+
+

करिष्मा भर्सेस सूर्जेकुमारी : घनचक्करमा एउटी नायिका

शिव मुखिया शिव मुखिया
२०८१ साउन २३ गते ७:०७

मौसम बेइमान छ यतिबेला । क्षणमै तालु पोल्ने घाम, क्षणमै ज्यान निथ्रुक्क पार्ने झरी ! यस्तो लाग्छ, अभिनेत्री करिष्मा मानन्धरले मौसमी शास्त्र जानीबुझी भनेकी हुन्- ‘सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्ने छ ।’

पूर्ण जस्तो लागे पनि यो अपूर्ण वाक्य हो । यसको अगाडि कस्तो शब्द गठन छ ? रहस्योद्घाटन हुने नै छ । त्यसअघि उनले जुन सौर्यमण्डलको कुरा गरेकी छिन्, त्यो यस क्षण बढी प्रासंगिक लाग्छ ।

‘चलचित्र विकास बोर्ड’को अध्यक्ष पद रिक्त छ, गएको साउन दोस्रो सातादेखि । त्यो ग्ल्यामरस स्थानमा पदभार ग्रहण गर्न केही फिल्मकर्मी प्रधानमन्त्री केपी ओलीलाई केन्द्र बनाएर यसरी फन्को मारिरहेका छन्, मानौं सौर्यमण्डलको सूर्य उनै ओली हुन् । यो चक्रीय प्रणालीमा अभिनेत्री करिष्मा मानन्धर, निर्देशक दिनेश डिसी, दयाराम दाहाल, निर्माता तथा हल व्यवसायी नरेन्द्र महर्जन लगायत समाहित छन् । यसमा कसको घनत्व बढी छ ? समयले नतिजा निकाल्नेछ ।

अतः यो कुरा यही टुंगिन्छ । अब मूलकथामा लागौं । यस कथाको केन्द्रमा चाहिं करिष्मा मानन्धर छिन् । करिष्मा नेपाली सिनेमाको एक जादुयी नाम । रूपरंग र अभिनय कौशलको संयुक्त प्याकेज । कुनै बेला यस्तो थियो, मानौं हिरोइन भनेकै करिष्मा हुन् । नेपाली सिनेमाबाट करिष्माको नाम फुत्त बाहिर निकाल्ने हो भने त्यो ठाउँ थोते रहन्थ्यो ।

सन् ८० को दशकमा नेपाली सिनेमाले आफ्नो लय समातिसकेको थियो । प्रकाश थापा, तुलसी घिमिरे, उगेन छोपेल जस्ता प्रतिभाशाली निर्देशकहरू कप्तानी सम्हाल्न मैदानमा प्रवेश गरिसकेका थिए । उनीहरूसँग नयाँ-नयाँ कथा हुन्थे र त्यसलाई डोहोर्‍याउन नयाँ अनुहार खोजी गर्थे ।

ठीक त्यही बेला १४ वर्षकी कलिलो तर उत्साही किशोरीले नेपाली सिनेमामा आफ्नो पाइला राखिन् । उनी थिइन्, बुनु केसी ।

बुनु केसी कसरी फिल्मी दुनियाँमा करिष्मा भइन् र राजनीतिमा सूर्जेकुमारी बनेर अवतरण गरिन् ? कुनै बेला सिनेमा बन्ने कर्म र मर्मको कथा छ ।

…………………

२०७८ को चैत दोस्रो साता । अभिनेत्री करिष्मा मानन्धरले एक राजनीतिक कार्यक्रममा भनिन्, ‘मेरो न्वारानको नाम चाहिं सूर्जेकुमारी हो है ।’ त्यसउप्रान्त उनलाई सूर्जेकुमारी भनी पुकार्न थालियो ।

यो नामको उद्घाटनपछि उनले जति न्यानोपन अनुभूत गर्नुपर्ने थियो त्यो पाइनन् । बरु यसले जगहँसाउने काम गर्‍यो । लाटो-सोझोलाई पनि थाहा हुने कुरा हो, उनले कुनै राजनीतिक दलसँग आफ्नो गर्भनाल जोडिएको दर्शाउन ‘सूर्जेकुमारी’को तुरुप फ्याँकेकी हुन् । अन्ततः यसले आफैंलाई गोलखाडीमा पुर्‍याउँछ भन्ने भय जागेपछि उनले कम रक्षात्मक र बढी आक्रामक भाषामा भनिन्- ‘मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डि प्राप्त भयो ।’

यो बठ्याइँ वा धुर्त्याइँले के संकेत गर्थ्यो भने, सूर्जेकुमारीमा नेता बन्ने पूरापूर गुण छ । अलिकति छल, अलिकति कपट, अलिकति दम्भ, अलिकति प्रतिशोध, अलिकति गफ, अलिकति लोभ र अलि बढी भ्रम भएपछि नेपालमा ‘महान् नेता’ बन्न सकिन्छ भन्ने त उनले आफ्ना सहपाठीबाट पनि दिव्यज्ञान प्राप्त गरेको होला ।

त्यसैले राजनीतिमा लागेर ‘देश बनाउने’ उत्कट अभिलाषाले सूर्जेकुमारीलाई गोदावरीको आरामदायक घरमा खुट्टा पसारेर बसिरहन दिएन । बरु स्वदेशी ब्रान्डको गोल्डस्टार जुत्ता लगाएर, उखुको लट्ठी टेक्दै, लोकल कुखुराको मासु र ढिंडो खाँदै, धुस्रोफुस्रो भएर हिसिला म्यामसँग गोरखादेखि प्युठानसम्म उकालो–ओरालो छिचोलिन् । भित्रीमधेशको कुनाकाप्चा दौडिइन् ।

जहाँ–जहाँ उनी पुग्थिन्, पंक्तिबद्ध महिला तथा सज्जनवृन्दले माला र टीका लगाइदिन्थे । त्यो आतिथ्य नेतृको रूपमा होइन अभिनेत्रीको रूपमा मिल्दथ्यो । भित्रीमधेशमा भने उनलाई कसैले बाल दिएनन् । किनभने उनी त्यहाँ चिनिएकै थिइनन् । त्यसपछि सूर्जेकुमारीलाई बोध भयो, ‘भित्रीमधेशमा राजनीति पुगेको छैन । राजनीति नपुगेकाले विकास पुगेको छैन । विकास नपुगेकाले मनोरञ्जन पुगेको छैन । मनोरञ्जन नपुगेकाले नेपाली कलाकर्मी चिनिएका छैनन् ।’

उनीहरू चढेको गाडी कच्ची सडकबाट हुइँकिइरहेको हुन्थ्यो । विद्यालय जानका लागि हातमा किताब च्यापेर बाटो छेउमा लस्करै उभिएका बालबालिकाहरू गाडीलाई अचम्म मान्दै हेर्थे । गाडीको टायरले उडाएको धूलोले उनीहरू छोपिन्थे । देशदौडाहको पसिना सेलाउन नपाउँदै करिष्माले अनलाइनखबरमा आएर भनेकी थिइन्— ‘हामी जसमाथि भोलिको भविष्य देखिरहेका छौं नि ! उनीहरूको अहिले यस्तो बेहाल छ । अनि कसरी बन्छ भोलिको नेपाल ?’

………….

‘एक दिनको लागि मुख्यमन्त्री बन्छौ ?’

प्रत्यक्ष प्रसारण भइरहेको टेलिभिजन कार्यक्रममा मुख्य मन्त्रीले प्रस्तोतालाई सोध्छ । मुख्य मन्त्रीले यो चुनौती त्यही मोडमा पुगेर दिन्छ, जहाँ उनको सबै कुरा भण्डाफोर हुँदै थियो । जनताको आस्था र विश्वासलाई कुल्चिएर उनले सत्ताको बलमा अनेक काण्ड मच्चाएका थिए । एक–एक गरेर यो काण्ड पर्दाफास हुन थालेपछि मुख्यमन्त्री अत्तालिन्छन् र भन्छन्, ‘तिमीलाई यहाँ बसेर प्रश्न सोध्न सजिलो छ । तर मेरो कुर्सीमा बसेर हेर, त्यो आगोको भुंग्रो जस्तै छ । सक्छौ ? मात्र एक दिनको लागि ?’

बाध्य भई टेलिभिजन प्रस्तोताले उनको चुनौती स्वीकार गर्छन् र २४ घण्टाको लागि मुख्यमन्त्री बन्छन् । आखिर घडीको काँटाले दुई फन्को लगाउने यो अवधिमा उनले ती तमाम काम गर्छन्, जुन नेता-मन्त्रीले वर्षौं–वर्षसम्म गरेका थिएनन् ।

हिन्दी फिल्म ‘नायक’को यो प्रसंग र अहिलेको नेपालको परिस्थिति झन्डै–झन्डै मिल्दो छ । लोकतन्त्र, गणतन्त्रको सुनौलो नाम दिएर नेता–मन्त्रीहरूले यो मुलुकलाई आफ्नो क्रीडास्थल बनाइरहँदा आजित सर्वसाधारणले ‘नायक’को खोजी गरिरहेका छन् ।

यही मनोसामाजिक रिक्ततालाई ख्याल गर्दै नायकहरू नेता बन्न लागिपरेका छन् । रवि लामिछाने, रेखा थापा उभिएको यही पंक्तिमा छिन्, सूर्जेकुमारी पनि ।

‘म किन राजनीतिमा आएँ ?’ भनी सूर्जेकुमारीले कान्तिपुरमा लेख नै लेखेकी छिन् । त्यसको सार छ- ‘अमेरिकामा बस्दा म त्यहाँ र नेपालको राजनीतिको तुलना गर्थें । नेपालको राजनीति जनताप्रति उत्तरदायी देखिएन । यहाँ गरिब वर्गमाथि ठूलो थिचोमिचो छ । त्यसैले नेपालका जनता राजनीति र नेतासँग चिढिएका छन् । उनीहरूलाई राजनीति फोहोरी खेल भन्ने लाग्छ । अब यो भाष्य बदल्नु छ ।’

यसरी राजनीतिप्रतिको कुरुप भाष्य बदल्न लागिपरेका डा. बाबुराम भट्टराईको विचारधाराले आफूलाई राजनीतिमा ल्याएको सूर्जेकुमारीको स्पष्टोक्ति छ ।

‘के कलाकार भएर राजनीतिमा लाग्दा मेरा हजारौं दर्शक गुम्ने त होइनन् ? राजनीति भनेको फोहोरी खेल हो भन्ने छाप परेको छ । यदि मैले दोस्रो पुस्तालाई यही कुरा सिकाएँ भने देश कता जान्छ त ?’ उनले नाजवाफ प्रश्न सोधेकी छिन् ।

एउटा अभिनेत्रीको रूपमा ‘देश र जनताप्रति’ यतिविघ्न चासो, स्नेह र दायित्वबोध हुनु कम्ता मायालाग्दो कुरा होइन । तर, उनको यो सदीक्षाभित्र ‘दालमा कुछ काला है’ भनी संशय गर्ने ठाउँ पनि छ ।

‘राजनीति भनेको फोहोरी खेल हो’ भन्ने कंक्रिड भाष्य बदल्न उनी जसरी राजनीतिमा आइन्, त्यसले अर्को दिगमिग लाग्दो शब्दजाल बुनेको छ ‘देश बनाउन राजनीति नै गर्नुपर्छ ।’

करियरको उत्तरार्द्धमा आफ्नै निवासमा बसी यसै सुस्ताइरहँदा उनलाई हठात् नेता बन्ने अफरले झस्काएको थियो । त्यसरात उनले आफैंसँग अनिंदो प्रश्न गरिरहिन्, ‘म किन राजनीतिमा जाने’ भनी । अब उनले निद्राबाट ब्युँझिएपछिको सुरम्य बिहान आफैंसँग जागृत प्रश्न गर्नुपर्नेछ, ‘देश बनाउन नेता नै बन्नुपर्छ ?’

किनभने उनले ‘देश र जनताको सेवा गर्न’ सूर्जेकुमारी बनिरहन पर्दैन । यसका निम्ति करिष्मा नै काफी छन् ।

करिष्मा, जसलाई सबैले चिन्छ, सबैले सुन्छ । उनले आफ्नो कुरा भन्नका लागि माइक समातेर घाँटी तन्काउनुपर्दैन । उनले आफ्नो काम गर्नका लागि कुनै मन्त्रालयको मूल कुर्सीमा उपरखुट्टी लगाउनुपर्दैन । यथास्थानमै उभिएर विकासको बिगुल फुक्न सक्छिन् । देशप्रेमको भाव जगाउन सक्छिन् । अन्याय विरुद्ध आवाज घन्काउन सक्छिन् ।

राज्य भनेको ढुंगा र माटोको धरातल मात्र होइन । त्योभन्दा बढी भावना हो । भावनालाई जोड्न, तोड्न र मोड्न सक्ने ‘सफ्ट पावर’ सिनेमासँग छ । र, सिनेमा करिष्मासँगै छ । समयले उनको भूमिका बदल्न सक्छ तर सिनेमा वृत्तबाट पाखा लगाउन सक्दैन ।

‘मोटर बाटो बनाउनु र बिजुलीबत्ती बाल्नु’ मात्र होइन, आफ्नो धरातलको स्वाद अनि सुगन्ध बोकेको संस्कृतिलाई विश्वबजारमा निर्यात गर्नु पनि ‘विकास’ हो । त्यसका लागि करिष्माले करिष्मा नै बन्नुपर्छ, सूर्जेकुमारी होइन !

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?