२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आपसी सहकार्यका लागि नेपाललाई माध्यम बनाउन चीन र भारतले नेपालको भौतिक संरचनाको विकासमा सहयोग गर्नुपर्ने बताएका छन् ।
ट्रान्स हिमालय को-अपरेशन तथा नेपाल बैंकर्स एशोसियसनको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ‘चीन र भारत दुवैले छिमेकी मुलुकलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको छ, ती दुवैको प्राथमिकता हाम्रा लागि अवसर हो ।’
आफू प्रधानमन्त्री भएपछि नेपाल, भारत र चीनको त्रि-देशीय सहकार्यका लागि जोड दिएको उल्लेख गर्दै प्रचण्डले गोवामा भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग भएको भेटमा पनि त्रिदेशीय सहकार्यबारे प्रस्ताव राखेको बताए । उनले भने- ‘त्यसका लागि ट्रान्स हिमालय कोअपरेसन उपयुक्त माध्यम बन्न सक्छ ।’
पछिल्लो समय जलवायु परिवर्तन र आतंकवाद सबैको समस्याको रुपमा उदय भएकाले त्यसको समाधानका लागि पनि त्रिदेशीय सहकार्य जरुरी भएको प्रधानमन्त्रीले बताए ।
नेपालको विकासका लागि भारत र चीनको उत्तिकै सहयोग र लगानीको आवश्यकता औंल्याउँदै प्रधानमन्त्रीले भने, ‘चीन र भारत विश्व अर्थतन्त्रमा उदयीमान शक्तिराष्ट्रका रुपमा आइरहेका छन्, उनीहरुको विकासबाट नेपालले फाइदा लिन सक्नुपर्छ ।’
प्रतिक्रिया 4