+
+

रामचन्द्र पौडेलको सुझाव- एमालेलाई धेरै पर पुर्‍याउनहुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ९ गते १५:३८

Ramchandra Paudel

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारबाट हटेपछि पनि प्रधानमन्त्री केपी शर्मा ओली संविधान कान्र्यान्वयनको जिम्मेवारीबाट पन्छिन नसक्ने बताएका छन् ।

अविश्वासको प्रस्तावमाथि संसदमा जारी छलफलमा भाग लिँदै कांग्रेस नेता पौडेलले संविधान कार्यान्वयनमा एमालेको महत्वपूर्ण भूमिका रहने बताए । ‘एमालेलाई धेरै पर पुर्‍याउनहुँदैन’ उनले अघि भने, सत्ता मात्र ठूलो कुरा नठानौं । व्यवस्थाका लागि सहमति गरौं । तपाई सत्ता बाहिर भित्र जहाँ भए पनि संविधान कार्यान्वयनबारे भूमिका अर्को हुँदैन ।’

प्रधानमन्त्रीको सम्मानजनक बर्हिगमन हुने गरी आफूले चारबुँदे मध्यमार्गी प्रस्ताव राखेको भएपनि दुबै पक्षमा नमानेको उनले बताए । पौडेलेले केही दिनअघि अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्रीले राजीनामा दिनेसहितको प्रस्ताव राखेका थिए । तर, न प्रधानमन्त्री ओलीले न कांग्रेस-माओवादी गठवन्धनले उनको प्रस्ताव स्वीकार गरे ।

कांग्रेस नेता पौडेलले आफू सत्ता प्रमुख नभएको बताउँदै भने, अहिले साथीहरु दोहोर्‍याई तेहेर्‍याई भइरहेका छन् । तर, मलाई केही छैन, भइराख्नुस्’ हलमा हाँसोको फोहोरा छुटेपछि पौडेलले थपे, ‘तर, चाहिको छ, हामीलाई व्यवस्था । भविश्यका लागि व्यवस्था सुनिश्चित गरौं । हामी राजनीतिमा भएको सार्थकता यसमै हुन्छ । सत्ता भनेको कसले कसले गर्ने हुन्, गरिराखुन् ।’

राष्ट्रपतिलाई अवमूल्यन नगरौं

कांग्रेस नेता पौडेलले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थालाई लिएर भइरहेको विवादलाई निरर्थक भनेका छन् । संसदीय प्रणाली भनेर स्वीकार गरिसकेपछि एउटा सरकार जाने र अर्को सरकार आउनु स्वाभाविक भएको भन्दै उनले यसमा धेरै सोच्नु नपर्ने बताए ।

उनले राष्ट्रपतिलाई धेरै अवमूल्यन गर्ने वा राष्ट्रपतिबाट के गर्न सकिन्छ भनेर आकांक्षा राख्न नहुने बताए । ‘गणतन्त्रको गौरव राष्ट्रपति हो । कुनै पनि शब्द प्रयोग गरेर अवमूल्यन गर्नुहुँदैन’ उनले भने, राष्ट्रपतिका पनि सीमा छन्, उहाँले आफ्नो मर्यादा राख्नुहुन्छ ।’

अतिरञ्जित नहुन उपेन्द्रलाई आग्रह

कांग्रेस नेता पौडेलले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको नाम नै लिएर धेरै अतिरञ्जित नहुन आग्रह गरेका छन् । नयाँ संविधानलाई लिएर यादवले गरेको टिप्पणीप्रति लक्षित गर्दै उनले भने, अतिरञ्जना राष्ट्रले पचाउन सक्दैन । नेपालले धान्न नसकोस् भनेर हो भने अर्कैै कुरा, नभए कहाँ-कहाँ के नमिलेको हो, मिलाएर जाऊँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?