवा दुई कार्यकालसम्म नेविसंघका निर्विरोध अध्यक्ष बनेका थिए ।
वीपी कोइरालाका भाइ गिरिजाप्रसाद कोइरालासित पनि देउवाको सुरुदेखि राम्रो सम्वन्ध थियो । तर, ०५० सालको उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईविरुद्ध अन्तरघात गर्न नमान्दा देउवासँग गिरिजाको सम्वन्ध बिग्रेको बताउँछन् अधिकारी ।
गिरिजाप्रसाद कोइरालाले ०४८ सालको आम निर्वाचनपछि बनेको सरकारमा देउवालाई मन्त्रालय रोजाएका थिए । देउवा, रामचन्द्र र शैलजा आचार्यलाई मन्त्रालय रोजाउँदा देउवाले सबैभन्दा अगाडि गृह मन्त्रालय रोजे भने रामचन्द्रले स्थानीय विकास र शैलजाले कृषि मन्त्रालय रोजिन् ।
गृह मन्त्रालय चलाउँदा देउवाको छवि कठोर प्रशासकको जस्तो थियो । तत्कालीन समयमा मदन भण्डारीको रहस्यमय मृत्युपछि एमालेले सडक आन्दोलन गर्दा देउवाले कठोरतापूर्वक सामना गरेका थिए । यद्यपि मिलिजुली सरकारको प्रधानमन्त्री बन्दा भने उनको पुरानो छवि देखिएन । देउवा सत्ता टिकाउनका लागि जुनसुकै सम्झौता गर्ने ‘सम्झौता परस्त’ प्रधानमन्त्रीका रुपमा चित्रित भए ।
देउवाका काम र नकाम
देउवा प्रधानमन्त्री बन्दा थुप्रै महत्वपूर्ण कामहरु पनि भएका छन् । भारतसँग महाकालि सन्धि उनको पालामा भएको थियो । नेपालमा मूल्य अभिवृद्धि कर लागू गर्ने, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउने गरी कानुन निर्माण गर्ने, कमैया मुक्तिको घोषणा गर्नेलगायतका काम देउवाको पालामा भएका छन् । देशका पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली-दलित-महिला-जनजाति-मधेस (कदमजम) को अवधारणा उनले ल्याए ।
देउवाकै पालामा विशेष वर्ग एवम् समुदायको हितपोषण गर्ने हेतुले राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन गरिएका थिए ।
नकारात्मक पाटोको कुरा गर्दा देउवा संसदीय विकृतिका सूत्राधार मानिन्छन् । उनी प्रधानमन्त्री हुँदाका बखत नै संसद किनबेचदेखि सुत्केरी भत्तासम्मका प्रकरण उब्जेका थिए । देउवाकै कार्यकालमा सबै संसदलाई भन्सार सुविधामा पजेरो गाडी दिने विवादास्पद निर्णय भएको थियो । सरकार टिकाउनका लागि जम्बो मन्त्रिमन्डल बनाउने सिलसिला उनैले सुरु गरे ।
प्रधानमन्त्री पद र टर्निङ प्वाइन्ट
कांग्रेसभित्र देउवा, पौडेल र शैलजा हाराहारीका नेता मानिन्थे । ०५२ भदौ २७ मा उनी आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै पहिलोपटक प्रधानमन्त्री बने । यसलाई उनको राजनीतिक जीवनको टर्निङ प्वाइन्ट मान्न सकिन्छ ।
यसैवीच ०५१ सालको मध्यावधि चुनावमा एमाले ठूलो पार्टी भयो र अल्पमतको सरकार बन्यो । त्यतिबेला दोस्रो ठूलो पार्टीका रुपमा प्रमुख प्रतिपक्षमा थियो कांग्रेस । पार्टीको संसदीय दलको नेता बन्न शेरबहादुर, रामचन्द्र, खुमबहादुर लगायत आधा दर्जनले उम्मेदवारी दिएका थिए ।
पछि शीर्ष तीन नेता (गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह) ले सबैलाई उम्मेदवारी फिर्ता लिन लगाए । सहमतिमा नेता छान्ने भनेर अरु सबैले उम्मेदवारी फिर्ता लिए, तर देउवाले लिएनन् । उनी मात्रै उम्मेदवार बाँकी रहेपछि निर्विरोध संसदीय दलको नेता चुनिए ।
पछि देउवाकै नेतृत्वमा मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरियो । मनमोहनले मध्यावधि चुनावको घोषणा गरे । तर, सर्वोच्चले उक्त घोषणालाई बदर गरिदियो । त्यसपछि कांग्रेसले राप्रपालगायत दलहरुको समर्थनमा मिलिजुली सरकार बनायो र देउवा प्रधानमन्त्री बने ।

देउवा ०५२ साल भदौ २६ मा पहिलोपटक प्रधानमन्त्री पदमा पुगे । उनी अर्कोवर्ष अर्थात् ०५३ साल फागुन २६ गते प्रधानमन्त्रीबाट हटे ।
त्यसपछि उनी थप दुईपटक प्रधानमन्त्री बने । ०५८ साल साउन ७ गतेदेखि ०५९ साल असोज १८ सम्म उनी दोस्रोपटक प्रधानमन्त्री भए । असोज १८ मा उनलाई राजा ज्ञानेन्द्रले बर्खास्त गरे ।
देउवा तेस्रोपटक ०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । यसपटक प्रतिगमन आधा सच्चिएको भन्दै एमाले र प्रजातान्त्रिक कांग्रेसको सरकार बनेको थियो । तर, ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम बताउँदै पदबाट दोस्रोपटक बर्खास्त गरी १० महिना नजरबन्दमा समेत राखे । तेस्रो कार्यकालमा देउवा ०६१ साल माघ १९ को काण्डबाट ज्ञानेन्द्रको बर्खास्तीमा परे ।
कांग्रेस नेता प्रदीप गिरीका अनुसार त्यसबेला देउवालाई ज्ञानेन्द्रले क्याबिनेटबाटै निर्णय गराएर आधिकार प्रत्यायोजन गर्न भनेका थिए । तर, देउवाले ज्ञानेन्द्रको यो आग्रहलाई अस्वीकार गरे, जसले गर्दा ज्ञानेन्द्रले माघ १९ मा ‘कु’ गरेर देउवालाई ०१७ सालमा बीपीलाई महेन्द्रले गरेजस्तै नजरबन्दमा राखे ।
सवल पक्ष
१. कांग्रेसको मात्रै नभएर नेपाली राजनीतिकै एक प्रमुख पात्र हुन् देउवा । उनीसँग एकपटक गृहमन्त्री तीनपटक प्रधानमन्त्री बनेको अनुभव छ ।
२. कुनै पनि विषयमा छिटो र तत्काल प्रतिक्रिया व्यक्त गर्न सक्छन् । आवश्यकता पर्दा तुरुन्त निर्णय लिने र अडानमा कायम रहनसक्ने नेता हुन् ।
३. देउवाको अन्तर्राष्ट्रिय सम्वन्ध पनि राम्रो छ । उनी पहिले अमेरिकानिकट मानिन्थे भने पछिल्लो समयमा भारतको संस्थापनसँग पनि राम्रो सम्बन्ध रहेको विश्वास गरिन्छ ।
४. हेर्दा होस्ल्याङे र हडबडे देखिए पनि राजनीतिक चालबाजीमा पोख्त छन् देउवा । आफ्ना समकालीन नेताहरु एकपटक पनि पुग्न नसकेको प्रधानन्त्री पद उनले तीनपटक हासिल गर्नु उनको राजनीतिक चातुर्यकै नतिजा हो । आफू वरिपरिकालाई विश्वासमा लिएर अघि बढ्ने उनको शैली रहेको बताउँछन् देउवाका प्रशंसकहरु ।
५. आफ्नो छत्रछायाँमा रहेका नेता-कार्यकर्तालाई हदैसम्म संरक्षण दिन्छन् देउवा । त्यसैले उनको गुट त्यति चलायमान हुँदैन । आफूप्रति बफादार नेता-कार्यकर्ताको पुरानो पङ्ति देउवासित छ, जसले उनलाई हरदम साथ दिन्छन् ।
कमजोर पक्ष
१. सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्न तत्पर हुने छवि देउवाको छ । विगतमा प्रधानमन्त्री पद हासिल गर्न र त्यसमा टिकिरहन थुप्रै जायज-नाजायज सम्झौता गरेको आरोप आलोचकहरुले लगाउने गर्छन् ।
२. पढे लेखेका भए पनि देउवाको व्यक्तित्वमा बौद्धिकता झल्किँदैन । कुनै पनि विषयवस्तुको गहिरो विश्लेषण गरी भिजन दिन सक्ने उनको क्षमता अहिलेसम्म प्रकट भएको छैन । कांग्रेसमा उनले कुनै नयाँ विचार र दृष्टिकोण दिन सकेका छैनन् ।
३. देउवा असल वक्ता होइनन् । उनको भाषण गोलमटोल हुने गर्छ भने पत्रकार वा कार्यकर्ताबीच तार्किक रुपमा प्रस्तुत हुन सक्दैनन् । अनायास आवेशमा आउने रिसाहा स्वभाव छ ।
४. सामान्य परिवारका व्यक्ति भएता पनि पछिल्लो समय देउवा विलासी जीवनशैलीका लागि आलोचित छन् । मदिराप्रेमीका नेताका रुपमा समेत कतिपयले उनलाई चित्रण गर्ने गरेका छन् ।
प्रतिक्रिया 4