३१ जेठ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भूकम्पबाट प्रभावित पाँच जिल्लामा घर बनाउन प्राविधिक सहयोग गर्ने भएको छ । रेडक्रसले नुवाकोट, रसुवा, ओखलढुङ्गा, सिन्धुली र रामेछापमा ६ हजार घर निर्माण कार्यमा आर्थिक एवम् प्राविधिक सहयोग गर्ने भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसित सोसाईटीले पहिलो चरणमा घर निर्माण गर्न सम्झौता समेत गरिसेकेको छ । यसका लागि अमेरिकन रेडक्रसले रसुवा र नुवाकोट तथा रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले ओखलढुङ्गा, सिन्धुली र रामेछापमा स्थानीय बासिन्दाका घर निर्माण गर्न सहयोग गर्नेछन् ।
गत वर्षको विनाशकारी भूकम्प पश्चात् यसबाट अति प्रभावित जिल्लाहरु काठमाडौं ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रे, सिन्धुली र ओखलढुङ्गामा सोसाइटीले विभिन्न ११ देशका रेडक्रसको साझेदारीमा भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत आवास निर्माणमा सहयोग गर्न लागिएको कार्यक्रमका संयोजक उमेश ढकालले जानकारी दिए ।
‘हामी भूकम्प प्रभावितहरुलाई प्राविधिक सहयोग र सरकारी मापदण्ड अनुसार प्रदान गरिने आर्थिक सहयोग एकसाथ लिएर आवास निर्माणमा सहजीकरण गर्न जुटिसकेका छौं, अव छिट्टै घर निर्माणको काम सुरु हुन्छ,’ ढकालले भने ।
नेपाल रेडक्रसले घर बनाउन प्राविधिक सल्लाह र आर्थिक सहायता प्रदान गर्ने तर यसका लागि आवश्यक पर्ने अन्य स्रोत भने घरधनि आफैले जुटाउनुपर्ने संयोजक ढकालले बताए ।
प्रतिक्रिया 4