
१ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा उडान रोकिएको चार महिना पछि आज गोमा एयरले चार्टर उडान गरेको छ । आज बाह्र जना विदेशी पर्यटकसहित केही नेपाली यात्रु लिएर गोमा एयरले यो विमानस्थलमा उडान भरेको हो ।
कालोपत्रे भएको केहि महिना नेपाल वायुसेवा निगम, तारा एयर र गोमा एयरले काठमाडौं-ताप्लेजुङ उडान भरे पनि मौसमको खराबी तथा विमान विगि्रएको लगायतका कारण देखाउँदै गत जेठ २२ गतेदेखि सबै कम्पनीको उडान रोकिएको थियो ।
मौसममा सुधारपछि विदेशी पर्यटक भएकाले चार्टर उडान भरेको गोमा एयरले जनाएको छ ।
अब आगामी बुधबारबाट नेपाल वायु सेवा निगमले पनि काठमाडौंबाट नियमित उडान भर्ने नेपाल वायुसेवा निगमका ताप्लेजुङ स्टेसन ईन्चार्ज विकास राईले बताए ।
बिगि्रएको विमान मर्मत भएको र मौसममा सुधार आएकाले नेपाल वायु सेवा निगमको जहाजले उडान भर्ने तयारी गरेको बताइएको छ । नेपाल बायु सेवा निगमले यस अघि पनि साताको तीन दिन आइतबार, बुधबार र बिहीबार ताप्लेजुङ-काठमाडौं सीधा उडान सञ्चालन गर्दै आएको थियो ।
यता गोमा एयरले भने चार्टर उडानमात्र गर्ने बताएको छ । यसअघि दशैंको समयमा यस विमानस्थलमा हवाई सेवा सञ्चालन नहुँदा यात्रुहरु मर्कामा परेका थिए । कञ्चनजंघा हिमाल र पाथिभरा आउने पर्यटक तथा तिर्थयात्रीलाई समेत असुविधा भएको थियो ।
हवाईसेवा नियमित भए कञ्चनजंघा जाने विदेशीलाई छिटो हुने भएकाले उनीहरूले यसैलाई रोज्ने गरेका छन् । उडानबाट भए एकै दिनमा काठमाडौंबाट सुकेटार हुँदै पर्यटकहरू पहिलो बेस क्याम्पसम्म पुग्न पाउँछन् ।
प्रतिक्रिया 4