‘आई थिङ्क, वर्ल्डको मोस्ट डिफिकल्ट प्रोफेसन हो, टु बि एन एक्ट्रेस’ सोफामा अढेस लगाइरहेकी ‘हाइ भोल्टेज’ हिरोइनले एउटा गोडा दोब्राउँदै भनिन् ।
मैले उनलाई सोधेको थिएँ, ‘हिरोइन हुन कति कठिन छ ?’
नयाँ बानेश्वरस्थित इन्द्रेणी होटलभित्र इन्द्रेणीझैं खुलेको चेहराका साथ प्रस्तुत भएकी प्रियंका अन्तरवार्तामा बिस्तारै खुल्दैछिन् । हुन त सदाबहार राम्री हुन्, तर आज झनै राम्री देखिएकी हुन् कि भन्ने अड्कल गर्दैछु म । घुँडामा च्यातिएको उनको पाइन्टले बेग्लै संवाद गर्न खोजिरहेझैं लाग्छ ।
हिरोइन हुनुलाई सबैभन्दा कठिन पेशा भन्नुको तात्पर्य मैले जान्न चाहेँ ।
‘मेन्टल र साइकोलोजिक प्रेसर म्याक्सिमम हुन्छ । पर्सनल लाइफ र प्रोफेसनल लाइफलाई ब्यालेन्स गर्न गाह्रो हुन्छ । फ्यामिली टाइममा आफू मिस भइन्छ । पर्सनल्ली गर्न मन लागेको सबै कुरा गर्न सकिँदैन । ठाउँ-ठाउँमा आर्टिफिसियलरुपमा प्रिजेन्ट हुनुपर्छ,’ उनले अर्को गोडा पनि दोब्राएर पलेँटी आकार बनाइन् र लस्सीको पाइप मुखमा हालेर तनतनी पिउन थालिन् । म भने उनले नेपालीमा बोलेकी हुन् कि अंग्रेजीमा भनेर गम खान थालेँ ।
(पुरै लस्सी सिध्याइसकेर पनि उनले ढ्याउ गरिनन् । आखिर हिरोइन हुन्, तपाईं-हामीले जस्तो पब्लिकली ढ्याउ गर्ने कुरा पनि त आउँदैन ।)
‘सार्वजनिक ठाउँमा बस्दा धेरै कुरा मेन्टेन गर्नुपर्छ, ‘प्रियंकाको जवाफ सकिएकै रहेनछ, ‘आफूलाई हा…हु… गर्न मन लागिरहेको हुन्छ तर कम्पोज्ड भएर बस्नुपर्छ । रेस्टुरेन्टमा बस्दा धेरै हल्लाखल्ला गर्न मिल्दैन । बाटो हिँड्दाहिँड्दै पानी पर्यो भने निथ्रुक्क भिजेर पानीसँग खेल्न मन लाग्छ, तर सक्दिनँ ।’
(यही त फरक छ, हिरोइन र आम केटीमा । आम केटीहरु पानीमा भिजियो भने दिक्क हुन्छन्, तर हिरोइन पानीमा भिज्न नपाएर दिक्क हुन्छन् ।)
यो उमेरमा काम-काम-काम भनिरहँदा प्रियंकालाई जीन्दगीका सबै मोजमस्ती मिस गरिरहेको अनुभव हुन्छ, नहुने होइन । त्यही भएर उनी फिल्मको सेटमै मस्ती गर्छिन् । काममै रोमाञ्चकता खोज्छिन् । जहाँ भए पनि आफ्नो जन्मदिन मनाउँछिन् ।
बाटोमा हत्पत्ति चिन्दैनन्
प्रियंकाले एउटा घटना सुनाइन्, ‘फस्ट कजनको बिहे थियो अलि दिनअगाडि । रिसेप्सनमा बिन्दास भएर नाचुँला भन्ने थियो, तर सकिनँ । आरामले बसेर पेटभरि खान पनि सकिनँ । जो पनि फोटो खिच्न आउने । कोही ‘तिमीले मलाई चिनेनौं ?’ भन्दै आउनुहुन्छ । रेस्पोन्स गर्नैपर्छ । फोटो खिच्न आउनेहरुलाई नाई भन्न भएन ।’
त्यसो त प्रियंका एकचोटिलाई जोसँग पनि फोटो खिच्न तयार हुन्छिन् । तर, एउटै व्यक्तिले घरि यो पोजमा र घरि पोजमा खिच्न खोज्यो भने चाहिँ उनलाई झर्को लाग्छ ।
‘एउटा फोटो खिचेपछि थ्याङ्क यु भनेर जानुपर्ने हो नि । तर, कहिले ‘हग’ गरेर खिचौं भन्नुहुन्छ, कहिले मुख चुच्चो पारेको भएन भन्नुहुन्छ । त्यस्तो चाहिँ मलाई झर्को लाग्छ ।’
तर, हिरोइन हुन् । आम मानिसले जसरी झर्किन पनि भएन । त्यसैले हदै सताउनेहरुलाई विनम्रतापूर्वक भनिदिन्छिन्, ‘प्लिज गेट लस्ट ।’
त्यसो त प्रियंकालाई फिल्ममा देखिरहेकाहरुले पनि बाटोमा हिँड्दा हत्पति चिन्दैनन् अरे ।
‘अहो तपाईंको फेस त डिटो प्रियंका जस्तै रहेछ भन्छन् कतिले ? म पनि ‘हो र ?’ भन्दै मसक्क गरिदिन्छु ।’
‘किन ? आफूलाई चिनाउन मन पर्दैन ?’
‘असल नियतका मान्छेहरु छन् भने त चिनाउँछु । तर, कहिलेकाहीँ भीडमा त्यस्तै मान्छेहरु हुन्छन् । प्याच्च एक थोक भनिदिन्छन् । त्यसैले चिनाउन डर लाग्छ ।’
नम्बर वानले खान दिँदैन
आजका दिनमा, प्रियंकालाई नेपालकी नम्बर वान नायिका ठहर गर्न कुनै अदालतको फैसला पर्खिइरहनु पर्दैन । जताबाट हेर्दा पनि उनी नम्बर वान लाग्छिन् ।
सबैभन्दा बढी फिल्म उनका हातमा छन् । ठूला ब्यानरहरु उनको पछि दौडिएका छन् । जस्तोसुकै अभिनयमा पनि सक्षम छिन्, डान्समा कसैले भेट्दैन, देश-विदेशका स्टेजमा छाएकी छिन् । अरु त अरु, बोल्नमा पनि उनलाई कसैले जित्न सक्दैन । जतिसुकै कडा प्रश्न सोधे पनि सहजताका साथ तत्कालै तार्किक जवाफ फर्काउन सक्छिन् । जवाफ बुझ्न चाहिँ तपाईं कम्तिमा दुई भाषाको जानकार हुनुपर्छ ।
‘नम्बर वान पोजिसनमा राज गर्दाको अनुभूति कस्तो हुँदोरहेछ ?’ मैले फुर्क्याउँदै सोधेँ ।
‘एक्चुअल्ली’ थोरै लजाए झैं गरिन् तर सम्भव भएसम्मको आदर्शवादी उत्तर दिइन्, ‘म केवल आफ्नो काममा ध्यान दिन्छु । आफू कुन पोजिसनमा छु भन्ने मलाई खासै हेक्का छैन । कसैले नम्बर वान भनिदिँदा खुशी लाग्छ, तर यसलाई मलाई ठूलो फरक पार्दैन । यो एउटा दौड हो । कहिले अघि भइन्छ, कहिले पछि परिन्छ । मलाई केवल राम्रा फिल्म खेल्नु छ, ठूला ब्यानरमा अटाउनु छ । आफ्टर अल नम्बर वानको ट्यागले खान दिँदैन ।’
दौडकै कुरा गर्दा कलिउडमा प्रियंकाका निकटतम प्रतिद्वन्द्वी नायिकाहरु हुन् केकी अधिकारी, नम्रता श्रेष्ठ र निशा अधिकारी । अचम्म के छ भने यी तीनवटै नायिका प्रियंकाका बेस्ट फ्रेन्ड पनि हुन् ।
‘यसमा के अचम्म भयो र ?’ प्रियंका प्रश्न गर्छिन्, ‘हाम्रो प्रोफेसनल करिअर एक ठाउँमा छ, पर्सनल रिलेसन आफ्नो ठाउँमा छ ।’
‘उनीहरुले आफूलाई उछिन्लान् कि भन्ने डर लाग्दैन ?’ म उचाल्न खोज्छु ।
‘नेभर’ अहँ उनी डेग चल्दिनन्, ‘हामी त एक-अर्कालाई प्रमोट गर्छौं ।’ यति भन्दै गर्दा उनले मौनमा नम्रताको र महसुसमा केकीको अभिनय हेर्दा आफूलाई कताकता ‘डाह’ लागेको चाहिँ उल्लेख गरिन् ।
केकीसँग प्रियंकाको फिल्ममा पनि जोडी खुबै जम्छ । पछिल्लो फिल्म हाउ फन्नीमा उनीरुको गजब केमेस्ट्री मिलेको छ । रियल लाइफमा त उनीहरुको उपद्रो मित्रता छ । फुर्सद भयो कि भेट भइहाल्छन् । एक-अर्काको घरमा गएर बस्छन् । निशा र नम्रतासँग पनि त्यस्तै छ । अस्ति भर्खर उनीहरु दिनभर ओछ्यानमा गफ लडाएर बसेका थिए ।
यी हिरोइनहरु भेट हुँदा के गफ गर्दा हुन् भन्ने तपाईंहरुलाई लाग्दो हो । सोधौं न ।
‘फिल्मको बाहेक सबै कुरा हुन्छ,’ प्रियंकाको जवाफ आयो, ‘आफ्टर अल हामी पनि त केटीहरु हौं नि । नर्मल केटीहरुले जस्तो गफ गर्छन् हाम्रो पनि त्यस्तै हो ।’
‘बाटो हिँड्दा केटा कत्तिको हेर्नुहुन्छ ?’
‘हेरिन्छ । ह्यान्डसम केटा देखियो भने फर्की फर्की पनि हेरिन्छ । आफ्टर अल हामी पनि केटी नै हो नि ।
‘सेक्सी इज एटिच्युड’
‘ऐना कत्तिको हेर्नु हुन्छ ?’ अनायास एउटा बकम्फुसे प्रश्न मेरो मुखबाट निस्कियो ।
‘हेर्छु, किन र ?’
‘ऐना हेर्दा आफूलाई कत्तिको सेक्सी पाउनुहुन्छ ?’
‘सेक्सी छु कि छैन भनेर चेक गर्न ऐना हेर्दिन । पर्समा ऐना हुन्छ । गाजल लत्पतियो कि, लिपिस्टक पुछियो कि, कपाल बिग्रियो कि भनेर हेर्ने हो ।’
‘मान्छेहरुले सेक्सी भन्दा कस्तो लाग्छ ?’
‘रमाइलो लाग्छ । यसमा दु:खी हुनुपर्ने के छ ? म त यसलाई कम्पिलमेन्टका रुपमा लिन्छु । आफ्टरअल केटी हुँ ।’
‘तपाईंको परिभाषामा सेक्सी भनेको के हो ?’
‘सेक्सी भनेको अटिच्युड हो । छोटा लुगा लगाउँदैमा सेक्सी भइदैन । एटिच्युडले क्यारी गरेको छ भने साडी र कुर्ता-सुरुवालमा पनि सेक्सी देखिन्छ । म देशै खाइदिन्छु भन्ने एटिच्युड हुनुपर्छ, जे लुगा लगाए पनि हुन्छ ।
‘त्यसो भए तपाईं सार्वजनिक स्थानमा प्रायः किन रिभिलिङ ड्रेस लगाउनुहुन्छ ? साडी र कुर्ता सुरुवालमा कन्फिडेन्स नभएर होइन ?’
यो प्रश्नमा प्रियंकाले सानोतिनो भाषण नै गरिन् । महिलावादीहरु कोही थिए भने कति ताली पिट्थे होलान् ।
‘म ठाउँ र सिचुएसन हेरेर ड्रेस चुज गर्छु । रिभिलिङ ड्रेस लगाउनु मेरो कन्फिडेन्स हो । आफ्नो शरीरलाई सुहाउनेसम्मको एक्सपोज गर्छु । यो अरुका लागि बहसको विषय नै होइन । भोलि बिकिनी लगाएर बाटोमा हिँड्न मन लाग्यो भने हिँड्छु । मेरो कन्फिडेन्सको कुरा हो । मैले कसैलाई केही प्रुभ गर्नु छैन । मेरो शरीर हो, मेरो पैसा हो, मेरो इज्जत हो । कुन ठाउँमा के लगाउँदा ठीक हुन्छ त्यो मलाई थाहा छ । कसरी आफूलाई ठीक तरिकाले प्रिजेन्ट गर्ने भन्ने म आफैँ जान्दछु । कसैलाई सोध्नुपर्दैन ।
हलिउड-बलिउडमा यस्तो प्रश्न कहिल्यै सोधिँदैन, किनकि त्यहाँ सबैले रिभिलिङ ड्रेस लगाउँछन् । ब्याक लेस गाउन र छोटोे स्कर्ट त्यहाँ नर्मल हो । त्यहाँ कसको ड्रेसअप सेक्सी भन्ने कम्पिटिसन हुन्छ । यहाँ धेरैले यस्तो ट्राइ गर्दैनन् । ट्राइ गर्नेले पनि कन्फिडेन्ट्ली क्यारी गर्न सक्दैनन् । क्यारी गरे पनि टेस्ट र स्टाइल हुँदैन । त्यसो हुँदा नन-ग्ल्यामरस र भल्गर देखिन्छ । आफ्नो बडी आफ्नो पोस्चर र कन्फिडेन्सको साथमा सेक्सी लुगा क्यारी गर्न सक्नुहुन्छ भने त्यो कम्प्लिमेन्ट हुन्छ । म चाहन्छु, मेरो ड्रेसमा अरुले इन्जोइ गरुन्, प्रश्न होइन ।’
उनको धाराप्रवाह भाषण चलिरहँदा मलाई धारामा गएर नुहाएर आउँ कि जस्तो पनि भएको थियो । तर ‘कम्पोज्ड’ भएर बसेँ ।
सौन्दर्यमा सचेत
आफ्नो तन-बदनको सौन्दर्यमा प्रियंका निकै सचेत छिन् । हिरोइन भएपछि हिरोइन जस्तो देखिनुपर्छ भन्ने मान्यता छ उनको । सुटिङ नभएका बेला टाइममा सुत्ने र टाइममा उठ्ने गर्छिन् । (केपी ओलीले भनेजस्तो, म सुत्दा पनि एउटा टाइम हुन्छ, उठ्दा पनि टाइम हुन्छ भन्न खोजेकी होइनन् ।)
उनी दैनिक तीन-चार लिटर पानी पिउँछिन् । जिम जान्छिन्, एक्सरसाइज गर्छिन् । बेसी मेकअप गरेर हिँडि्दिन । घरमा सानो जिम स्टुडियो छ । त्यसमा हल्का व्यायाम गर्छिन् । सोडा खान्निन् । बेभरेजहरु खान्निन् । फ्राइड फुड, जंक फुड खान्निन् । बोइल्ड फुड र सुप बढी खान्छिन् ।
‘बेलुका सात बजेपछि म केही खान्नँ’ उनले सुनाइन् ।
‘सात बजेपछि केको व्रत सुरु हुन्छ ?’ मैले सोधेँ ।
‘ब्रत होइन । राति सुत्नुभन्दा अगाडि केही घन्टा पेट खाली हुनुपर्छ । सुत्दाखेरि हामीले थाहा नपाउने गरी म्याक्सिमम फ्याट बर्न हुन्छ । नत्र डाक्टरलाई सोध्नुस् त ।’
पूर्वपतिसँग भेट
लामो समयदेखि प्रियंका सिंगल छिन् । असफल दाम्पत्य सन्वन्धको छायाले उनलाई कत्तिको पछ्याइरहेको होला ?
‘अहँ’ उनले ठाडै इन्कार गरिन्, ‘त्यो सम्वन्ध इतिहास भइसक्यो । त्यसबारे सोच्ने टाइम छैन मसँग ।’
पूर्वपतिसँग हालसालै उनको भेट भएको रहेछ, काठमाडौंमै । यो उनी आफैंले बताइन् ।
‘उहाँसँग मेरो नराम्रो सम्वन्ध अहिले पनि छैन । फेसबुकमा कुरा हुन्छ । केही दिनअघि काठमाडौं आउनुभएको थियो । मैले भेटेकी थिएँ,’ प्रियंकाले सुनाइन् । साथीको रुपमा भेट भएको र विगतका कुराहरु दुवै जनाले नकोट्याएको उनको भनाइ छ ।
प्रियंकाको भनाइमा सिंगल लाइफका फाइदै फाइदा छन् अरे । जस्तो, कहाँ गएकी थिइस्, किन ढीला आइस्, कहाँ जान ठिक पर्दैछेस्, अहिले कहाँ छेउ… यस्ता यावत प्रश्नहरु उनले झेल्नुपर्दैन ।
‘आफ्नो तरिकाले काम गर्न पाएकी छु, १०० प्रतिशत काममा फोकस हुन सकेकी छु, कसैलाई आन्सर दिनु परेको छैन ।’
‘तर, जिन्दगी त निकै लामो छ, यसैगरी त सँधै नचल्ला नि ?
‘मैले फेरि बिहे हुनै सक्दैन भनेको छैन । लाइफमा सेटल डाउन गर्न त कसलाई मन लाग्दैन र मेरो प्रोफेसनलाई माया गर्ने, मेरो लाइफ स्टाइललाई स्वीकार गर्ने, मेरो कामलाई सम्मान गर्ने र मलाई जस्ताको तस्तै स्वीकार गर्ने केटो पाएँ भने ह्वाइ नट ? तर म प्रकृतिको नियम पुर्याउनका लागि र सोसाइटीलाई देखाउनका लागि मात्रै आफ्नो जीवनसँग कम्प्रोमाइज गरेर अभियस्ली बिहे गर्ने छैन । मेरा लागि सबैभन्दा पहिलो शर्त मेरो ह्यापीनेस हो ।’
पैसा बैंकमा थुप्रिदै
प्रियंका फिल्ममा अभिनयमा गर्नमा मात्रै सीमित छिन् भन्ने भ्रम नपरोस् । फिल्म बाहिरबाट पनि उनको कमाई छेलोखेलो हुन्छ । म्युजिक भिडियो खेल्छिन्, विज्ञापन गर्छिन्, देश-विदेशका स्टेज शोमा डान्स, एम्सी के गर्दिनन् उनले । कोरियोग्राफी गर्छिन्, कार्यक्रमहरुमा होस्ट गर्छिन् । मानौं उनका लागि सबैतिर पैसैपैसा छ, टिप्नलाई दुई हात थोरै भए ।
कमाएको पैसा उनले बैंकमा जम्मा गरेकी छिन् । तर, पैसामा ढुसी नआउँदै कतै लगानी गर्न चाहन्छिन् । भविष्यमा प्रोडक्सन हाउस खोल्ने र फिल्म निर्देशन गर्ने उनको योजना छ । उनले अमेरिकामा फिल्म डाइरेक्सनमै डिग्री गरेकी हुन् ।
‘यो प्रोफेसनमा तपाईं कहिले पनि आफूलाई सुरक्षित ठान्न सक्नुहुन्न,’ प्रियंका भन्छिन्, ‘आज हातभरी फिल्म छ भोलि खाली हात हुन सकिन्छ । हरेक विहान उठ्दा आफूलाई अनसेक्युअर्ड फिल गर्छु । आज त भटाभट फिल्म पाइरहेको छु, भोलि खाली हात भयो भने के गर्ने ? आज कमाएको पैसा त्यतिबेला काम आउनेछ ।’
दाँत फुक्लिँदासम्म फिल्ममा
‘तपाईंलाई फिल्म इन्डष्ट्रीमा अब कति वर्ष देख्न सकिएला ?’ मैले विषय बदलेँ ।
‘मैले त फिल्मभन्दा बाहिर केही सोचेकै छैन । दाँत झरुञ्जेलसम्म, कपाल फुलुञ्जेलसम्म, हातगोडा चलुञ्जेलसम्म तपाईंले मलाई यही फिल्डमा देख्नुहुनेछ,’ उनले जवाफ दिइन् ।
तर, दाँत फुक्लिएकी, कपाल फुलेकी चाउरी परेकी प्रियंकालाई निर्माता निर्देशकले पत्याउलान् र ?
‘मैले बुढेसकालसम्म हिरोइन नै बनिरहन्छु भनेकी छैन नि त । टाइम र एजअनुसार जसले पनि आफूलाई मोडिफाइ त गर्नै पर्छ । तर, रिंकल आउनासाथ लाइफ सकिँदैन । एउटा स्टेजपछि म क्यारेक्टर रोलमा उक्लिनुपर्छ-पर्छ । त्यसमा पनि कसैले पत्याएन भने आफैं प्रोडक्सन हाउस खोल्ने हो, फिल्म डाइरेक्सन गर्ने हो । पढेर पनि जानेको यही हो, परेर पनि जानेको यही हो । यो फिल्ड छोडेर कता जाउँ तपाईं नै भन्नुस् ।
म के भनुँ ?
प्रतिक्रिया 4