फेसबुकका भित्ताहरुमा हेर्ने हो भने यतिबेला, चलेका र चल्दै गरेका नेपाली चलचित्र हेर्दै छु भनेर भिडियो इन्सर्ट गरिएका पोष्टहरु छ्याप्तछ्याप्ती देख्न सकिन्छ ।
चलचित्र ओभरसिजमा चल्दै गर्दा, भीसीडी बजारमा नआउँदै यसरि चलचित्र छ्यापछ्याप्ती नेपाल तथा देश बाहिर पाइन थालेपछि यसले सोचनिय अवस्था ल्याएको छ ।
चलचित्र ‘पशुपति प्रसाद’ ओभरसिजमा चल्दै गर्दा यसको पाइरेसी भयो । फेसबुकमा भित्ताहरुमा लिंक भेटिए । धेरै फेसबुक प्रयोगकर्ताले यो चलचित्र ल्यापटपमा हेर्दै छु भनेर स्टाटस नै लेखे । गुगल ड्राइभका माध्यमबाट चलचित्र एक साथीले अर्कासम्म पुर्याए ।
चलचित्र ‘कबड्डी कबड्डी’ पनि यसैको शिकारमा पर्यो । निर्माताले दर्जन बढी युटुब लिंकहरु हटाए । तर, ल्यापटप र मोबाइलबाट हटाउने कसले ?
चल्दै गर्दा अर्को चलचित्र ‘प्रेमगीत’ पनि पाइरेसीको मारमा पर्यो । निर्माता चलचित्र लिएर थाइल्याण्डमा घुम्दै गर्दा नेपाल र देश बाहिर यो चलचित्र मोबाइल र ल्यापटपमा पुगिसकेको थियो । अहिले अर्को सफल चलचित्र ‘ड्रिम्स’ पनि यसरि नै पाइरेसी भैरहेको छ । नायक भूवन केसी र अनमोल केसी अहिले बेलायतमा चलचित्र शो गर्न पुगेका छन् ।
तर, अहिले फेसबुक र ट्विटरमा चलचित्र हेर्दै छु भनेर लेखिएका पोष्ट धेरै भेटिन्छन् । नेपाली चलचित्र फेरि पाइरेसीको नराम्रो मारमा परेको छ । अहिले युटुब राइट्स बेचेर राम्रा चलचित्रका निर्माताले १० लाख भन्दा बढी कमाइरहेका छन् । ओभरसिज बजारले चलचित्रका निर्मातालाई फाइदा दिएरहेको छ ।
तर, ओभरसिज बजारमा चलचित्र प्रदर्शन नहुँदै यसको पाइरेसी हुनु डरलाग्दो अवस्था हो । यसबारेमा निर्माता, निर्माता संघ, चलचित्र विकास बोर्ड फेरि सजग हुनुपर्ने अवस्था आएको छ । नेपालमा राम्रो व्यापार गरेको भनिएका चलचित्रबाट पैसा आउँदा निर्माता जिल खान्छन् । नेपालमा चलेको पैसा त वितरक र हलवालाकै गोजीमा बढी परेको पाइन्छ ।
यस्तो अवस्थामा ओभरसिज र युटुबबाट निर्माता केही आशावादी हुने ठाउँ छ । तर, चलचित्र चलेको २ महिना नवित्दै हात-हातमा पर्न थालेपछि अवस्था के होला ?
प्रतिक्रिया 4