२ जेठ, भैरहवा । विश्व शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थलमा रहेको विश्व शान्ति दीपको ज्योती सगरमाथा आधार शिविरसम्म लगिने भएको छ ।
लुम्बिनी र सगरमाथालाई एक साथ विश्व मञ्चमा प्रचार गर्ने लक्ष्य सहित शान्ति दीपको ज्योती आईतबार सगरमाथा आधार शिविरमा पुर्याइएको हो ।
लुम्बिनीमा ओलम्पियनहरु बैकुन्ठ मानन्धर, कृष्ण बस्नेत, खड्ग रानाभाट, अन्तर्राष्ट्रिय खेलाडी शाहबानु खानलाई विश्व शान्ति दिपको ज्योती लुम्बिनी बिकाश कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेय महाथेरो, लुम्बिनी विकाश कोषका सदस्य सचिव अजितमान तामाङ र चिनिया तथा थाई बौद्ध बिहारका प्रमुखहरुले हस्तान्तरण गरे ।
शान्ति दीपको ज्योती सहित ओलम्पियन एवं धावकहरु मायादेवी मन्दिर, अशोक स्तम्भ र पवित्र पुष्करनी कुण्डलाई तिन पटक परीक्रमा गरी लुम्बिनीमा रहेका विभिन्न स्वदेशी एवं विदेशी बिहारमा पुगेका थिए ।
त्यस लगत्तै ज्योती सहितको टोली कपिलबस्तुको तिलौराकोट, पवित्र बाणगंगा नदी हुदै पुनः लुम्बिनीबाट भैरहवा हुदै गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम (परासी) हुदै सडकमार्गबाट काठमाण्डौ तर्फ लागेका छन् ।
ज्योतीलाई सोमबार काठमाण्डौको बौद्धनाथ, स्वयम्भुनाथमा बिशेष पुजा गरी सगरमाथा आधार शिविरका लागी प्रस्थान गर्ने कार्यक्रम रहेको छ । ज्योतीसहित ओलम्पियनहरु सल्लेरी, फाप्लु, लुक्ला, नाम्चे बजार, स्यांगबोचे हुदै मे २७ (जेष्ठ १४) का दिन सगरमाथा आधार शिविरमा पुग्नेछन् ।
शान्ति दीपको ज्योतीलाई मे २८ र २९ मा (एभरेष्ट डे) का दिन सगरमाथा आधार शिविरको परिक्रमा गराईने छ । सोही दिन बिश्वको सबैभन्दा अग्लो स्थानमा आयोजना हुने तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनको १४ औं सस्करण सुरु हुने आयोजक संस्था हिमेक्स नेपाल तथा तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका अध्यक्ष विक्रम पाण्डेले जानकारी दिए ।
‘हामीले यो पहिलो पटक परीक्षणका रुपमा सुरु गरेका छौ, अब प्रत्येक बर्ष आयोजना हुनेछ, विश्व मञ्चमा हामी प्रचारीत हुनेछौ र भूकम्प र नाकाबन्दीका कारण खस्किएको पर्यटन क्षेत्र पुनर्जीबित हुनेछ’- पाण्डेले भने ।
‘यो कार्यक्रममा २ वटा नया कुराहरु थपिएको छ, गौतमबुद्धको जन्म पश्चात आमा मायादेबी तिलौराकोट फिर्ता गएको परम्परागत बाटो (पडरीया-बिजुवा-सिसनिया-दोहनी-अरोराकोट-निग्लीहवा-तिलौराकोट) पहिचान गरी प्रकाशमा ल्याएका छौं’- उनले थपे ‘पहिलो पटकनै मुस्लिम धर्ममा आस्था राख्ने धाबकले शान्ति दीप लिएर परीक्रमा गरेकी छन् ।’
शान्ति दीप कार्यक्रमले लुम्बिनी र कपिलबस्तु सहित बुद्ध सर्किटलाई अझै मजबुत बनाउने आयोजकको विश्वास छ । कार्यक्रममा सहभागिता जनाएका सिद्धार्थ होटल एशोसियसन रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटन बजारका लागी यो नयाँ कार्यक्रम रहेको र यस्ता रचनात्मक कार्यमा सरकारले निजी क्षेत्रलाई सहयोग गर्नु पर्ने धारणा राखे ।
प्रतिक्रिया 4