+
+

इलामको चियाबारीः घुम्नेलाई मस्ती, किसानलाई सास्ती !

जंगबहादुरले बसालेको राजनीतिक व्यवस्था त ढल्यो, चियाखेती पनि संकटमा पर्दै

पुष्प दुलाल पुष्प दुलाल
२०७३ वैशाख १८ गते १६:१६

Chiya-Bagan-Ilam‘आहा, क्या राम्रो अर्थात् वाउ, हाउ मच व्यूटिफुल !’ चियाको राजधानी इलामको कन्याम र फिक्कलमा पुग्दा जो कोहिको मुखबाट यस्तै शब्द निस्कछ ।

यसैसाता चिया खेतीको स्थलगत अवलोकनका लागि काठमाडौंबाट गएको पत्रकारहरुको मझौला आकारको टोली जब इलाम पुगेको थियो ।

टोलीका सदस्यहरूबीच चिया बगानमा आफ्नो तस्वीर कैद गर्ने होड नै चल्यो ।  बियरिस अनि बुलिस ट्रेन्डजस्ता दर्जनौ सेल्फी पोज पनि मोवाइलमा कैद भए   ।

काठमाडौं खाल्डोमा गर्मी, धुवाँ र धुलोले उकुसमुकुस भएको हाम्रो मन-मस्तिस्क कन्याम र फिक्कलको हरियो चियाबारी, चिसो मौसम र स्वच्छ हावामा डुब्यो । सुन्दर नवयुवतीको रुपमा युवाहरु लठि्ठएझैं भ्रमण टोलीका सबै सदस्यहरु इलामको सुन्दरतामा लठि्ठए ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १९औं चिया दिवसका अवसरमा पत्रकारको टोलीलाई स्थलगत अवलोकनका लागि झापा, इलाम र दार्जेलिङको भ्रमण गर्ने अवसर मिलाएको थियो । भ्रमण टोलीमा पत्रकारहरू दिलिप पौडेल, अजित अधिकारी, उत्तम काप्री, भरत पाण्डेय, मेनुका कार्की, कमला भट्टराई, फुलकुमारी ढकाल साथै बोर्डका कर्मचारीहरु पवन आचार्य र सुमन त्रिखत्री थिए ।

बोर्डले पत्रकारको टोलीसँग जिल्लाका चिया खेती गर्दै आएका साना किसानदेखि ठूला उद्योगीहरुसँगको भेटघाट, छलफल र अन्तक्रियाको कार्यक्रम पनि राखेको थियो । जसको उद्देश्य चिया खेती गर्ने किसान र उद्योगीहरुले भोग्नु परेका समस्याका बारेमा पत्रकारहरु जानकार होउन् भन्ने थियो ।

ilamकाठमाडौं बसेर कृषिको रिपोटिङ गर्दै आएका पत्रकारहरुका लागि यो भ्रमण निकै महत्वपूर्ण भएको छ । नगदे बालीका रुपमा चिनिएको चियाको खेती र इलामका किसानहरुको सम्मृद्धिको कथा देशभर सुनाइन्छ । त्यही ठाउँको प्रत्यक्ष अवलोकन गरी समाचार लेख्न पाउनुको महत्वका बारेमा थप भनिरहनु नपर्ला ।

सुन्दा लाग्थ्यो-इलामका किसानजस्तो सुखी र खुसी सायदै अन्य ठाउँका किसानहरु नहोलान् । सात ‘अ’ उत्पादन गर्ने जिल्लाकोरुपमा इलामले राष्ट्र व्यापीरुपमा परिचय स्थापित गरेको छ ।

भालुको कान भयो चिया खेती

जब किसानसँगको अन्तक्रिर्या सुरु भयो । तब मात्रै थाहा भयो चिया खेती गर्दै आएका इलामेली किसानको पीडा । उद्योगीले चिया पत्तीको मुल्य नदिँदा किसानलाई चिया खेती गरेर हातमुख जोड्न नसक्ने स्थिति रहेछ । किसाहरुसँगको अन्तक्रिया गरेपछि उद्योगीको सिन्डिकेटले वास्तवमै किसानहरु मर्कामा परेको बुझ्ने अवसर मिल्यो ।

एक रोपनी जग्गामा ७ सय वटा चियाका बुट्टा लाग्ने र ६/७ वटा बुट्टाको चियापत्ती टिप्दामात्रै एक किलो हुने अनि एक किलो चिया पत्तीको अग्र्यानिक भए अधिकतम २०० रुपैयाँ र अन्य भए न्यूनतम १५ रुपैयाँमा बेच्नुपर्ने बाध्यता रहेछ, किसानको । चियापत्ती टिप्ने मजदुरलाई दैनिक २ सय रुपैयाँज्याला दिनुपर्ने र अग्र्यानिक भए एक मजदुरले दिनमा १० किलोको हाराहारीमा मात्रै चिया टिप्न सक्दा रहेछन् । सबै खर्च कटाएर एक रोपनी जग्गामा लगाएको चिया खेतीबाट वर्षमा खुद ५ हजार रुपैयाँ कमाउन नसकिने किसानहरुले गुनासो गरे ।

tea-stateजबकी एक रोपनी जग्गामा अलैंची लगाउँदा २ मन फल्छ र अहिलेको भाउ अनुसार त्यो २ लाख हुन्छ । अलैंची त पानी हुने ठाउँमा मात्रै हुन्छ । पानीको दुःख भएका ती डाँडाहरुमा बन्दा कोपी रोप्ने हो भने एक रोपनीबाट वाषिर्क २०औं हजार आम्दानी गर्न सकिन्छ ।

तर, किन किसानहरु चिया खेत्तीमै अल्झिरहेका छन् त ? ‘इलामका साना किसानलाई चिया खेती भालुको कान जस्तो भएको छ,’ इलामेली चिया उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद सुवेदी भन्छन्, ‘समाइरहन सक्ने स्थिति पनि छैन र छाडिहाल्ने अवस्था पनि छैन ।’

कतिपय किसानहरु चिया खेती मासेर अन्य बाली लगाउने तयारीमा जुटेकोसमेत बताए । ‘चिया खेती गरेर त हामी घाटामा छौं,’ उनले भने, ‘गाईपालन, अलैंची, अदुवा र मकै खेतीले जसोतसो जिबन धानेका छौं ।’ घुम्न आउने पर्यटकहरु भने चियाबारी देखेर मस्ती गर्ने गरेको तर, किसानहरुलाई भने त्यही चिया बगानले सास्ती दिएको उनले सुनाए ।

उद्योगीका आफ्नै पीडा

दार्जेलिङको चियासँग प्रतिस्पर्धा गर्न नसक्दा आफूहरुले किसानलाई मूल्य दिन नसकेको उद्योगीहरु बताउँछन् । मेची भ्याली टि-स्टेटका सञ्चालक विकेश प्रधानका अनुसार अन्तराष्ट्रिय बजारमा भारतीय हस्तक्षेपका कारण इलामको चियाले मुल्य पाएको छैन । कोलकत्तामा दार्जेलिङको चियालाई प्रतिकिलो २ हजार रुपैयाँ र इलामको चियालाई ७/८ सय रुपैयाँ दिने गरेको उनले सुनाए ।

त्यस्तै, किसानहरुले पनि पर्याप्त चेतनाको अभावमा दार्जेलिङसँग प्रतिस्पर्धा गर्नसक्ने गरीको गुणस्तरीय उत्पादन गर्न नसकेको उद्योगीहरु बताउँछन् । ‘भारतका व्यवसायीहरु इलामको चिया सस्तोमा किनेर दार्जेलिङको नाममा ब्राण्डिङ गरेर अन्तराष्ट्रिय बजारमा महंगोमा बेच्छन्’ प्रधानले भने, ‘नेपाल सरकारले इलामको चियाको आफ्नै ब्राण्ड बनाउन कुनै पहल गरेको छैन ।’

चिया क्षेत्रको विकासका लागि सरकारले लगानी थप्ने कुरा त परै जाओस्, चिया क्षेत्रको विकासका लागि छुट्याउँदै आएको बजेट पनि कटौती गर्न थालेको छ । आगामी आर्थिक वर्षका लागि झन्डै आधा बजेट कटौती गरेको बोर्डका अधिकारीहरु बताउँछन् ।

यस्तो छ इलामे चियाको इतिहास

इलामको चिया खेतीको सुरुवात १ सय ५३ वर्षअघि अर्थात् वि.सं १९२० देखि सुरु भएको हो । चीन भ्रमण गएका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई चिनीया सम्राटले चियाको बिउ उपहार दिएका थिए । जंगबहादुरले आˆना ज्वाईँ तत्कालीन बडाहाकीम कर्णेल गजराज सिंह थापालाई ईलाममा चिया रोप्न आदेश दिएका थिए ।

इलामभन्दा केही परको दूरीमा रहेको दार्जेलिङमा चिया खेतीको इतिहास पनि लगभग २ सय वर्षको मात्रै छ । चियाखेती सुरु हुँदा दार्जेलिङ नेपाल नै थियो । सन् १९४७ मा भारत स्वतन्त्र हुनुभन्दा अघि अंग्रेज (इस्ट इन्डिया कम्पनी)ले कब्जा गरेको दार्जेलिङ भारत स्वतन्त्र भएसँगै भारतको भूमि भएको हो ।

१९औं शताब्दीको सुरुवाती चरणमै जंगबहादुर राणा र भानुभक्त आचार्यले दार्जेलिङमा बसोबास गर्न नेपालीहरुलाई थप प्रोत्साहन गरेका थिए । त्यसैको सम्मान स्वरुप दार्जेलिङबासीले चौरास्ता चोकमा जंगबहादुर र भानुभक्तको शालिक निर्माणसमेत गरेका रहेछन् ।

Untitled-6कहाँ-कहाँ छ, खेती ? कति हुन्छ उत्पादन ?

तत्कालीन राजा वीरेन्द्रले वि.सं. २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरुलाई चिया क्षेत्र घोषणा गरेर शुरु गरेका थिए । अहिले दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङ लगायतका जिल्लाका २६ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । चिया खेती विस्तार हुने क्रम उल्लेख्य मात्रामा बढ्दो छ । पूर्वमा ११ हजार ५६९ हेक्टरमा १४ हजार ८ सय ९८ साना किसान चिया खेतीमा सलग्न छन् । तथ्याङ्क अनुसार १ करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चियाको उत्पादन भइरहेको छ । त्यसक्षेत्रमा सञ्चालित टि स्टेट तथा प्रशोधन केन्द्रले चिया उद्योगले करिब ५८ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

अढाई अर्बको निर्यात

गत आर्थिक वर्षमा २ अर्व ६८ लाख रुपैयाँ बराबारको ११ हजार १ सय ४२ मेटि्रकटन चिया निर्यात भएको थियो । यहाँको अग्र्यानिक चिया विश्व बजारमा लोकप्रिय छ ।

तर, त्यही चिया उत्पादन गर्ने किसानहरु भने अर्थोपार्जनका अन्य विकल्प खोज्न थालेका छन् । किसानलाई चिया खेतीबाट पलायन नगराउने हो भने चाँडोभन्दा चाँडो सरकारले चियापत्तीको समर्थन मूल्य तोक्नुपर्ने देखिएको छ । सरकारले समयमै ध्यान पुर्‍याए विश्व बजारमा नेपालको चियाले आफ्नो ब्राण्ड स्थापना गर्ने छ, होइन भने कुनैदिन नेपालमा चिया खेती पनि हुन्थ्यो भन्ने अवस्था नआउला भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?