+
+

झापामा एमाले भर्सेस कांग्रेसः दुई केपीवीच जुँगाको लडाइँ !

'झर्ला र खाउँला' को रणनीतिमा माओवादी र राप्रपा

गौरव पोखरेल गौरव पोखरेल
२०७४ जेठ १७ गते ११:१४

१७ जेठ, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद (केपी) सिटौलाको गृह जिल्ला हो झापा । आफ्नो हितका कुनै समय भित्री साँठगाँठ गर्ने गरेका दुई केपीहरु यसपालिको स्थानीय चुनावमा भने आफ्नो दललाई जिल्लामा पहिलो बनाउने प्रतिष्ठाको लडाइँमा उत्रिएका छन् ।

जिल्लाका अधिकांश स्थानीय तहमा एमाले आन्तरिक अन्तरविरोधमा फसेको छ भने कांग्रेसले एमालेको कमजोरीबाट फाइदा उठाउने रणनीति बनाएको छ ।

दुई केपीहरुको गृहजिल्ला भएकाले झापा एमाले र कांग्रेस दुबैको प्रतिष्ठासँग जोडिएको ठाउँ हो । आसन्न स्थानीय निर्वाचनबाट झापामा आफ्नो पार्टीलाई पहिलो दल बनाउने होडबाजीमा कांग्रेस र एमाले दुबै लागिपरेका छन् ।

बैशाख ३१ गते सम्पन्न २८३ स्थानीय तहको चुनावमा थोरै सिटले पहिलो बनेको एमालेका लागि झापा निकै महत्व जिल्ला हो । २ नम्बर प्रदेशमा हुन सक्ने कमजोर उपस्थितिलाई झापाबाट शोधभर्ना गर्ने एमालेको लक्ष छ । तर, पछिल्लो समय झापामा नेकपा एमाले चर्को अन्तरविरोधमा फसेको छ । अबको तीन सातासम्म यही स्थिति रहेमा झापामै पहिलो दल बन्न एमालेका लागि चुनौतीपूर्ण हुने संकेतहरु देखिन थालेका छन् ।

तालमेलको सम्भावना, एमालेको अरुची

पहिलो चरणको निर्वाचनमा भएको तालमेलको नतिजाबाट दलहरु झस्किएका छन् । एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले केही दिनअघि बिर्तामोड आएर ‘तालमेलले हावा खाएको’ बताएका थिए । खासगरी भरतपुरमा कांग्रेस-माओवादी र काठमाण्डौंमा एमाले-राप्रपाबीच भएको तालमेलले दलहरु झस्किएका हुन् । तैपनि झापामा राप्रपा र माओवादीसँग तालमेल गर्ने ध्याउन्नमा कांग्रेस र एमाले नेताहरु देखिन्छन् । एमालेको आश राप्रपातिर छ भने कांग्रेसको आशा माओवादीतर्फ छ ।

झापाका दलहरुबीच तालमेल भइसकेको छैन । तर, तालमेलको सम्भावना भने अझै टरिसकेको छैन । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा भन्छन्, ‘पहिलो चरणको नतिजाबाट हामीले केही शिक्षा लिएका छौं । तर, तालमेलै हुँदैन भन्नेचाहिँ होइन ।’

थापाका अनुसार कांगे्रेससँग तालमेलका लागि झापामा अहिलेसम्म अवस्था बनिसकेको छैन । यद्यपि, तालमेल गर्ने जिम्मा स्थानीय तहलाई नै दिइएको छ ।

नेकपा एमाले भने झापामा कुनै दलसँग तालमेल गर्ने पक्षमा छैन । अघिल्लो चरणको निर्वाचनको नतिजाले तालमेलले काम गर्दैन भन्ने सन्देश दिइसकेको नेताहरुको बुझाई छ ।

एमालेका केन्द्रीय स्तरका नेताहरुले पनि सार्वजनिकरुपमै तालमेलले काम नगर्ने बताउँदै आएका छन् । एमालेका झापा इञ्चार्ज रविन कोइराला झापामा तालमेलको अवस्था दर्बिलो नभएको बताउँछन् ।

‘झापामा कांग्रेस र एमाले मुख्य प्रतिद्वन्द्वी हुन् । दुई पार्टीबीच तालमेलको सम्भावना नै छैन,’ कोइरालाले अनलाइनखबरसँग भने, ‘काङ्ग्रेसले हामीलाई खोज्दैन, हामी पनि काङ्ग्रेसलाई खोज्दैनौं ।’ यद्यपि, अन्य पार्टी (राप्रपा वा माओवादी) सँग भने तालमेल हुन सक्ने उनले संकेत गरे ।

तेस्रो ठूलो दल माओवादी नेपाली कांग्रेससँग तालमेल गर्ने पक्षमा रहेको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका झापा जिल्ला संयोजक मणि साम्पाङ राईले अनलाइनखबरसँग कुरा गर्दै नीति खुल्ला भएकाले तालमेल हुने सम्भावना रहेको बताउँछन् । ‘अहिलेसम्म ठोस छलफल भएको छैन, उनले भने, ‘तालमेलको ढोका भने खुल्लै छ ।’

उनीसँगको कुराकानीबाट माओवादीले कांग्रेससँग तालमेल गर्ने सम्भावना रहेको प्रष्ट बुझ्न सकिन्थ्यो । ‘सत्ता समीकरण र अभ्यासमा कांग्रेस र माओवादीको सहकार्य छ’, उनले भने, ‘सहजीकरण गर्दा कांग्रेस अन्य दलभन्दा सहज र उदार पनि छ ।’ उनले कांग्रेससँग आफूहरुको कार्यनीति पनि धेरै हदसम्म मिल्ने बताए ।

‘झर्ला र खाउँला’को रणनीतिमा माओवादी र राप्रपा

तेस्रो ठूलो दल माओवादी केन्द्र कांग्रेस र एमालेको मतलाई जसरी भए पनि काट्ने रणनीति लिएर चुनावी मैदानमा होमिएको छ ।

कांग्रेस र एमाले दुवैको प्रतिष्ठाको विषय भएकाले उनीहरुलाई झापामा कमजोर सावित गर्न माओवादीको हरसम्भव प्रयत्न रहनेछ । यसका लागि माओवादीले ‘भोट काट्ने’रणनीति लिएको छ । उसले धेरै ठाउँमा नेपाली कांग्रेससँग तालमेलका लागि वार्ता पनि गरिरहेको छ ।

राप्रपाले पनि आश गरेको ठाउँ

राप्रपाका लागि पनि झापा आशलाग्दो ठाउँ हो । केही केन्द्रीय स्तरका नेताहरुको बसोवास छ, यहाँ । राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन, सहायक महामन्त्री राम थापा र केन्द्रीय सदस्य भक्ति सिटौला लगायतको गृहजिल्ला हो, झापा ।

राप्रपा नेता राम थापा दमकको मेयरमा उठ्दैछन् भने सिटौला बिर्तामोड नगरपालिकामा मेयरका लागि प्रतिस्पर्धा गर्दैछन् । यी दुई नगरमा राप्रपाको उपस्थिति ‘राम्रै’ मानिन्छ ।

तीनवटा ठूला दलका लागि दमक र बिर्तामोडमा राप्रपा चुनौति बन्न सक्छ ।

राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले झापामा कुनै न कुनै पार्टीसँग तालमेल गर्न सक्ने सम्भावना रहेको सङ्केत गरे ।

‘अन्तिम समयसम्म तालमेलको सम्भावना रहन्छ,’ उनले भने, ‘स्थानीय आवश्यकता अनुसार तालमेल गरिनेछ ।’

स्रोतका अनुसार बिर्तामोड र भद्रपुरमा केही दलसँग तालमेल गर्नका लागि राप्रपाले लबिङ गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

झापामा एमालेका २ महिला उम्मेदवारको टिकट खोसियो

बिर्तामोडमा कार्यालय घेराउ, अर्जुनधारामा उम्मेदवार कुटिए

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?