४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान प्रधानमन्त्री प्रचण्डवीच चर्को मनमुटाव छ । भारतलाई हेर्ने लगायतका विषयमा यी दुई नेताहरुको मत बाझिएको छ । तर, महात्मा गान्धीका विषयमा भने प्रचण्ड र केपी ओलीको एउटै मत छ- गान्धी उपनिवेशवादविरोधी आन्दोलनका प्रेरणा स्रोत हुन् ।
असोज ३१ गते प्रधानमन्त्री प्रचण्ड भारतको राजघाटस्थित गान्धी समाधिस्थलमा पुगेका थिए । त्यहाँ उनले गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेपछि भीआईपी प्रवेशद्वारमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे । साथै सीता दाहाललाई पनि पुस्तिकामा सही गर्न लगाए ।
सशस्त्र युद्धको पृष्ठभूमिबाट राजनीतिमा उदाएका प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गरेको पृष्ठमा अंग्रेजी भाषामा यस्तो लेखिएको छ- ‘भारतका महान सपुत तथा शान्ति र अहिंसाका पर्याय महात्मा गान्धीप्रति श्रद्धा अर्पण गर्न पाउनु गौरव र सम्मानको विषय हो । उनी शान्तिपूर्ण परिवर्तनका प्रेरणा हुन् र उनको दर्शनले अफ्रिका र एशियाका दसौँ लाख मानिसहरूलाई उपनिवेशवाद र अन्य प्रकारका दमन र हैकम विरूद्द लड्न मद्दत गरेको छ ।’
प्रचण्डले गान्धीका बारेमा थप लेखेका छन्- ‘उनी भारतका मात्र नभएर संसारकै शिखर व्यक्तित्व थिए । उनको यो दर्शन सदाका लागि शान्ति, समझदारी र सामञ्जस्यता र समुदायको सेवा गर्नका लागि प्रेरणादायी श्रोत रहिरहेको छ ।’
ओलीको पनि उस्तै कुरा
पूर्वप्रधानमन्त्री गत फागुन ७ गते दिल्ली गएका थिए । उनले फागुन ८ अर्थात् फेब्रुअरी २० तारिखका दिन राजघाटस्थित गान्धी समाधिस्थलमा पुष्प गुच्छा चढाए र आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे । धर्मपत्नी राधिका शाक्यलाई पनि सही गर्न लगाए ।
सशस्त्र संघर्ष एवं झापा आन्दोलनको पृष्ठभूमिबाट राजनीतिमा उदाएका ओलीले पनि गान्धीलाई उपनिवेशवादविरोधी प्रेरणा स्रोतकै रुपमा सम्झिएका छन् । उनले गान्धी समाधिको आगन्तुक पुस्तिकामा अंग्रेजीमा लेखेका छन्- ‘भारतको राजकीय भ्रमणको दौरान राजघाटमा आई माहात्मा गान्धीजीलाई नम्र श्रद्धा अर्पण गर्न पाउनु मेरा लागि गौरव र सम्मान विषय हो । मानवजातिले उनको जीवन, दर्शन र स्वतन्त्रताका लागि गरेको संघर्षबाट धेरै सिक्न सक्छन् । उनले अपनाएको अहिंसाको सिद्धान्त र व्यवहारले भारतलाई स्वतन्त्र मात्र बनाएन, संसारमै एउटा शसक्त औपनिवेश विरोधी लहरको सिर्जना समेत गर्यो ।’
ओलीले गान्धीका बारेमा लेखेका छन्, ‘उनको दर्शन ‘सत्यमा नै शक्ति हुन्छ’ मा अनन्त मूल्य छ । म राजघाटमा रहेको गान्धी स्मारकको व्यवस्थापन देखेर प्रभावित भएको छु । मेरो प्रार्थना’
ओली र प्रचण्ड हस्ताक्षरकर्ता मात्रै
गान्धी समाधिस्थलमा पुष्पगुच्छा चढाइसकेपछि नेपालका सरकार प्रमुखले आगन्तुक पुस्तिकामा आफैंले यस्ता कुराहरु लेख्छन् भन्ने तपाईले ठान्नुभयो भने त्यो तपाईको गलत बुझाइ हुनेछ । हाम्रा प्रधानमन्त्रीले त्यहाँ आफैंले लेख्दैनन्, अरुले नै लेखिदिएको लेखोटमा हस्ताक्षर गर्छन् । गत फागुनमा ओलीले पनि त्यसै गरे । यसपालि प्रचण्डले पनि ओलीकै जस्तो गरे ।
हाम्रो देशका प्रधानमन्त्रीले आफ्नै हातले नेपाली भाषामै लेखे कसो होला ?
ओली र प्रचण्डले हस्ताक्षर गरेको अंग्रेजी लेखोटमा भाषा र हस्ताक्षर पनि लगभग उस्तै उस्तैजस्तो देखिन्छ ।
राजघाट समाधिस्थलमा खटिएका भारतीय कर्मचारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार आगन्तुक पुस्तिकामा पहिल्यै दूतावासका कर्मचारीले प्रधानमन्त्रीको सहमति लिएर उनका भनाइहरु अंग्रेजीमा लेख्छन् र प्रधानमन्त्रीले त्यसमा हस्ताक्षर गर्छन् । यसक्रममा गान्धीबारे नेपाली नेताहरुको लगभग एउटै भनाइ देख्ने गरिएको छ ।
भीआइपीहरुको सो आगन्तुक पुस्तिकामा अन्य देशका सरकार प्रमुखहरुले आफ्नै भाषमा छोटोमा लेखेको देख्न पाइन्छ । हाम्रो देशका प्रधानमन्त्रीले पनि पञ्चायत कालमा राजाहरुले गरेजस्तै तरिकालाई पछ्याउनुभन्दा एक मिनेट समय निकालेर आफ्नै हातले नेपाली भाषामै लेखे कसो होला ? अब दिल्ली जाने प्रधानमन्त्रीहरुले विचार गरुन् ।
प्रतिक्रिया 4