आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च ।
प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः॥
सोह्रश्राद्ध भाद्र शुक्ल पूर्णिमादेखि सुरु हुन्छ र आश्विन कृष्ण पक्षको औंशीसम्म १६ दिन रहन्छ, जसलाई पितृपक्ष भनिन्छ ।
हाम्रा पूर्वजहरू नै पितृहरू हुन्, जसले हामीलाई भौतिक शरीर, जीवन, संस्कार र परम्परा दिए । यो समय भनेको सनातन धर्ममा पितृहरूको लागि श्रद्धापूर्वक स्मरण, तर्पण र पिण्डदानको विशेष समय हो, जुन पितृहरूको प्रसन्नता, तृप्ति र आत्मा शान्तिका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।
पितृपक्षका १६ दिन विभिन्न तिथिहरूमा विभिन्न कारणले मृत्यु भएका पितृहरूको श्राद्ध गरिन्छ । उनीहरूको आत्मालाई शान्ति मिलोस् भनेर सम्मान, कृतज्ञता र योगदानलाई स्मरण गर्दै आशीर्वाद लिने गरिन्छ । सोह्रश्राद्ध जसलाई पितृपक्ष वा महालय श्राद्ध पनि भनिन्छ ‘श्रद्धया क्रियते इति श्राद्ध’ ।
वेदादि आफ्ना शाखाका र पौराणिक शास्त्रहरूले बताए अनुसार आफ्ना पितृहरूका निमित्त श्रद्धा र विधिपूर्वक गरिने पैतृक कर्म नै श्राद्ध हो । यसैगरी पितृहरूको स्मरण गर्दै पितृ तिथिमा पितृहरूका प्रतीक बनेर आफ्ना निमन्त्रणामा घर आएका योग्य ब्राह्मण तथा ब्राह्मणीलाई आफ्ना पितृहरूलाई मनपर्ने भोजन गराउनु , प्यारो वस्तु आदि दान गर्नु पनि श्राद्ध नै हो ।
एकेकमपि विद्वांसं दैवे पित्र्ये च भोजयेत् ।
पुष्कलं फलमाप्नोति नामन्त्रज्ञान्वहूनपि ।।
सोह्रश्राद्धमा पितृहरूको सम्झना गर्दै उनीहरूलाई जल, तर्पण र भोजन अर्पण गरिन्छ । विशेष गरी दिवङ्गत आत्मालाई शान्ति र मोक्ष प्राप्त गराउन गरिन्छ । परिवारका पितृहरूको कृपा र आशीर्वाद प्राप्त गरेर जीवनमा समृद्धि, सुख, र शान्ति मिलोस् भन्ने कामनाकाथ यो श्राद्धकर्म गरिन्छ ।
प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, औंसी र पूर्णिमा यी सबै तिथिहरूमा पितृहरूको तर्पण र श्राद्ध गरिन्छ, जसबाट पितृहरूको आत्माको शान्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।
जसलाई आफ्ना परिजनहरूको मृत्यु तिथि थाहा हुँदैन, तिनीहरूले पनि यसै पितृपक्षको पञ्चमी, अष्टमी, द्वादशी वा आमावास्य तिथिका दिन श्राद्ध गर्ने चलन छ ।
कुन पितृको श्राद्ध कुन दिन गर्ने भन्ने कुरा कहिले मृत्यु भएको थियो र त्यस समयमा कुन तिथि थियो त्यही तिथिकै आधारमा तय गरिन्छ । तत् पश्चात पितृहरूलाई तर्पण र पिण्डदान र भोजन अर्पण गरिन्छ, जसलाई उनीहरूको आत्माको तृप्तिका लागि गरिन्छ । यो कर्म सामान्यतया गाईको दूध अनि खिरबाट बनाइएका पिण्डलाई स्वधा (पितृहरूको पत्नी) उचारण गर्दै गुरु पुरोहितको निर्देशन अनुसार पिण्ड अर्पण गरिन्छ ।
पवित्र जलले पितृहरूको नाममा अर्पण गर्ने कर्म तर्पण हो। यसलाई गङ्गाजल वा अन्य पवित्र जलमा पञ्चामृतसहित कुश, जउ, तिल, फूल, चन्दन आदि स्रोतहरूबाट सम्पन्न गरिन्छ । हिन्दू धर्मग्रन्थहरूमा सोह्र श्राद्धको गहिरो व्याख्या गरिएको पाइन्छ । विशेष गरी ‘गरुड पुराण’, ‘विष्णु पुराण’, र ‘महाभारत’ जस्ता ग्रन्थहरूमा पितृपक्ष र श्राद्ध कर्मको महत्त्व बताइएको छ ।
एकोद्दिष्ट (वार्षिक तिथिका दिन गरिने) श्राद्ध मध्याह्न कालमा, पार्वण श्राद्ध (पितृपक्षमा गरिने श्राद्ध) अपराह्नमा र आभ्युदयिक श्राद्ध प्रातःकालमा गर्ने शास्त्रीय विधान छ । प्रत्येक गृहस्थीले श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ ।
अरूको घर वा जमिनमा बसेर श्राद्ध गर्दा पितृहरू खुसी हुँदैनन् भन्ने मान्यता छ । सहरी क्षेत्रमा अरूको घरमा डेरा गरी बस्ने श्राद्ध कर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थक्षेत्र, नदि, मन्दिरमा या तुलसीको मठमा गर्नु उपयुक्त हुन्छ ।
सोह्रश्राद्धमा पितृहरू पितृलोकबाट पृथ्वीतलमा आगमन गर्ने विश्वास गरिन्छ, यसै पक्षमा आफूले पञ्चभौतिक शरीर त्याग गरेको तिथिमा आफ्ना सन्तान तथा सन्ततिहरूबाट तर्पण, पिण्डदान, श्राद्ध आदि कर्मको आशा राखेका हुन्छन् ।
पितृहरू आफ्ना सन्तानले तर्पण, पिण्डदान, श्राद्ध, भोजन र दान श्रद्धापूर्वक गरेर खुसी पार्न सकुन भन्ने चाहन्छना राख्नसका साथै श्राद्धकर्तालाई वंश वृद्धि हुने, परिवारमा सुख छाउने, शान्ति मिल्ने, समृद्धि प्राप्त हुने र धनसम्पत्तिको आशीर्वाद दिएर पितृलोक फर्कन्छन् भन्ने शास्त्रोक्त कथन छ ।
योऽनेन विधिना श्राद्धं कुर्याद्वै शान्तमानसः ।
व्यपेतकल्मषी नित्यं याति नावर्तते पुनः ॥
पण्डित नारायणप्रसाद दुलाल (ज्योतिषाचार्य / वास्तुविद्)
प्रतिक्रिया 4