वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा मैले लामो समय गुजारेको छु । विदेशमा काम गर्नेले हरेक दुई वर्षमा वैदेशिक रोजगार विभागमा श्रम सम्झौता गर्नुपर्ने हुन्छ । नेपाल आएर कुवेत फर्कन म पनि कालिमाटीस्थित विभाग पुगेको थिएँ ।
विभागमा पछिल्लो समय निकै सुधार आएको भनेर बाहिर चर्चा चलेको सुनिन्छ । जताततै सीसी क्यामरा, कार्यालयभित्र कसैको दलाली नचल्ने, श्रम गर्ने बाहेक भित्र कोही छिर्न नपाउने, बिमा र श्रमको लागि गेट बाहिर नै सबै तयार हुने आदि इत्यादि । तर, त्यहाँभित्रको अवस्था ठीक उल्टो देखियो ।
हामी रहरले नभई देशमा रहेको बेरोजगारी समस्याका कारण विदेशिएका हौं । हामीले पठाएको रेमिट्यान्सबाटै धानिएको मुलुकमा हाम्रै लागि खुलेको वैदेशिक रोजगार विभागको श्रम फाँटमा भएका गतिविधि देख्दा मनले मानेन । केही लेख्न बाध्य भएँ ।
गत जुलाई १७ तारिखमा बिहान सात बजे विभागमा पुगेको थिएँ । त्यहाँ विभिन्न बिमा कम्पनीमा आबद्ध व्यक्तिहरु बिमा गराउन र श्रमको फारम भराउन मान्छेहरुलाई तानातान गर्दै थिए । एक जनाले मलाई तानेर बिमा कार्यालयमा लगिहाले । मैले केही नबोली बिमा र फारम भरी आवश्यक रकम बुझाएँ । त्यसपछि सीधै श्रम सम्झौताको लागि विभागको कार्यालयतिर लम्किएँ ।
मुख्य गेटमा प्रहरी दाइले पासपोर्ट नियालेर मलाई भित्र जाने अनुमति दिए । साथीहरु अघि नै लाम लागिसकेका रहेछन् । म सबैभन्दा पछाडि गएर उभिएँ । त्यो लाइन एक हजार रुपैयाँ राजश्व तिर्न एभरेष्ट बैंकको भौचर काट्ने लाइन थियो । म भन्दा अगाडि झन्डै ७० जना थिए । त्यसै क्रममा एक जना सुकिलो लुगा लगाएका हेन्डसम मित्र आएर खुसुक्क भने– ‘ओ सोल्टी, ६ सय रुपैयाँ मलाई दिनुस् । लाइनमा के बस्नुहुन्छ ! पानी पर्यो भने झन् दुःख ! आउनुस्, लाइन नबसी सीधै भित्र पठाइदिन्छु ।’
‘एक हजार रुपैयाँ पैसा बुझाउन ६ सय रुपैयाँ के घुस खुवाउनु यार !’ मैले यति के भनेको थिएँ, रातो टिसर्ट लगाएका अर्का मित्र आएर खुसामद गर्न थाले – ‘हजुर भैगो नि । एक हजार रुपैयाँ राजश्वको भयो, चार सय मलाई कमिसन । १४ सय रुपैयाँ दिनुस्, सीधै भित्र पुग्नुहुन्छ । भौचर म काटेर ल्याइदिन्छु ।’
उनको कुरा इन्कार गर्दै मैले लाइन लागेरै आफैं भौचर काट्छु भनेँ । यति कुरा हुँदै गर्दा मभन्दा पछाडि लाइनमा लगभग सय जना साथीहरु उभिइसकेका थिए । ती दलालहरुको अरुसँग पनि बार्गेनिङ चलिरहेको थियो । केही साथीहरु ६ सय रुपैयाँ दिन राजी भएर सीधै भित्र पासपोर्ट बुझाउने लाइनमा पुगेका थिए, केहीले भने ४ सयमा कुरा मिलाएका थिए । कोही साथीहरु भने कडा रुपमा बोल्दै थिए – ‘विदेश गएर त्यत्रो त दुःख गरिएको छ भने एकछिन लाइन लाग्न के को दुःख !’
केही साथी नेपालमा यस्तो दलाली प्रवृत्तिको अन्त्य कहिले होला भनेर थकथकी मान्दै थिए । मेरा अघि रहेका झन्डै ४० जना जति भित्र पसिसकेका थिए । मैले मोबाइल निकालेर फोटो खिच्ने प्रयास गरेँ । त्यहाँ बार्गेनिङ गर्ने दुवै दलालहरु क्यामरबाट जोगिने प्रयास गर्दै साइड लागे । म फेरि उनीहरुको गतिविधिमा नजर डुलाउँदै फोटो खिच्न खोज्थेँ, उनीहरु तर्किन्थे । मैले मौका छोपेर केही फोटो खिचेँ ।
(हेर्नुस् तस्वीर : सेतो सर्ट लगाएका व्यक्ति पैसाको बार्गेनिङ गर्दै छन् । रातो टिसर्ट माथि सेतो ज्याकेट लाएका व्यक्ति मैले फोटो खिच्दा भाग्दै गरेका छन् ।)
कार्यालय परिसरमा खुलमखुला उनीहरुको दलाली देख्दा यो दैनिक रुपमा भइरहेको मिलेमतो व्यापार भन्ने प्रस्टै हुन्थ्यो । नत्र हामी मुख्य गेटबाट छिर्दा पासपोर्ट माग्ने प्रहरी दाइले ती दलाललाई कसरी छिराए ? ४/५ जनाको समूह उक्त कार्यमा सक्रिय थिए । मुख्य र दोस्रो गेटमा प्रहरी बसे पनि दलालहरु सजिलै भित्र पसेका छन् । उनीहरुको चुरीफुरी भौचर काट्न र पासपोर्ट बुझाउन लागिने लाइनदेखि भित्रसम्म उस्तै छ ।
मुख्य गेटदेखि पासपोर्ट बुझाउने लाइनसम्म प्रहरी दाइहरु तैनाथ छन् । तर, त्यहाँ हुने सबै कुरामा उनीहरुले आँखा चिम्लिरहेका छन् । फेरि बेलाबेला प्रहरीहरु ती दलालहरुलाई एकान्तमा लगेर कुरा गर्दै छन् । प्रहरीले सबैको माझमा कुरा नगरी एकान्तमा किन लैजानुपरेको ? अचम्मैको दृश्य थियो । हाम्रो सुरक्षा र सुविधाको लागि तैनाथ प्रहरी आफैं दलालसँग एकान्तमा गएर बोल्दा त्यसलाई कुन अर्थ लगाउने ?
६ हजार रुपैयाँ बुझाए कुनै पनि लाइन बस्नु पर्दैन भन्ने सम्मका गाइँगुइँ त्यहाँ चलिरहेको थियो । यस्तै, ११ हजार रुपैयाँ बुझाए श्रम सम्झौता गरेर पासपोर्ट सीधै आफू बस्ने ठाउँमै आइपुग्छ रे भनेर लाइनमा बसेका साथीहरु भन्दै थिए ।
साथीहरु कोही नेपालको कानुन दैवले जानून भनिरहेका थिए, कोही कहिले सुधार होला भनेर चिन्तित थिए । म साथीहरुको गफसँगै त्यहाँको परिवेश नियाल्दै लाइनमार्फत भौचर काटेर पासपोर्ट बुझाउने ठाउँसम्म पुगे ।
युएई र मलेसिया जाने साथीहरुको छुट्टै लाइन थियो भने कतार, कुवेत, साउदी अरब, ओमान लगायतका मुलुक जाने कामदार अर्कै लाइनमा थिए । पासपोर्ट बुझाउने ठाउँमा कोहीको आईडी मागियो, कसैको आईडी नभएर फर्काइयो । मैले आइडी देखाउँदा भिसा प्रस्ट देखिने गरी अर्को फोटोकपी गरी ल्याउन भन्दै फर्काइयो ।
जब कि पासपोर्टमा भिसा छ, साथमा कुवेतको सिभिल आइडी पनि देखाइरहेको छु । भिसा फोटोकपी पनि बुझाएको छु । तर पनि अर्को फोटोकपी गर्न भन्दै कर्मचारीहरुले फर्काए । कर्मचारीको मुडमा भर पर्दो रहेछ भन्ने लाग्यो । मुड चले केही नगरी आँखा चिम्लिएर पासपोर्ट बुझ्ने, नत्र दु:ख दिने र थर्काउने गरेको देखियो । नम्रता भन्ने चिज पटक्कै देखिएन । मैले उनीहरुको आदेश बमोजिम नयाँ फोटोकपी ल्याएर बुझाएँ ।
त्यसपछि पासपोर्टको प्रतिक्षामा अर्को साइडतिर बसेँ । धनुषाका रामविनय मण्डल भाइको सोही दिनको युएईको लागि फ्लाइट टिकट रहेछ । तर, श्रम सम्झौता भएन, पासपोर्ट फिर्ता भयो । कारण बुझ्दा अनलाइनमा भिसा नदेखिएको भन्ने थाहा भयो । रामविनयसँग त्यहाँ पनि एकान्तमा कुरा हुन थालेको मैले नियालिरहेको थिएँ । पछि उनीसँग सोध्दा थाहा पाएँ, भिसा अनलाइन नदेखिए पनि आठ हजार रुपैयाँ दिए श्रम हुन्छ भनेर दलालहरुले भने रे । रामविनयले पाँच हजार मात्र दिन्छु भन्दा मानेनन् रे ।
यति सुनेपछि म पासपोर्ट लिने ठाउँमा गएर उभिएँ । जहाँ हिलो, फोहोर र दुर्गन्ध फैलिएको थियो ।
विभागभित्र राखिएको फुटपाथ पसलले झन् अवस्था अस्तव्यस्त पारेको थियो । दैनिक हजारौं कामदारको पासपोर्ट फिर्ता दिने ठाउँमा एउटा माइकको समेत व्यवस्था रहेनछ ।
कर्मचारी घाँटी सुकुन्जेल चिच्याएर नाम पढे पनि भिडको कोलाहलले नाम सुन्नै गाह्रो थियो । अघिपछि भन्दा उक्त दिन भिड निकै कम रहेको फुटपाथ पसलेहरु भन्दै थिए । करिब पाँच घण्टा म त्यहाँ बसेँ । सबै कुरा नियाल्दा धेरै कुरा सोचेँ । दलालहरुलाई कमाउनुपरेको छ, हामीलाई छिटो चाहिएको छ । दिनेले नदिए लिनेले पनि लिन्थेन भन्ने पनि सोच आयो ।
प्रतिक्रिया 4