+
+

गर्मीमा एयर कन्डिशनर प्रयोग गर्नुहुन्छ ? यी समस्या झेल्नुपर्ने हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १६ गते १२:१४

चर्को गर्मीमा वातानुकुलित कोठाको आवश्यकता महसुुस गरिन्छ । यसका निम्ति अहिले पङ्खा, कुलर, एयर कन्डिशनर जस्ता उपकरण प्रचलनमा छन् । यी उपकरण मार्फत आफ्नो आवश्यकता अनुसार उपयुक्त तापमान कायम राख्न सकिन्छ ।

एसीबाट कुलिङ मेशिनको माध्यमबाट हावा प्रवाह हुन्छ र कोठालाई शीतल बनाउँछ । यो उपकरणले गर्मीमा राहत त दिन्छ, तर स्वास्थ्यमा भने हानि गर्छ । निरन्तर लामो समय एसीमा बस्दा सामन्य रूपमा जोर्नी दुख्ने मात्र होइन, रक्तचापमा गडबडी समेत हुन सक्छ ।

एसीमा बसेर घर बाहिर निस्कँदा अचानक तापमान परिवर्तन हुन्छ, जसले बाह्य वातावरणसँग शरीरको तापमान समायोजन हुँदैन । यसरी अचानक तापमान परिवर्तन हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न सक्छ ।

टाउको दुख्ने

कार्यालयमा एयर कन्डिशनरमा काम गर्ने व्यक्तिले टाउको दुखेको अनुभव गर्छन् । एकदमै कम तापमानमा बस्दा यस्तो समस्या हुन्छ ।

आँखामा समस्या

एसीको शुष्क हावाले आँखालाई नराम्ररी प्रभावित गर्छ । यसले गर्दा आँखा चिलाउने, जलन हुने समस्या देखापर्छ । एसीले कन्जक्टिवाइटिस, ब्लेफेराइटिस बढ्ने भय पनि हुन्छ ।

ज्वरो एवं थकान

लामो समयसम्म एसीमा बस्दा निरन्तर हल्का ज्वरो आउन सक्छ, थकान महसुस हुन सक्छ । त्यति मात्र होइन, यसको तापमान धेरै कम गर्दा टाउको दुख्न सक्छ र बेचैन महसुस पनि हुन्छ ।

जोर्नीमा दुखाइ

एसीमा बस्दा जोर्नीको समस्या झेल्नुपर्ने हुन्छ । लगातार लामो समय एसीमा बसेपछि शरीरका जोर्नी चलाउन गाह्रो हुन्छ, साथसाथै पीडा पनि हुन्छ । यो क्रम निरन्तर जारी रहेमा हड्डी सम्बन्धी समस्या देखापर्न सक्छ ।

मोटोपन

एसीमा बस्दा मोटोपन बढ्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, याे कुरा सत्य हाे । तापमान कम हुँदा हाम्रो शरीर अधिक सक्रिय हुन पाउँदैन र शरीरको उर्जा  राम्ररी उपयोग हुन पाउँदैन । यसले मोटोपन बढाउँछ ।

छालाको समस्या

एसीको दुष्प्रभाव छालामा पनि देखिन्छ । यसले छालाको प्राकृतिक ओसिलोपन नष्ट गरिदिन्छ । जसले गर्दा छाला रुखो हुन्छ ।

रक्तसञ्चारमा समस्या

एसीमा बस्दा शारीरिक तापमान कृत्रिम रुपले ज्यादै कम हुन्छ, जसले कोषिकामा संकुचन हुन्छ । त्यसबाट सबै अंगमा रक्तसञ्चार सही ढंगले हुन पाउँदैन ।

मस्तिष्कमा असर

एसीको तापमान एकदमै कम हुँदा मस्तिष्कको कोषिका पनि संकुचित हुन्छ । यसले मस्तिष्कको क्षमता र क्रियाशीलता प्रभावित हुन्छ । यसले गर्दा निरन्तर रिँगटा लाग्न सक्छ ।

के छ जोगिने उपाय ?

– आँखामा समस्या देखा परेमा ओमेगा ३ एसिडको प्रयोग गरौं । आँखा सफा पानीले धुनुपर्छ । केही अन्तरालमा आँखा झिम्काइरहनुपर्छ ।

– मोटोपनबाट बच्न एकै स्थानमा लामो समय नबस्ने । कार्यालयमा बस्दा पनि सक्रिय रहने । सानोतिनो काम आफैं गर्ने, जसले शारीरिक गतिविधि बढाउँछ । बेलाबेला उठ्ने, तन्कने र हिँड्ने गरौं ।

– टाउको दुखाइबाट बच्न लामो समय एसीमा नबस्ने । बेला-बेला बार्दली वा बगैंचामा टहल्ने । टाउकोलाई न्यानो बनाउन टोपीको प्रयोग गर्न सकिन्छ ।

– जोर्नीको दुखाइबाट बच्न लामो समयसम्म नबस्ने । जहाँ दुख्छ, त्यो हिस्सालाई निरन्तर चलाइरहने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?