१२ बैशाख, चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वबिद्यालय अन्तर्गत रामपुर कृषि क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबीच झडप हुँदा ३ जना विद्यार्थी घाइते भएका छन् ।
झडपमा बिएससीएजी पढ्ने अनेरास्ववियुका विद्यार्थीहरू चुडामणि पन्त, बिशाल मोदी र गोपाल थापा घाइते भएका हुन् ।
चुडामणि पन्तको दुबै खुट्टाको नलीहाडमा रडले हानिएको छ भने, मोदीको टाउकोमा चोट लागेको छ । उनीहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।
लाइब्रेरी, होस्टल र खाना खाँदै गर्दा बिभिन्न ठाउँमा विद्यार्थीहरूका वीचमा झडप भएको थियो ।
घटनाका बारेमा आफूलाई पूर्ण जानकारी नभएको विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले बताए ।
गत बैशाख ८ गते पनि दुई संगठनका वीचमा झडप भएको थियो । झडपमा क्रान्तिकारीका तीन र अनेरास्ववियुका तीनजना घाइते भएका थिए ।
नयाँ विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो ।
झडप पछि क्रान्तिकारीले डीनको कार्यालयमा लगाएको ताला आपसी वार्ता र छलफल पछि अब झगडा नगर्ने सहमतिमा हिजो सोमबार खुलेपनि मंगलबार फेरि झडप भएको हो । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया 4