+
+

ओलीको आरोप-सरकारले करोडौं पैसा र मन्त्री दिएर सांसद किन्न खोज्दैछ

'हेलिकोप्टर पठाउँदा पनि सांसद नआएपछि संसद बैठक सारेका हुन्'

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १७ गते १८:५८

१७ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षमाथि पैसा र उपप्रधानमन्त्री तथा मन्त्रीको प्रलोभन देखाएर सांसद किनबेचमा उत्रिएको आरोप लगाएका छन् । उनले पैसा र राज्यशक्तिको बलमा सरकारले दलहरु तोडफोड गर्न खोजेको दावी समेत गरे ।

एमाले संसदीय दलको आइतबार बोलाइएको विशेष बैठकलाई सम्बोधन गर्दै ओलीले सांसद किन्न नसक्दा र हेलिकोप्टर पठाएर खोज्दा पनि आफ्नै सांसद नभेटिएपछि संसद बैठक पर सारिएको बताए । ‘तपाई पार्टी छाड्नुस्, पार्टी फुटाउनुस्, मन्त्री बनाउँछु, तपाईलाई उपप्रधानमन्त्री बनाउँछु, यति करोड दिन्छु भन्ने प्रस्ताव राखिएका छन्’ उनले भने, ‘हामी प्रमाण पेश गर्न तयार छौं ।’

सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले सत्तापक्ष करोडौं रुपैयाँ र राज्यशक्ति दुरुपयोग गरेर सांसद खरिदविक्रीमा संलग्न रहेको आरोप लगाए । उनको प्रश्न थियो-सरकारले करोड-करोड रुपैयाँ दिन्छु भन्छ, कहाँबाट ल्यायो ? मन्त्री भनेको राज्यकोष हो, त्यो दिएर पार्टी तोडफोड गर्छु भन्नु भ्रष्टाचार हो । त्यसैले यो सरकार भ्रष्ट र अनैतिक सरकार हो । यसले मान्छेको इमान किन्न खोज्दैछ ।’

संसद बैठकअघि बसेको संसदीय दलको बैठकमा ओलीले हेलिकोप्टर पठाउँदा पनि सांसद फेला नपरेको र राप्रपाका देशभक्त सांसदहरुले राष्ट्रघातको मतियार बन्न नमानेको कारण बैठक केही दिन रोकिने संकेत गरेका थिए ।

स्वच्छ ढंगले मतदानबाट संविधान संशोधन बिधेयक टुंगो लगाउने अवस्था अब संसदमा नरहेको घोषणा गरे । ‘यति करोड दिन्छु पार्टी छाड भन्ने, पार्टी फुटाउन खोज्ने, मन्त्री दिन्छु भन्ने ?’ ओलीले भने, ‘पहिले सरकारले माफी माग्नुपर्छ अनिमात्र अरु कुरा हुन्छ । यस्ता अनैतिक सरकारसँग बसेर भोट गनेर चल्दैन । स्वच्छ ढंगले मतदान पनि हुन दिने भएनन् ।’

उनले अघि भने, ‘देशका विरुद्ध इमानमाथि हमला, नैतिकतामाथि हमला गर्ने अनैतिक भ्रष्ट सरकारले माफी नमागी अघि बढ्न सकिन्न ।’

एमाले अध्यक्ष ओलीले सांसदहरुलाई सत्तापक्षबाट दिइएको पलोभनको प्रमाण आफूसँग रहेको दाबी गरे । ‘उपप्रधानमन्त्री दिन्छु भनेको हो कि होइन ? यति करोड दिन्छु पार्टी छाड्नुस भनेको हो कि होइन ? हामी सरकारसँग प्रमाण पेश गर्छौं’ उनले भने, म हाम्रो माननीयजीहरुलाई भन्न चाहान्छु, हाम्रो माननीयलाई कसैलाई त्यो गरेको छ भने बताउनुस्, यो अनैतिक सरकारलाई धज्जी उडाउनुपर्छ ।’

आफूलाई बिभिन्न साना पार्टीका सांसदले प्रलोभन आएको बारेमा जानकारी गराएको ओलीले बताए । उनले उपप्रधानमन्त्रीको अफर कसलाई आएको भन्ने चाहिँ बैठकमा खुलाएनन् । तर, माले पार्टी फुटाउन खोजिएको बताए ।

सरकारले संविधान संशोधन बिधेयक, पारित गर्नका लागि नभई दलहरुबीच मतभेद बढाउन र चुनाव भाँड्नका लागि ल्याइएको आरोप लगाए ।

पास गर्ने उद्देश्यले ल्याएको भए प्रमुख प्रतिपक्षलाई थाहा नदिई दर्ता नहुने उनको तर्क छ ओलीले भने-सके लतारेर पास गर्ने, भएन भने नेपालको राजनीति बिथोल्ने नियत हो । उनीहरुले यो पास गर्न ल्याएकै होइनन् । पास गर्ने उद्देश्य भए ल्याउनुअघि हामीसँग छलफल हुने थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?