+
+

यी हुन् झापाका धेरै दुर्घटना हुने क्षेत्र

गौरव पोखरेल गौरव पोखरेल
२०७३ कात्तिक ४ गते ११:१३

accident

४ कात्तिक, झापा । सोमबार बिहान कनकाई-१, जुकेकल्भर्टमा सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गयो । सोही दिन शिवसताक्षी नगरपालिकामा माइक्रो बसले बाटो काट्दै गरेका एक बालकलाई ठक्कर दियो । बुबाको हात समातेर बाटो काट्दै गरेका ती ७ वषर्ीय रोज पौडेलको पनि दुुर्घटनामा ज्यान गयो । यसरी सवारी दुर्घटनाका कारण झापामा एकै दिन ३ जनाले ज्यान गुमाए ।

यो त पछिल्लो उदाहरण मात्र हो । केहि समययता झापामा सवारी दुर्घटना अत्यधिक रुपमा बढिरहेको छ । पछिल्ला तीन वर्षको तथ्याङ्क हेर्ने हो भने पहिलो वर्षको तुलनामा दोस्रो वर्षमा सवारी दुर्घटनामा कमी आएको छ । तर, फेरि तेस्रो वर्षमा दुर्घटना बढेको छ ।

कारण के हो त ? जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरी भन्छन्, ‘सवारी चाप बढी भएको समयमा दुर्घटना बढ्न जान्छ ।’

‘तीन वर्षअघि अत्यधिक सवारी दुर्घटना भएपछि न्यूनीकरणका लागि विभिन्न विधि अपनाइयो, दोस्रो वर्षमा सवारी दुर्घटना घट्यो’, उनले थपे, ‘तर, तेस्रो वर्षमा सिटी सफारी र नयाँ ब्रान्डका मोटरसाइकलको व्यापक प्रयोगले सडकमा चाप बढ्यो र, दोस्रो वर्षको तुलनामा दुर्घटना बढ्न गयो ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७०/०७१ मा ३ सय १८, ०७१/०७२ मा १ सय ९९ र ०७२/०७३ मा २ सय ९० वटा सवारी दुर्घटना भए ।

तीन वर्षअघिको अवस्थासँग तुलना गर्दा दुर्घटनाको शृङ्खलामा कमी आएको त देखिन्छ । तर, मृत्यु दर भने निरन्तर बढिरहेको छ ।

ट्राफिकका अनुसार सवारी दुर्घटनाका कारण आर्थिक वर्ष ०७०/०७१ मा ६२, ०७१/०७२ मा ६६ र ०७२/०७३ मा ७९ जनाले ज्यान गुमाए ।

त्यस्तै, पछिल्लो महिनाको तथ्याड्ढ हेर्दा साउनमा २८, भदौमा १२, असोजमा १५ र कात्तिकमा ३ -३ गते सम्ममा) वटा सवारी दुर्घटना भए । जसमा साउनमा ७ जनाले ज्यान गुमाए । त्यस्तै, भदौमा ३ र कात्तिकमा पनि ३ जनाको मृत्यु भयो । यसरी सवारी दुर्घटनाको स्थिति भयावह बन्दै गएको छ ।

दुर्घटनाग्रस्त क्षेत्र

ट्राफिक प्रहरीले धेरै दुर्घटना हुने क्षेत्रलाई ‘ब्ल्याक स्पट’ घोषणा गर्छ । ‘ब्ल्याक स्पट’ घोषणा गरिएपछि त्यस्ता स्थानहरुमा हुने दुर्घटनाको कारण र न्यूनीकरणका लागि अपनाउन सकिने उपायका बारेमा अध्ययन गरिन्छ । जसको मुख्य उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु हो ।

सडक विभागले केही दिनअघि मात्र नेपालका असुरक्षित राजमार्गहरु, कारण र न्यूनीकरणका लागि अपनाउन सकिने उपायहरुको विषयमा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । ती सडकहरु पश्चिम नेपालका धेरै छन् ।

झापामा चाहिँ कुनकुन क्षेत्र ‘ब्ल्याक स्पट’ घोषित छन् त ? ट्राफिक प्रहरीले धेरै दुर्घटना भएको आधारमा केही स्थानलाई ‘ब्ल्याक स्पट’ घोषणा गरेको छ । दुर्घटनाको कारण पत्ता लगाई न्यूनीकरणका लागि विभिन्न उपाय अपानाउँदै आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रमा दमक-क्याम्पस मोड, पाडाजुँगी चोक, झिलझिले, माईधार, कनकाई नगरपालिका -सुरुङ्गा पुलदेखि जकेकल्भर्ट), लक्ष्मीपुर, चारपाने, बुट्टाबारी, दउनियाँ र धाइजन चोक पर्छन् ।

पछिल्लो आर्थिक वर्षमा भएका सवारी दुर्घटना परि कनकाई नगरपालिकाको जुके कल्भर्टमा ६ जनाको ज्यान गयो भने १२ जना घाइते भए ।

त्यस्तै, दमकको क्याम्पस मोडमा ४, रामचोकमा ४, बुट्टाबारीको स्टाफचोकमा ३, कनकाई नगरको बिरिङ पुलमा २ र धरमपुर मोडमा १ जनाको मृत्यु भयो ।

accident-1

दुर्घटनाको कारण

पछिल्ला वर्षहरुमा हुने गरेको सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही भएको तथ्याङ्क बताउँछ । आर्थिक वर्ष ०७०/०७१ मा ७१, ०७१/०७२ मा ५२ र ०७२/०७३ मा ७८ वटा सवारी दुर्घटनको कारण चालकको लापरबाही हो ।

त्यसपछि अन्य कारणहरुमा क्रमशः यात्रुको गल्ती, ओभरलोड, तीव्र गति, मादक पदार्थ सेवन, यान्त्रिक गडबढी, ओभरटेक, छाडा पशु चौपाया, सडकको अवस्था, मौसम लगायत पर्छन् ।

पछिल्ला तथ्याङ्कहरुको विश्लेषण गर्दा अझै पनि मानिसमा जनचेतनाको कमी रहेको देखिन्छ । यद्यपि, प्रहरी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्मा बताउँछन् ।

न्यूनीकरणका लागि ट्राफिक प्रयास

झापामा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि झापामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । चेकजाँचमा कडाइ गरिएको छ ।

त्यस्तै, ‘र्‍याडर गन’ को प्रयोग गरी सवारी साधनको गति मापन समेत गरिँदै आएको छ । यो विधि दुर्घटना न्यूनीकरणका प्रभावकारी बन्दै गएको अधिकारी बताउँछन् ।

अहिले पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले पूर्व-पश्चिम राजमार्गमा चल्ने सवारीसाधनको गति मापन गर्छ ।

यसकाकारण चालकले लापरबाही गर्दै तीव्र गतिमा यातायातका साधन हाँक्दा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण भएको छ ।

त्यस्तै, ट्राफिकले विभिन्न स्थानमा जनचेतनात्मक कार्यक्रमहरु समेत गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मानिसहरुमा जनचेतना फैलाउने उद्देश्यले विभिन्न विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई लक्षित गरेर ट्राफिक कक्षा, सामुदायिक सेवामार्फत व्यावसायिक चालक तथा परिचालकलाई सचेतना र अन्तरक्रिया कार्यक्रम सञ्चालन जस्ता कार्यहरु गर्दैै आएको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?