२८ साउन, काठमाडौं । ‘युवा रोजगार हाम्रो सरोकार र उन्नत जीवनका लागि सीप’ भन्ने मुल नारासहित नेपालमा पनि अन्तराष्ट्रिय युवा दिवस मनाइँदैछ ।
युवा दिवसमा नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले कस्ता कार्यक्रम गरिरहेको होला भनेर इन्टरनेटमा खोजी गर्नुभयो भने तपाईं चकित पर्नुहुन्छ ।
तालुकदार निकाय युवा मन्त्रालयको वेबसाइट हेर्यो भने नेपाल सरकारको हविगत र कर्मचारीको ढिलासुस्ती छर्लंग्ग हुन्छ ।
युवा तथा खेलकुद मन्त्रालयको वेबसाइटमा नेपालको युवा मन्त्री अझै पनि सत्यनारायण मण्डल नै छन् । मण्डल केपी शर्मा ओली नेतृत्वको सरकारमा युवा मन्त्री थिए ।
ओली सरकार ढलेर प्रचण्ड नेतृत्वमा नयाँ सरकार बनिसकेको छ र युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइली नियुक्त भएका छन् । तर, मन्त्रालयले आफ्नो आधिकारीक पेजमा अझै पनि मण्डललाई नै मन्त्रीको रुपमा राखेको छ ।
त्यतिमात्रै होइन, करिब ६ महिनाअघि नै युवा तथा खेलकुद मन्त्रालयबाट सरुवा भइसकेका सचिव दिपेन्द्रनाथ शर्मालाई पनि अझैसम्म सचिवकै रुपमा वेबसाइटमा देखाएको छ । शर्मा युवा तथा खेलकुद मन्त्रालयबाट सरुवा भएर प्रधानमन्त्री कार्यालय र त्यहाँबाट पनि सरुवा भएर अहिले शहरी विकास मन्त्रालयमा पुगिसकेका छन् । तर, मन्त्रालयको आधिकारीक पेजले भने शर्मालाई नै आफ्नो सचिवको रुपमा देखाएको छ ।
सामान्य अवस्थामा युवाहरु स्वभावैले सक्रिय हुन्छन् । उनीहरु सूचना प्रविधिमा पनि विशेष दखल राख्छन् । तर, नेपाल सरकारको युवा मन्त्रालयको ढिलासुस्ती भने उदेक लाग्दो छ । उक्त मन्त्रालयको वेबसाइट २०७२ कात्तिक १९ गतेबाट अझैसम्म अपडेट भएको छैन ।
नेपाल सरकारको तथ्यांकअनुसार नेपालमा ४० दशमलव ३४ प्रतिशत युवा जनसंख्या छ । तर उनीहरुका लागि सरकारको कस्तो नीति छ भन्ने कुरा पनि युवा तथा खेलकुद मन्त्रालयको वेबसाइटमा भेटिँदैन ।
प्रतिक्रिया 4