२८ कात्तिक, चितवन । आइतबार विहान साढे ३ बजेतिर वडा प्रहरी कार्यालय नारायणीमा फोन आयो, ‘पुलमा कसैको नागरिकतासहित महत्वपूर्ण कागजपत्र भेटियो । नदीमा हामफालेको पनि हुनसक्छ ।’

प्रहरी टोली पनि दौडिएर पुग्यो । मोरङ पथरी १ का तिलकप्रसाद लिम्बुको नागरिकताको फोटोकपि, अञ्जलीको सक्कल नागरिकता, उनीहरुको बिहे दर्ताको प्रमाणपत्र भेटियो ।
ज्याकेट र मोबाइलसँगै श्रीमतीलाई सम्बोधन गर्दै लेखिएको पत्रमा टाढा जाँदैछु, राम्रोसँग जीउनु भन्ने भाव थियो । यसले नदीमा हामफालेको आशंकालाई बल पुर्यायो ।
प्रहरीले कागजपत्र ल्याएर आफन्त खोज्न थाल्यो । नदी किनारमा पनि खोजी नगरेको होइन । अबरतिर उनका भिनाजु र साली प्रहरी सम्पर्कमा आए । उनकी श्रीमती भने विदेशमा रहिछिन् ।
तर, लिम्बु भेटिएनन् । आफन्तले उनी पहिला पनि थाहै नदिई हिड्ने गरेको बताए । तर, मानसिक रुपमा केही समस्यामा रहेकाले जे पनि हुनसक्ने संकेत गरे । प्रहरी निरीक्षक राजेन्द्र थापाले भने, नदीमा हामफाल्न सक्छ भनेर सोध्दा आफन्तले भन्न सकिँदैन भने ।’
प्रहरीले उनको खोजी जारी राख्यो । राससलाई उदृत गर्दै सञ्चार माध्यमहरुमा खबर आयो कि श्रीमतीलाई वियोगान्त पत्र लेखेर एक युवक नदीमा हाम फाले । उनी अझै वेपत्ता छन् ।
तर, नदीमा हामफालेको भनिएका लिम्बु साँझ एकाएक डुलिरहेको अवस्थामा भेटिए । भरतपुर १० को चितवन मेडिकल कलेज नजिकै उनी भेटिएको प्रहरी निरीक्षक थापाले बताए ।
उनका अनुसार केरकार गर्ने क्रममा उनले फरक फरक बयान दिने गरेका छन् । मानसिक समस्या देखिएकाले उनलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।
प्रतिक्रिया 4