२४ भदौ, काठमाडौं । ग्याङ्स अफ् वासेपुर, गुलाल, ब्ल्याक फ्राइडे, स्याक्रेड गेम्स, लन्चबक्स, बम्बे टाकिज्, अग्ली, मुक्काबाज, मनमर्जियाँ, देव डी, महाराजा ।
तपाईं हामीले यी फिल्महरुमध्ये धेरैजसो हेरेका हुन सक्छौं । अनुराग कश्यपले यीमध्ये कति फिल्म निर्देशन गरेका छन्, कति फिल्ममा खेलेका छन्, कति फिल्मको निर्माण सम्हालेका छन् । नवाजुद्दिन सिद्दीकीलाई नचिन्ने नेपाली फिल्म दर्शक अझै कम होलान्, किनभने कश्यप निर्मित फिल्म मात्रै नभई उनले गरेका कामको सिनेमा क्षेत्रमा ठूलो तारिफ छ ।
उनै अनुराग कश्यप र नवाजुद्दीन सिद्दीकीलाई एक साथ काठमाडौंमा भेट्दा दुवैजना ‘शाम्बाला’को प्रिमियरमा जान तयार अवस्थामा थिए । धेरै नेपाली दर्शकलाई थाहा छ, अनुरागले निर्देशन गरेको ग्याङ्स अफ् वासेपुरमा मनोज बाजपेयी र नवाजुद्दिन नै आम रुपमा बढ्ता नोटिस गरिएका कलाकार थिए । भारतीय सिनेमा क्षेत्रलाई बदल्न अनुरागको त्यो फिल्मका दुई भागको धेरै ठूलो योगदान छ ।
उनीहरुको यो सहकार्य बहुचर्चित नेटफ्लिक्स वेब सिरिज स्याक्रेड गेम्समा पनि चल्यो । त्यसो त अनुरागले नै बनाएको रमन राघव २.० लगायत सिनेमामा नवाजुद्दिन जमेकै छन् । भारतीय सिनेमाको परिदृश्य नै बदल्न सफल यी दुई पात्र शनिबार काठमाडौं ओर्लिए । मीनबहादुर भाम निर्देशित फिल्म शाम्बालाको प्रिमियर अघि नवाजुद्दिन र अनुरागसँग अनलाइनखबरका बसन्त बस्नेत र विष्णु शर्माले गरेको यो अन्तर्वार्ता :
‘ग्याङ्स अफ वासेपुर’पछि तपाईंहरुको फिल्मी सहकार्य अघि बढिरहेको छ । आगामी कुनै नयाँ फिल्ममा तपाईंहरु सहकार्य गर्दै हुनुहुन्छ ?
अनुराग कश्यप – मेरो विचारमा त्यो समय आएको छ । हामी बीचबीचमा ग्याप लिइरहन्छौं । ‘स्याक्रेड गेम्स’ पछि ४ साल बितिसक्यो ।
हाम्रो पुनः सहकार्यको लागि यतिबेला समय आएको छ । निश्चय नै, अब मैले बनाउने फिल्ममा उसले (नवाजुद्दिनतिर देखाउँदै) ग्याङस्टर भूमिका चाहिँ गर्नेछैन । अरु नै केही पात्र हुनेछ । ग्याङस्टर होइन ।
मान्छेलाई मैले निर्देशन गरेको र उसले अभिनय गर्ने कुरा मन पर्छ । अबदेखि उसलाई ग्याङस्टरको रोल दिएर चाहिं फिल्म बनाउँदिन । नयाँ केही थप गर्नेछु ।
तपाईंको दृष्टिकोणमा अनुराग कश्यप कस्तो खालको निर्देशक हुनुहुन्छ किनभने तपाईंहरुले धेरैपटक सहकार्य गर्नुभएको छ ।
नवाजुद्दिन– मलाई त यस्तो लाग्छ बच्चा बेलादेखि नै उहाँले निर्देशन गरिरहनुभएको छ । (हाँस्दै)
तपाईंलाई दक्षिण एसियाका अन्य मुलुकभन्दा नेपाली फिल्म कुन अर्थमा भिन्न छ जस्तो लाग्छ ?
अनुराग– मोटामोटी मैले अहिलेसम्म दुईवटा मात्र नेपाली फिल्म हेरेको छु । सेतो सूर्य (ह्वाइट सन्) र कालोपोथी । अर्को एउटा पनि हेरेको छु ।
यी दुबै फिल्म गजब छन् । धेरै फिल्म त हेरेको छैन । हालै एउटा फिल्म हेरेँ तर, यसको नाम लिन चाहन्नँ किनभने यो फिल्म मलाई पटक्कै मन परेन । यो फिल्म सुपरहिट फ्रेन्चाइजको तेस्रो श्रृंखला थियो र भारतमा काम भएको थियो ।
नेपाली फिल्म उद्योग र बलिउडबीच सम्भावित कस्तो सहकार्य हुनसक्छ ?
अनुराग– निश्चय नै, म आज यहाँ छु । मलाई भारतभन्दा बाहिर छु जस्तो लागेको छैन । म भारतको विशेष क्षेत्रमा छु जस्तो लागेको छु किनभने, मान्छेले बोल्ने भाषा करिब उस्तै छ । खाना निकै स्वादिष्ट ।
दुबै देशका फिल्ममेकरले कसरी एकअर्काबाट लाभ लिन सक्छन् ?
अनुराग– वास्तवमै । सिक्ने कुराहरु धेरै छ ।
नवाजुद्दिन– हो नि ।
नेपाली फिल्ममेकर र भारतीय फिल्ममेकरले एकअर्काबाट के सिक्न सक्छन् ?
अनुराग– मलाई लाग्छ, हामीसँग धेरै सुन्दर छायांकन थलो छन् । मैले ‘खुदा गवाहा’ नेपालमै छायांकन भएको कुरा थाहा पाएँ । यसरी धेरै सुन्दर ठाउँमा फिल्म खिच्न सकिन्छ ।
नवाजुद्दिनजी, तपाईंले भविष्यमा कुनै फिल्म नेपालमा गर्न चाहनुहुन्छ ? कुनै योजना छ ?
सबैले यति बेला ‘शाम्बाला’ बारे कुरा गरिरहेका छन् । मीनबहादुर भाम बर्लिनमा छन् भन्ने थाहा पाएपछि मैले उनी र उनको टीमलाई त्यहाँ भेटेँ ।
कुन कुराले तपाईंलाई नेपालमा आउन प्रेरित गर्यो ?
अनुराग– खास त्यस्तो केही छैन । (हाँस्दै) आइयो मात्र ।
नेपाली फिल्मको विकासलाई कसरी हेर्नुहुन्छ ?
नवाजुद्दिन– ‘शाम्बाला’ नै हेर्नूस, मैले हेरेको यो दोस्रो नेपाली फिल्म हो ।
अनुराग– पक्कै पनि नेपाली फिल्म समृद्ध हुने क्रममा छ । पहिले भारतमा नेपाली फिल्म भन्नाले मनिषा कोइराला मात्र चिनिएकी थिइन् । अब नयाँ पुस्तामा धेरै आएका छन् । दीपक रौनियार र मीनबहादुर भामले पहिलोपटक मलाई यो महसुस गराए कि यहाँ अरु नेपाली फिल्म पनि बन्छन् ।
मैले यहाँ नयाँ पुस्तामा उत्साह र जोश देखेको छु । यो महसुस चाँडै ठूलो र राम्रो हुने विश्वास छ । किनभने, केरलाको मलायलम फिल्ममा पनि हामीले त्यो विकास देख्न सक्छौं । यस्तै कुरा, नेपालमा पनि हुन गैरहेको छ । यो खुसीको कुरा हो ।
नेपालमा यस्ता धेरै मनिषा कोइराला छन्, जो अभिनेता वा अभिनेत्री हुने सपना देख्छन् र आउँछन् । के भन्नुहुन्छ ?
नेपाली र भारतीय कलाकारले मिलेर काम गर्न सक्छन् किनभने सबैले हिन्दी बोल्छन् । मलाई लाग्छ, भारतका केही कलाकारभन्दा नेपालका मान्छेले राम्रो हिन्दी बोल्छन् । राम्रोसँग काम गर्न सकिन्छ ।
अभिनयमा भविष्य बनाउन चाहने नेपाली नयाँपुस्ताका कलाकारलाई तपाईंको सल्लाह के छ ?
अनुराग– कथामा काम गर्नुपर्छ । जब मैले ‘ब्ल्याक हेन’ (कालोपोथी) हेरेँ, यस्तो कथा यसअघि कहिल्यै हेरेको थिइनँ । नेपालको कथालाई कसरी भन्नुपर्छ भनेर तपाईंलाई थाहा हुनुपर्छ ।
आज यहाँ निकै सुन्दर कथाहरु छन् । नेपाल वरपर जानूस । मन्दिर, संग्रहालय घुम्नुस । यहाँ केही रोचक स्थानीय कथाहरु छन्, जुन समग्र नेपालका लागि गज्जबको कुरा हो । नेपालको संस्कृति भारतभन्दा बलियो छ । यसबाट धेरै सुन्दर कथा बाहिर आउनसक्छन् ।
नवाजुद्दिन– हो, पक्कै । परम्परा र संस्कृतिको हिसाबले नेपाल निकै धनी छ । यहाँ धेरै कथा छन् ।
अनुराग– म नेपालमा खानाको परिकारबारे फिल्म बनाउन चाहन्छु । मैले आज निकै मीठो थकाली खाना खाएँ । च्याउको तरकारी र मुस्ताङको आलु पनि त्यहाँ थियो । यी प्रत्येक चिजका पछाडि कथाहरु लुकेका छन् । म नेपालमा ब्यञ्जनबारे फिल्म बनाउन चाहन्छु ।
खानाबारे अन्य कुरा पनि छन् । अष्ट्रेलियाको सिड्नीमा मैले चिनेको एक मान्छे छन् जो मसँग काम गर्छन् । उनी नेपाली हुन् । मैले उनीबाट निकै रोचक र मीठो लभस्टोरी पनि सुनेको छु । उनी त्यहाँ कडा मिहेनत गर्छन् । उनकी श्रीमती डाक्टर बन्न चाहन्छिन् ।
जापानको क्योटोमा चिकित्सा शास्त्र अध्ययन थालेकी छिन् । उनले धेरै मिहेनत गरेर कमाएको पैसा क्योटोमा पठाउँछन् । उनले स्पष्टसँग मलाई भने– ‘यदि उनी डाक्टर बनिन् भने म जापान जान्छु । तबसम्मको लागि म यहाँ छु ।’ दुईजना मायालु अलग भएर बसेको यो मीठो प्रेमकथा हुनसक्छ । कथा खोज्ने यसरी नै हो ।
मीन भामलगायत समग्र नेपाली निर्देशक र फिल्ममेकरहरुका लागि तपाईंहरुको केही सुझाव छ ?
नवाजुद्दिन– मैले अहिलेसम्म दुईवटा फिल्म हेर्ने मौका पनि मिलेको छैन । अहिले त शाम्बाला मात्र हेरेको छु । यो फिल्म निकै प्रेरणादायी छ । मानिसले यसको निकै प्रशंसा गरिरहेका छन् ।
अनुराग– मीनबहादुर भामसँग लोभलाग्दो ऊर्जा छ । उनी दीपक रौनियारभन्दा धेरै भिन्न छन् । अझ यसरी भनुँ, यिन एन्ड याङ जस्ता छन् यिनीहरु ।
दीपक र मीनमध्ये को चाहिँ यिन हो ?
मीनको तुलनामा दीपक शान्त लाग्छन् । दीपक मीनभन्दा धेरै अन्तर्मुखी छन् ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4