२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधन विधेयक दर्ता गर्ने गृहकार्यमा जुटेका छन् । तर, उनले अझैसम्म विपक्षीलाई मनाउने फर्मूला भेटेका छैनन् ।
मधेसी मोर्चाको लगातारको दबाव र निर्वाचन गर्नुपर्ने चापका कारण प्रचण्डसँग अब समय धेरै छैन । जतिसक्दो छिटो मधेसको असन्तुष्टि सम्बोधन गरेर चैतभित्र स्थानीय निकायको चुनाव गर्न लाग्नुपर्ने उनको बाध्यता छ । नभए आफ्नो नेतृत्वमा स्थानीय चुनाव गर्न नसक्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नुपर्ने हुन्छ ।
किनकि सरकार गठनका क्रममा नै प्रचण्डले नौ महिनामा सत्ता हस्तान्तरण गर्ने लिखत गरेका छन् ।
तर, सरकारको हनिमुन पिरियड (१०० दिन)मा प्रचण्डले मधेसी मोर्चालाई मनाउन सकेका छैनन् । मधेसी मोर्चाको दबाव र छिमेकी मुलुकको अतिरिक्त चासोका कारण भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउनुअघि प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासँग वार्ता गरेर कात्तिक मसान्तभित्र संविधान संशोधान विधेयक दर्ता गर्ने बाचा गरे ।
अहिले त्यो बाचा पूरा गर्न प्रधानमन्त्री प्रचण्ड सघन छलफलमा जुटेका छन् । पार्टीमा आन्तरिक छलफलका अतिरिक्त उनले विमलेन्द्र निधि, महन्थ ठाकुर र उपेन्द्र यादवसँग लगातार सम्वाद गरेका छन् ।
विहीबार मात्रै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । अपरान्ह उनले एमाले अध्यक्ष ओलीसँग सभामुखको च्याम्बरमा छलफल गर्ने समय मिलाएका छन् ।
तर, प्रमुख प्रतिपक्षी नेकपा एमाले सहमतिमा आउन बाध्य पार्ने फर्मूला प्रचण्डले अझैसम्म भेट्न सकेका छैनन् ।
अंगीकृतले दिएको धक्का !
भारतीय राष्ट्रपतिलाई विदाइ गरेर संविधान संशोधनमा केन्दि्रत हुन नपाउँदै प्रचण्डले अंगीकृतको धक्का व्यहोरे । मधेसी मोर्चाका नेताहरुबाटै चुहिएको डकुमेन्टका कारण अंगीकृतलाई राष्ट्र प्रमुख बनाउने गरी संविधान संशोधनको तयारी गरेको पोल खुल्यो । जसका कारण पार्टीभित्र र बाहिर सबैतिरबाट प्रचण्ड निशानामा परे ।
प्रचण्डले लगातार त्यसको खण्डन गरे पनि जनमानसमा उनीमाथिको आशंका अझै मेटिइसकेको छैन । अब सरकारले ल्याउन संविधान संशोधन प्रस्तावमा सबैभन्दा चासोको विषय शायद नागरिकता नै बन्नेछ ।
बाहिर चर्को विरोध भएपछि ९ पदमा अंगीकृत नागरिकलाई लगाएको रोक हटाउनुपर्ने मागको स्वामित्व नलिएको मधेसी मोर्चाले वार्ताको टेबलमा भने त्यसलाई छाडेको छैन । स्रोत भन्छ, वार्ताको टेबलमा यो माग नै पहिलो हुने गरेको छ ।’
तर, पछिल्लो प्रकरणले यो मुद्दालाई कसरी सेफल्याण्डिङ गर्ने भन्ने अर्को फर्मूला खोज्नुपर्ने भएको छ । संविधान संशोधनका लागि गृहकार्य गरिरहेकाहरुका अनुसार यसमा अंगीकृतलाई रोक लगाइएको पदको सूची घटाउनेसहितका विकल्प विचाराधीन छ ।
प्रयोग नगर्दा फ्लप फर्मूला
संविधान संशोधनको मस्यौदा तयार पार्दै गर्दा प्रचण्डका लागि अर्को टाउको दुखाइको मुद्दा बनेको छ सीमांकन हेरफेर ।
प्रधानमन्त्री बन्नका लागि मधेसी मोर्चासँग सीमांकन हेरफेरसहित संविधान संशोधन गर्ने सहमति गर्दैगर्दा उनले सीमांकनमा सहमति जुटाउने र्फमला बनाएका थिए । तर, उनको दुर्भाग्य यो फर्मूला उनले प्रयोग गर्न नपाउँदै फ्लप भएको आभास हुन थालेको छ ।
संविधान संशोधनमा प्रचण्डले देखेको र एक हदसम्म सही बाधक प्रमुख प्रतिपक्षी एमाले नै हो । र, प्रधानमन्त्री भएपछिका सुरुका दिनमा प्रचण्डले एमालेलाई सहमतिका लागि बाध्य पार्ने फर्मूलाका रुपमा ‘कांग्रेस-एमालेको सात प्रदेश’ को प्रस्ताव नै अघि सार्ने सोचेका थिए ।
र, अहिले पनि उनलाई धेरै हदसम्म यो फर्मूलाले काम गर्छ भन्ने लाग्छ । बुधबार विद्यार्थीहरुको अगुवा कार्यकर्ता भेलामा पनि प्रधानमन्त्री प्रचण्डले यही प्रस्तावतर्फ संकेत गर्दैै प्रतिपक्षीले हुन्न भन्न नमिल्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताए ।
तर, यो फर्मूलाले काम गर्छ भन्नेमा उनी आफैं शंका लाग्न थालेको छ, किनकि एमालेले सीमांकन हेरफेर गर्न नदिने बताएको छ । हालै बुटबलमा भएको एमालेको पाँच नम्बर प्रदेश स्तरीय भेलाले कुनै हालतमा प्रदेश फुटाउन नदिने निर्णय लिएको छ ।
ढिला भो कि कामरेड !
एमाले सचिव एवं प्रदेश ५ का नेता प्रदीप ज्ञवालीले ढिला भएको प्रतिक्रिया दिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै ज्ञवालीले भने, अब यो फर्मूलाले काम गर्दैन । असान्दर्भिक भइसक्यो ।’
संविधान बन्दै नबनेको अवस्थामा डेडलक तोड्न कांग्रेस र एमालेले उक्त प्रस्ताव ल्याइएको भन्दै उनले अहिले नयाँ संविधान बनिसकेको सन्दर्भमा त्यसमा र्फकन नसकिने बताए ।
उनले भने, पहिलो संविधानसभामा १० प्रदेशमा सहमति भएका थियौं । त्यो सात प्रदेशमा ठीक थियो भने त त्यसबेला नै सहमतिमा आउनुपथ्र्यो । अब धेरै ढिला भइसक्यो ।’
अहिले तराई मधेसलाई पहाडसँग छुट्याउने गरी प्रस्ताव ल्याउनु घुमाउरो गरी अहिले पनि तराई मधेस स्वतन्त्र अस्तित्व भएको क्षेत्र हो भन्ने स्थापित गर्ने प्रयास भएको उनको आरोप छ ।
एमालेको यो अडानपछि प्रधानमन्त्रीले सीमांकनमा सहमति जुटाउन अर्को फर्मूला खोज्नुपर्ने भएको छ ।
बिहीबारबाट सुरु भएको माओवादीको हेडक्वार्टर बैठकमा उनले त्यो फर्मूलाको खोजी थालेका छन् । र, छिट्टै प्रमुख सत्ता सहयात्री कांग्रेस शीर्ष नेताहरुसँग छलफल गर्दैछन् । तर, एमालेलाई मनाउने फर्मूला कहिले भेट्टाउँछन् र भेटेपछि पनि त्यसले केही काम गर्छ कि गर्दैन भन्न गाह्रो छ ।
प्रतिक्रिया 4