१७ फागुन, काठमाडौं । स्ववियु निर्वाचन स्थगित गरिएको विरोधमा काठमाडौंस्थित बानेश्वर बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेका छन् ।
क्याम्पस प्रशासनले स्ववियु निर्वाचन स्थगित गरेको सूचना टाँस गरेपछि त्यसको विरोधमा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले मंगलबार विहान क्याम्पस प्रशासनविरुद्ध चर्का नाराबाजी गरेका हुन् । विरोध प्रदर्शनका कारण क्याम्पस परिसर तनावग्रस्त बनेको छ ।
नेपाल विद्यार्थी संघको मिलेमतोमा क्याम्पस प्रशासनले एकलौटी ढंगले स्ववियु निर्वाचन स्थगित गरेको विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले आरोप लगाएका छन् ।
स्ववियु निर्वाचनमा हार्ने अवस्था भएपछि नेविसंघको मिलेमतोमा क्याम्पस प्रशासनले स्ववियु. निर्वाचन स्थगित गर्ने सूचना टाँस गरेकाले विरोधमा उत्रनु परेको अनेरास्ववियु बानेश्वर क्याम्पस इकाई कमिटीका पूर्वअध्यक्ष टिका सुवेदीले बताए । तत्काल निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता क्याम्पस प्रशासनबाट नआए कडा आन्दोलनमा जाने उनले चेतावनीसमेत दिए ।
अपि्रय घटना हुन नदिन बानेश्वर क्याम्पसमा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर कांग्रेस निकट नविसंघ, एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच झडप हुँदै आएको छ ।
त्रिभुवन विश्वविद्यालयले १८ गते स्ववियु निर्वाचन सम्पन्न गर्ने भनेपनि कतिपय क्याम्पसहरुमा मनोनयन दर्तासमेत हुन सकेको छैन ।
प्रतिक्रिया 4