+
+

‘अयोग्य’ लडाकूको पीडा-देश बदल्न हिँडियो, तर भान्सामा थन्काइयो

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७३ जेठ १९ गते ११:४६
china rai
चिना रार्इ

१९ जेठ, काठमाडौं । खोटाङकी चीना राई माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा लाग्दा भर्खर १५ टेकेकी थिइन् ।  तीन वर्ष भूमिगत जीवन विताइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी अरु लडाकूहरु जस्तै शिविरमा बसिन् । तर, समायोजनका क्रममा १८ वर्ष उमेर नपुगेको कारण देखाउँदै अन्मिनले ‘अयोग्य लडाकू’ भन्दै निकाल्यो । उनले गाउँ फर्कने हिम्मतसमेत गर्न सकिनन् ।

‘अयोग्य भनेर शिविरबाट निकालेपछि जाने ठाउँ कतै थिएन । काठमाडौंमा दिदीकै रमा बसिरहें,’ उनी भन्छिन्, ‘बन्दुक उठाएर समाज परिवर्तन गर्छु भनेर हिँडेका मलाई त अयोग्य भनेर फेरि भान्सामै फर्काइयो ।’

पूर्व माओवादी कलाकार अजीव राईसँग बिवाह गरेकी उनको काखमा ५ महिने छोरो छ । त्यसअघि २ वर्षकी छोरी पनि छिन् ।

माओवादीमै सांस्कृतिक कलाकार रहेका अजिवको जनयुद्धकै क्रममा खुट्टा फ्याक्चर भएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि नृत्यमा ‘ग्र्याजुएशन’ गर्न चाहेपनि अशक्त खुट्टाकै कारण उनी असफल भए ।

चिनालाई श्रीमानको अशक्तता, आफूलाई भिडाइएको अयोग्यको बिल्ला र पार्टीको बेवास्ताले पर्नुसम्म पिर परेको छ । ‘अरुले त बरु शिविरबाट निस्किँदा ५ लाखसम्म पाए अरे । म त बेकाम भएँ,’ उनी भन्छिन् ।

चीना मात्र होइन, बाँकेकी मनिसा खड्काको पीडा पनि कम छैन ।  जनयुद्धमा सामेल हुँदा उनको उमेर १३ वर्ष मात्रै थियो ।

शान्ति प्रक्रियाका क्रममा अयोग्य भन्दै शिविरबाट निकालिएकी उनी अहिले काठमाडौंमा अरुको घरमा भाँडा माझेर गुजारा चलाउँदैछिन् । उनी भन्छिन्-‘आज नपढेकै कारण ठूलो दुःख बेहोर्नुपरेको छ ।’

manisha khadkaउनी अघि भन्छिन्, ‘सपना देखाउनेहरु सत्तामा पुगेपछि केही होला भन्ने आशा थियो । तर, उनीहरु पनि पहिलेकै नेता जस्तै निस्किए ।’

लडाकू शिविरबाट निकालिएपछि उनी पनि घर फर्किन सकिनन् । अन्तरजातीय विवाह गरिन् । तर, त्यही कार सामाजिक रुपमा पनि बहिस्करणमा परिन् ।

‘हामीले लडेर ल्याएको उपलब्धीले हामीलाई थप पीडित बनायो,’ खड्का भन्छिन्, ‘बाल अवस्थामा नै युद्धमा प्रयोग भएका हामीलाई सामाजिक र पारिवारिक पुनस्र्थापनाका लागि एउटा पनि कार्यक्रम बनाइएन ।’

अयोग्य भनेर शिविरबाट निकालिएका पूर्व लडाकूहरु संगठित हुने प्रयास त गरिरहेका छन् । तर, उनीहरुको नेतृत्व गरिरहेका लेनिन बिष्ट आफैंको पीडा झन् दर्दनाक छ ।  काभ्रे घर भएका विष्टलाई १२ वर्षकै उमेरमा जनयुद्धमा लगिएको थियो । उनी ५ कक्षा पढ्दै गर्दा युद्धमा सामेल हुन बाध्य भए ।

उनी अहिले बहिर्गमित लडाकू संघका अध्यक्ष छन् । २०६९ सालमा त्यसविरुद्ध माओवादी पार्टी कार्यालय पेरिसडाँडालाई केन्द्र बनाएर उनकै नेतृत्वमा आन्दोलन भयो । तर, उनी एकाएक जेल परे । ‘माओवादीले नै झुटा मुद्दा लगाएर १ वर्षसम्म थुने,’ उनी भन्छन्-‘बल्ल-बल्ल अधिकारवादीको पहलमा म छुटेँ ।’

बर्हिगमनमा परेका लडाकूहरुलाई सम्बोधन नगरेसम्म शान्ति प्रक्रिया नटुंगिने लेनिन बिष्ट बताउँछन् । आफूहरुले लडेर गणतन्त्र र धर्म निरपेक्षता जस्ता परिर्वतन आएको भन्दै उनले भने, ‘हाम्रो योगदानलाई नस्वीकार्ने हो भने अहिले प्राप्त राजनीतिक परिर्वतनलाई प्रयोग गर्ने अधिकार कसैलाई छैन ।’

भिडियो हेर्नुस्

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?