२२ साउन, काठमाडौं । दुग्ध विकास संस्थान (डिडीसी)ले विराटनगरमा रहेको दूध पाउडर प्लान्टको क्षमता यसै वर्ष दोब्बर बनाउने भएको छ । हाल दैनिक ३ मेट्रिक टन पाउडर उत्पादन गर्ने क्षमताको प्लान्टलाई अब बढाएर ६ मेट्रिक टनको बनाउने तयारी गरिएको हो ।
अहिले दैनिक ३० हजार लिटर दूध प्रशोधन गर्ने प्लान्टको क्षमता वृद्धि भएपछि ६० हजार लिटर दूध प्रशोधन गर्न सकिने संस्थानका प्रवक्ता तथा उपमहाप्रवन्धक इश्वरीप्रसाद अधिकारीले अनाइनखबरलाई जानकारी दिए ।
१० करोड खर्च हुने अनुमान
पाउडर प्लान्टको आयात र जडानका लागि तेस्रो चरणमा बल्ल टेण्डर प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ । टेण्डर पाउने कम्पनीको छिनोफानो भइसकेको र केही दिनमै सम्झौता हुने अधिकारीले जानकारी दिए ।
नेपाल सरकारले प्लान्टका लागि यसअघि नै संस्थानलाई ६ करोड रुपैयाँ अनुदान निकासा गरिसकेको थियो । टेण्डर कुन कम्पनीलाई कतिमा दिन लागिएको भनेर डिडीसीले खुलाएको छैन । संस्थानले यसअघि प्लान्ट विस्तारको लागि १० करोड लाग्ने अनुमान गरेको थियो ।
‘मिल्क होलिडे’ अन्त्य हुने विश्वास
पाउडर प्लान्टको क्षमता दोब्बर बनाएपछि वर्षका समयमा ‘मिल्क होलिडे’ गर्नुपर्ने समस्या हटेर जाने विश्वास गरिएको छ । पाउडर दूधलाई लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले पनि डिडीसीले प्लान्टको क्षमता बढाउन चासो दिएको हो ।
पाउडर प्लान्टका लागि यसअघि २ पटकसम्म टेण्डर आहृवान गरे पनि आवेदन परेको थिएन । यसपटक भने टेण्डर प्रक्रिया पूरा हुने देखिएको छ । विस्तार हुने प्लान्टबाट ‘ह्वाइटनर’ समेत उत्पादन गर्ने लक्ष्य राखिएको छ । नेपालमा पर्याप्त पाउडर उत्पादन नहुँदा विदेशबाट आयात भएको पाउडरमा भर पर्नुपर्ने अवस्था छ ।
स्वदेशमै उत्पादित दूध विक्री हुन नसकिरहेको अवस्थामा विदेशबाट पाउडर ल्याउनुपर्ने अवस्था अन्त्य गर्न यो प्लान्टको विस्तारले सहयोग पुग्ने अपेक्षा गरिएको छ । क्षमता विस्तार गरेर उत्पादन गरिने पाउडर दूधका लागि सुख्खा मानिने सिजनमा उपयोग गर्ने डिडीसीको योजना छ ।
वर्षा लागेपछि मंसिर-पुससम्मको सिजनमा नेपालमा मागभन्दा बढी दूध उत्पादन हुने गरेको कृषि विकास मन्त्रालयले जनाएको छ । गत वर्ष यस्तै सिजनमा दैनिक ४० हजार लिटर दूधले बजार पाउन सकेको थिएन ।
डिडिसी र निजी डेरीले भारतमा दूध पठाउँदा एक लिटरमा झण्डै ६ रुपैयाँ घाटा बेहोर्नुपर्ने बताएपछि गत वर्ष सरकारले दूध भारत निर्यातका लागि अनुदान समेत दिएको थियो । घाटा पूर्ति गर्न निकासी गर्न चाहने डेरी फर्मलाई सरकारका तर्फबाट लिटरमा ५ रुपैयाँ ९६ पैसा अनुदान दिइएको थियो ।
त्यसैका आधारमा पटना डेरीले नेपालको दूध किनेको थियो । पाउडर प्लान्टको क्षमता विस्तार भएपछि भने यस्तो समस्या हटेर जाने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4