+
+

दुई नम्बर प्रदेशको रहस्यः जहाँ मधेसीका ६७ जात छन्

यादवभन्दा दलित धेरै, पहाडे बाहुनको कन्तबिजोग

कमल मादेन कमल मादेन
२०७३ पुष १४ गते २०:१८

2-pardesh

नेकपा एमालेसमेत मिलेर बनाएको ‘मधेस-प्रदेश’ अर्थात २ नम्बर प्रदेशमा पहाडी जिल्ला नमिसाउनु गल्ती भएको एमाले नेताले बताउन थालेका छन् । मधेसी समुदायको मात्रै ८८.११ प्रतिशत बाहुल्य रहने गरी बनाइएको यो प्रदेशको सामाजिक बनावट निकै रोचक छ ।

दुई नम्बर प्रदेशमा सबैभन्दा बढी जनसंख्या दलितहरुको छ । जातीय र वर्गीय विभेदको पक्षमा राजनीति गर्नेहरुले दलितलाई मात्रै विश्वासमा लिन सकेको खण्डमा यो एउटा भरपर्दो क्लस्टर बन्न सक्छ मधेसको राजनीतिमा । किनभने त्यहाँका दलितहरु मधेसी उच्च जातबाटै अपहेलित छन् भन्ने बुझाइ धेरैमा रहेको पाइन्छ ।

मधेस प्रदेशमा मुस्लिमहरुको जनसंख्या तेस्रो स्थानमा छ, जुन हिन्दुवादका नाममा राजनीति गर्नेहरुका लागि दलितपछिको अर्को चुनौती हो ।

मधेस प्रदेशमा यादव जातिको मात्रै जनसंख्या १४ प्रतिशत छ । यहाँ मधेसी समुदायका कुल ६७ जातिको मिसमासे बसोबास छ । पहाडे खस आर्यको उपस्थिति भने २ नम्बर प्रदेशमा दयनीय त छ नै, प्रत्येक वर्ष घटिरहेको छ । मधेसी बाहुन र यादव जातिका वीचमा राजनीतिक खिचातानी हुने गरेको छ ।

प्रस्तुत लेखमा दुई नम्बर प्रदेशको सामाजिक बनावट र एमाले नेताहरुको दृष्टिकोणमाथि सामान्य विश्लेषण गर्ने जमर्को गरिएको छ ।

मधेसी समुदायका ६७ जातजाति

जनगणना ०६८ को तथ्यांकअनुसार नेपालमा १२५ जात तथा समुदाय छन् । तीमध्ये मधेसकेन्द्रित ६७ जात तथा समूह छन् ।

मुक्त एस. लामा र ओम गुरुङ सम्पादित पुस्तक ‘सोसल इन्क्लुजन एटलस अफ नेपाल: इथ्निक एण्ड काष्ट ग्रुप्स’ (सन् २०१४) अनुसार उक्त ६७ जात तथा समुदायलाई विभिन्न समूहमा बाँडिएको छ ।

जस्तै- उच्च मधेसी जात-४, मधेसी अन्य जात-३५, तराई जनजाति-१४, मधेसी दलित- १०, मुसलमान-१ र अन्य ३ (बंगाली, पञ्जाबी, मारवाडी) मा विभक्त गरिएको छ ।

दुई नम्बर प्रदेशमा मधेसी समुदायका ६७ जातजाति बाहेक पहाडे समुदायका मानिसहरुको पनि सामान्य बसोबास छ ।

मधेसीमात्रै ८८.११

प्रदेश नं २ मा नेपालको कुल जनसंख्याको २०.३९ प्रतिशत बसोबास छ । यहाँ मधेसी मूलका सबै ६७ जात तथा समुदायको बसोबास ८८.११ प्रतिशत देखिन्छ ।

दुई नम्बर प्रदेशमा पहाडे जात तथा समुदायहरुमध्ये डोल्पो र ल्होपा जातिका पहाडे जनजातिको मात्रै बसोबास देखिँदैन । बरु, धेरैजसो संख्या जंगलमा बसोबास गर्ने भनिएका राउटेहरु धनुषा र महोत्तरीमा देखिन्छन् ।

मधेसी बाहुन अर्थात् उच्च मधेसी जात

तराई मूलका बाहुनलाई विशेषतः मधेसी समुदायको उच्च जातका रुपमा लिइन्छ । झा, मिश्र, पण्डित, त्रिपाठी, ठाकुर, भट्ट, तिवारी, पाठक आदि तराई मूलका बाहुन हुन् ।

मधेसको उच्च जातका रुपमा कायस्थ (बच्चन), नुराङ र राजपुतहरुले आफूहरुलाई गणना गर्ने गरेको पाइन्छ ।

नुराङको संख्या अत्यन्त थोरै छ । त्यसैले नुराङको अधिकांश पाठकले नामै नसुनेको जात हो भन्दा फरक नपर्ला । नुराङको संख्या कुसुन्डाको भन्दा मात्रै ५ बढी अर्थात २७८ रहेको जनगणनाको तथ्यांकमा छ ।

कायस्थहरु नेपाल भर ४४ हजार र राजपुत ४२ हजार संख्यामा छन् ।

भारतमा प्रान्तैपिच्छे दर्जनौं छुट्टाछुट्टै बाहुनहरु समूह छ । तैपनि भारतका बाहुनलाई मुख्य दुई समूहमा विभाजन गर्ने गरिएको पाइन्छ । त्यो एक पहाड (विन्ध्या पहाड) श्रृखलासँग जोडिन्छ । भारतको गुजरात, मध्यप्रदेश र बिहारसम्म विन्ध्या पहाडको एक श्रृंखला छ । त्यो कतैकतै नर्मदा नदीसँगै समानान्तर भएर फैलिएको छ ।

भारतका समुच्च बाहुनलाई मूलतः भारतीय श्रुतिहरुमा विन्ध्या पहाड उत्तर र विन्ध्या पहाड, दक्षिणका बाहुन भनेर भन्ने गरिएको पाइन्छ । तिनलाई पञ्च-गौदा बाहुन र पञ्च-द्रबिडा बाहुन पनि भनिन्छ ।

बिहार, उत्तर प्रदेश एवं बंगालतिरका बाहुन पञ्च-गौदा बाहुन हुन् भने तेलंगु, तामिलनाडु, केरला, गुजरात, कर्नाटाका, महाराष्ट्र आदिका पञ्च-द्रबिडा बाहुन हुन् ।

नेपालको मधेसका अधिकांश बाहुनहरु पञ्च-गौदा बाहुनसँंग सम्बन्ध राख्छन् । तीमध्ये एक वा दुई (ठाकुर ?) पञ्च-द्रबिडा बाहुन पनि छन् । नेपालका पहाडे बाहुन पनि पञ्च-गौदा बाहुन नै हुन् । पहाडे बाहुन र तराई बाहुनको गोत्र अक्सर मिल्छ । गोत्र एकै भएपछि भिन्नता भूगोलको मात्रै हो । त्यसैले उनीहरुको संस्कार करिब-करिब उस्तै छ ।

जनगणना ०६८ अनुसार प्रदेश २ मा तराई मूलका बाहुनहरु जम्मा ९९ हजार संख्यामा छन् । तराई मूलका बाहुनको बसोबास विशेषतः धनुषा र महोत्तरीको सीमा जोडिएका केही भूभाग, जो भारतीय सीमासँग पनि नजिक छ, मा घनत्व बढी देखिन्छ ।

एकैछिन काठमाडौंतिर फर्कौं

काठमाडौ उपत्यकामा धेरैअघि आइपुगेका बाहुनहरुको हिजोआज नेवारका रुपमा पहिचान बनिएको छ । डा. तुलसीनारायण श्रेष्ठ लिखित ‘नेपालका नेवारहरु’ (वि.सं ०६६) शीर्षक पुस्तकमा यसबारे चर्चा गरिएको छ ।

ती बाहुनहरुमध्ये राजोपाध्याय (नेवारीमा जुजुबाजे/राजाको बाहुन) एक हो । पुस्तकमा उल्लेख भएअनुसार नेवार समुदायमा अरु किसिमका बाहुन (भट्ट, झा, मिश्र आदि) पनि छन् (पृष्ठ: १०१) ।

जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐनमा राजोपाध्यायलाई नेवारको बाहुन भएकाले पहिलो स्थानमा नराखेर क्षेत्रीपछिको तेस्रो स्थानमा राखिएको थियो ।

राजोपाध्यायले अद्यावधि आफूहरु उपाध्याय बाहुन हौं, काम मात्रै नेवारको (हिन्दु) पुजारी भन्ने गरेको पाइन्छ । उनीहरु आफूलाई नेवारभन्दा पहाडे बाहुन नै भन्न बढी रुचाउँछन् ।

नेवारसम्बन्धी करिव ४ दशक लामो अध्ययन अनुसन्धान गरेका डेभिड एन.गेल्नरले राजोपाध्यायले कहिल्यै आफ्ना बच्चालाई नेवारी बोल्न अभिप्रेरित गर्दैनन् भनेर एक लेखमा लेखेका छन् ।

हुनत मल्लकालमै काठमाडौ उपत्यकामा ५ किसिमका बाहुनहरु थिएः जस्तो-उपाध्याय बाहुन, द्रविड भट्ट बाहुन, मैथिली बाहुन, बंगाली बाहुन र खस बाहुन भएको लिखत कतैकतै पाइन्छ ।

वीरशमसेरको पालासम्म नेवार समुदायभित्र उपाध्याय बाहुन, लवरजु बाहुन र देवभाजु बाहुन अस्तित्वमा थिए । हिजोआज केवल देवभाजु/राजोपाध्याय मात्रै अस्तित्वमा छन् ।

अन्य मधेसी जातिहरु

मधेसी अन्य जातमा जम्मा ३५ जात समावेश छ । उक्त समुदायको जनसंख्या माथि उल्लेख गरिएको उच्च मधेसी ४ जातसहित प्रदेश नं २ मा ५१.८० प्रतिशत छ ।

मधेसी अन्य जातको समूहमा सबैभन्दा बढी जनसंख्या यादवहरुको छ । यादवको मात्रै २ नम्बर प्रदेशमा १४.७८ प्रतिशत जनसंख्या छ । यो भनेको प्रदेश २ मा एकै जातको संख्यामध्ये सबैभन्दा बढी हो ।

यादवको बसोबास सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा पहिलो स्थानमा छ । त्यसैगरी बारा र रौटहटमा दोस्रो र पर्सामा चौथो स्थानमा छ ।

मधेसी दलित

कमल मादेन
कमल मादेन

बाँतर/सरदार, चमार/हरिजन/राम, चिडिमार, धोबी, डोम, दुसाध/पासवान/पासी, हल्खोर, खत्वे, मुसहर, तत्मा/तत्वासमेत जम्मा १० समूह मधेसी दलित जाति हुन् ।

प्रदेश २ मा मधेसी दलित जम्मा १५.३५ प्रतिशत छन् । सबैभन्दा बढी दलित जनसंख्या दुसाध/पासवान/पासीको छ । प्रदेश नं २ मा दुसाधमात्रै कुल १ लाख ५१ हजार भन्दा बढी अर्थात २.७८ प्रतिशत छन् । यो संख्या भनेको प्रदेश २ को पहाडे बाहुनको कुल संख्याभन्दा पनि बढी हो ।

प्रदेश नं २ मा मधेसी दलितको संख्या यादवपछि दोस्रो स्थानमा छ । मधेसी दलित मात्रै प्रदेश नं २ को कुल जनसंख्यामध्ये १५.३५ प्रतिशत छन् । त्यो संख्यामा पहाडे दलित पनि जोड्दा १६.२८ प्रतिशत पुग्छ ।

मिथिलाको इतिहासमा सल्हेश नामका एक प्रतापि राजा थिए । विहारका एक प्राध्यापक राधाकृष्ण चौधरीले ‘मिथिला इन द एज अफ विद्यापति’ (सन् १९७६) शीर्षकमा एक पुस्तक लेखेका थिए । उक्त पुस्तकमा सल्हेश राजाका बारे चर्चा गरिएको छ । त्यस पुस्तकमा उल्लेख भएअनुसार सल्हेश राजाको राज्य हिजोआजको बिराटनगरसम्म फैलिएको थियो ।

सल्हेश राजालाई दुसाध समुदायले आफ्नो पुर्खौली देउताका रुपमा मान्छन् । एक पुस्तकमा उल्लेख भएअनुसार विहारस्थित सहर्सा जिल्लाका दुसाधले पनि सल्हेश राजालाई आफ्ना पितृदेव मान्छन् ।

यता सिराहास्थित एक धार्मिक वनको नाम पनि सल्हेश फूलवारी नामाकरण गरिएको छ । त्यो फूलवारी तिनै सल्हेश राजाको फूलावरी थियो भन्ने मान्यता छ ।

दुई नम्बर प्रदेशमा मुस्लिम समुदाय

प्रदेश २ मा मुस्लिम समुदायको बसोबास ११.५८ प्रतिशत छ । १ लाख ३५ हजारभन्दा बढी मुसलमान रौतहटमा मात्रै छन् । बारा, पर्सामा ९०/९० हजार छन् । महोत्तरीमा ८४ हजार छन् । मुस्लिम समुदायको संख्या प्रदेश नं २ मा यादव र दलितपछि तेस्रो स्थानमा छ ।

तराईका जनजाति

धानुक, धिमाल, खवास, मुन्डा, थारु लगायत १४ वटा तराईका जनजातिको संख्या सूचीकृत छ । प्रदेश २ मा तराईका जनजाति ८.८९ प्रतिशत छन् । तराईका जनजातिको संख्या प्रदेश २ मा चौथो स्थानमा आउँछ ।

तराई जनजातिमा सबैभन्दा बढी थारु समुदायको छ । थारुको संख्या सप्तरीमा दोस्रो स्थानमा छ । त्यसैगरी बारा र पर्सामा तेस्रो स्थानमा छ ।

अन्य मधेसी जाति

मधेसमा बसोबास गर्ने बंगाली, पञ्जाबी र मारवाडी गरी तीनवटा जातलाई अन्य मधेसी भनेर सूचीकृत गरिएको छ । प्रदेश नम्बर २ मा तिनीहरुको बसोबास ०.४९ प्रतिशत मात्रै छ ।

दुई नम्बर प्रदेशमा पहाडे खस आर्य

प्रदेश नं. २ मा खस आर्य (पहाडे बाहुनक्षेत्री, ठकुरी र सन्यासी/दशनामी) को बसोबास ४.८८ प्रतिशत मात्रै छ । खस आर्यमध्ये पहाडे बाहुनको जनसंख्या प्रदेश २ मा १ लाख २७ हजार भन्दा केही बढी छ ।

जबकि छिमेकी जिल्ला चितवनमा मात्रै १ लाख ६५ हजार र झापा तथा रुपन्देहीमा मात्रै क्रमशः १ लाख ९३ हजार र १ लाख ४० हजार संख्यामा पहाडे बाहुनहरुको बसोबास छ ।

प्रदेश नं. २ को महोत्तरी र बाराबाहेक बाँकी ६ जिल्लामा पहाडे बाहुनको संख्या ०५८ भन्दा ०६८ को जनगणनामा घटेको छ । धनुषामा पहाडे बाहुनको संख्या १५ हजार घटेको देखिन्छ । त्यसैगरी सप्तरीमा ७ हजार, रौटहटमा ४ हजार पहाडे बाहुनको संख्या घटेको छ ।

महोत्तरी र बारामा पहाडे बाहुनको संख्या नघटे पनि खासै बढेको देखिँदैन । बारामा ०५८ र ०६८ वीचको १० वर्षमा १ सय ३१ जनामात्रै पहाडे बाहुनहरुको संख्या बढेको देखिन्छ ।

पहाडे बाहुनहरु प्रदेश नं. २ मा उहिल्यैदेखि मधेसी समुदायसँग खासै घुलमिल भएर बस्न नसकेको देखिन्छ । अर्कोतिर उनीहरु मधेस आन्दोलनमा अत्यधिक प्रताडित भए । त्यसैले धनुषा र सप्तरीबाट ठूलो संख्यामा पहाडे बाहुनहरु बसाइँ सरेका छन् । यो पीडा पहाडे बाहुनको वर्चस्व रहेको एमालेभित्र गहिरोसँग गडेको बुझ्न सकिन्छ ।

कर्णालीभन्दा पछाडि

सामाजिक रुपमा मधेस निकै पछाडि छ । केही सूचकहरुले त यसलाई कर्णालीभन्दा पनि कमजोर देखाएका छन् ।

प्रदेश नं. २ मा लैङ्गकि असमानता अत्यधिक छ । दाइजोका नाममा, बोक्सीका नाममा, छुवाछुतका नाममा महिलाहरु प्रताडीत छन् । समग्रमा प्रदेश २ मा महिलाको स्थिति काहालिलाग्दो छ ।

यस प्रदेशका ८ वटा जिल्लामा महिलाको कुल असाक्षरता दर ४० प्रतिशतभन्दा केही बढी मात्रै छ । त्यति धेरै महिला असाक्षर दर त जनगणना ०६८ को तथ्यांक अनुसार नेपालका सबैभन्दा विकट जिल्लाहरु डोल्पा, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बझाङमा मात्रै थिए ।

अझ प्रदेश नं. २ मा अत्यधिक बसोबास गर्ने डोम र मुसहरको साक्षरता दर २० प्रतिशत हाराहारी छ । अर्कोतिर, ४० प्रतिशत भन्दा बढी संख्यामा मधेसी-दलितहरु गरिबीको रेखामुनि छन् । जब कि पहाडे बाहुनहरु त्यसको ४ गुणा कम, अर्थात १० प्रतिशत गरिबीको रेखामुनि छन् ।

बारा जिल्लामा ४० प्रतिशत महिला असाक्षर हुनु निश्चय नै उदेकलाग्दो वस्तुस्थिति हो । त्यसलाई आधार मान्ने हो भने नेपाललाई भोट लगाउने २० प्रतिशत मतदाता त असाक्षर छन् भन्ने बुझिन्छ ।

एमालेको गल्ती

पूर्वप्रधानमन्त्री केपी ओलीले मधेसको गतिविधिलाई व्यङ्ग गर्दै एकपटक भनेका थिए, छिमेकीहरुले छौंडा खेलाइरहेका छन् । यो भनाइ ओलीबाट संयोगवश फुत्किएको मात्रै नभएर वास्तविक चिन्तनकै अभिव्यक्ति थियो भन्ने अनुमान मधेसी, थारु, जनजाति समूहले लगाएका छन् । यद्दपि एकथरिका खसआर्यहरु भने यसबाट खुबै खुशी भए ।

संविधान बनाउने बेलामा पहिला संविधान जारी गरौं, पछि संशोधन गर्दै जानुपर्छ भन्ने अभिव्यक्ति आएको थियो । तर, हिजोआज पूर्वप्रधानमन्त्री केपी ओलीको टाउको दुखाइ प्रदेश नम्बर २ र प्रदेश नं ५ बनिरहेको छ ।

पूर्वप्रधानमन्त्री ओलीलाई कुनै पनि प्रदेशमा गैरखसआर्यको बाहुल्यता मन परेको छैन । वर्तमान संविधानमा ओली लगायतले सीमांकनको धर्सो खस आर्यलाई मात्रै हित हुने गरी कोरेकै हुन् । भलै उनीहरुले कसै गर्दा पनि प्रदेश नं २ मा त्यस्तो चित्र बनाउन भने सकेनन् ।

संविधान बनाउने बेलामा पर्साको ठोरी र तत्कालीन ६ प्रदेशमा खस आर्य समुदायलाई मर्का पर्ने कुरा उठ्यो । बिरोध कार्यक्रम भए । तत्कालै सीमांङकनको धर्सो जताजता भनिएको थियो, त्यतैत्यतै कुदाइयो ।

यसले के देखिन्छ भने ओली आफ्नो नश्लले उठाएको कुरा पूरा गर्न दुई मिनेट पनि ढीला गर्दैनन् । तुरुन्तै पूरा गरिदिन्छन् । तर, अरुले उठाएका मागहरुमा भने बिखण्डनको खतरा देखिहाल्छन् ।

हुन त अर्का एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि मधेसी समुदायप्रति उत्तिकै आक्रामक छन् । विश्लेषकहरु भन्छन् कि मधेसी आन्दोलकारीले माधव नेपालको घरमा ढुंगा हानिदिएपछि नेता नेपाल रुष्ट बनेका हुन् । हिजोआज उनी मधेसप्रति ओलीभन्दा बढी आक्रामक हुँदै गएको मधेसीहरुको बुझाइ छ ।

दुुई पूर्वप्रधानमन्त्रीहरु मधेसीप्रति अत्यन्त रुष्ट हुनु आम नेपालीका लागि शुभसंकेत होइन । त्यसले मुलुकलाई क्षति नै गर्छ । बरु, त्यस्तो अभिव्यक्ति दोस्रो तहका नेताहरुको भैदिएको भए, अन्यथा हुन्थेन ।

केही बुद्धिजीवीले त्यस्तो अभिव्यक्तिलाई ‘आची गर्नेलाई भन्दा देख्नेलाई लाज’ भनेजस्तै हो भन्ने ठम्याएका छन् । त्यो कतिसम्म सही हो, भोलिका दिनले देखाउला ।

मधेसबारे पढ्न जरुरी

एमालेसँग निकै ठूलो संख्यामा पढे लेखेकाहरुको जमात छ । विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, विद्यालयका शिक्षक कर्मचारी र सिंगै मुलुकको कर्मचारी तन्त्रमा एमाले समर्थकहरुको बाहुल्यता छ ।

त्यतिमात्र होइन, तमाम राष्ट्रिय स्तरको गैरसरकारी संस्थाहरु सञ्चालन गर्ने व्यक्तिहरु पनि एमालेकै बढी छन् । स्वास्थ्य, शिक्षा र सहकारीमा एमाले समर्थक अग्र पंक्तिमा छन् । नवधनाढ्यको रुझान एमालेप्रति बढेको बुझिन्छ ।

हिजोआज एमाले ०४८/५० साल ताकाको प्रमुख प्रतिपक्षी पार्टी मात्रै होइन, । पूर्वप्रधानमन्त्री सबैभन्दा बढी संख्यामा भएको पार्टी पनि एमाले नै हो । अनुभवका हिसाबले एमाले सबैभन्दा खारिएको पार्टी हो ।

तर, पनि एमालेमा मुलुकको विविधतालाई बुझ्ने र त्यसलाई आत्मसाथ गर्ने बुझाइ अत्यन्त न्यून देखिन्छ । कहिलेकाहीँ त कस्तो पनि देखिन्छ भने एमाले नेताका नजरमा मधेसी त नेपाली जनता नै होइनन् । मानांै, उनीहरु विहारबाट नेपाल कब्जा गर्न भारतले नियोजित रुपमा भर्खर-भर्खरै पठाएका हुन् ।

इतिहासमा प्रदेश नं २ मा अवस्थित मिथिला सभ्यता कस्तो थियो ? जनक वंशका राजाहरुका नालीबेली पौराणिक ग्रन्थहरुमा पढ्न पाइन्छ । हामी सबैले केही न केही मिथिला सभ्यताबारेे अवश्य पढेका छौं । एमालेका नेताहरुले पनि पढ्न जरुरी छ ।

यतिबेला पहाडे बाहुनहरु विशेषतः धनुषा र सप्तरीमा सहजले बस्न सक्ने अवस्था छैन । यसबारे थप अध्ययन-अनुसन्धान हुन जरुरी छ । त्यहाँ सबै जातजाति मिलेर बस्न सक्ने वातावरण बनिनु आवश्यक छ ।

तर, ‘छिमेकीले छौंडा खेलाएको’ भन्ने अभिव्यक्तिले यो समस्या समाधान हुँदैन । यस्ता अभिव्यक्तिले अझ तिक्तता बढाउँछ र थुप्रै सिके राउतहरु जन्मिन सक्छन् ।

प्रधानमन्त्री भइसकेका नेताले समाधानको उपाय सुझाउन पहल गर्नुपर्छ । विखण्डनकारी सोच बढ्ने प्रवृतिलाई किम्मार्थ प्रोत्साह गर्नुहुन्न । संघीयता खस आर्यको सुविधाका लागि मात्रै बनाउन अझै उद्धेलित हुनु राम्रो होइन । यो सत्य सबैले बुझ्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?