२२ असार, सिक्किम । नेपालमा नाकाबन्दी लगाएर बदनामी कमाएको भारतले आफ्नै देशको सिक्किम र दार्जीलिङका पहाडमा खाद्यान्न पठाउन रोक लगाएर नाकाबन्दी सुरु गरेको छ । नाकाबन्दीका कारण सिक्किममा भारतविरोधी भावना बढ्न थालेको छ ।
आफ्नै राज्यका बासिन्दामाथि दैनिक उपभोग्य सामाग्रीमाथि नाकाबन्दी लगाएर भोकै पार्न थालिएपछि सिक्किममा मुख्यमन्त्री पवन चाम्लिङसमेत आक्रोशित भएका छन् ।
मुख्यमन्त्री चाम्लिङले स्याडवीच हुनका लागि सिक्किम भारतमा गाभिएको होइन भन्दै आफूहरुमाथि भारतले पेल्ने काम गरिरहेको गुनासो गरेका छन् ।
बुधबार नाम्चीको चिसोपानीमा मुख्यमन्त्री पवन चाम्लिङले एएटा कार्यक्रमलाई सम्वोधन गर्नेक्रममा भारतीय नाकाबन्दीको चर्को विरोध गरे ।
उत्तरी सीमानामा चिनियाँ चलखेल अनि दक्षिणको सिलिगुढीमा सिक्किमका सवारी साधनमाथि तोलडोड गरिएको भन्दै चाम्लिङले आफूहरु दोहोरो मारमा परेको बताए । सिक्किम यसरी स्याण्डविच हुनका लागि भारतमा नगाभिएको मुख्यमन्त्री चाम्लिङले बताए ।
उनले भने- ‘चाइना र बंगालवीच स्याण्डविच हुनका लागि हामीले सिक्किम भारतमा गाभेका होइनौं ।’
भारतीय नाकाबन्दीको विरोध गर्दै मुख्यमन्त्री चाम्लिङले कार्यक्रममा भने- ‘हामी भारतको संघीय व्यवस्थाभित्र छौं । सिक्किम भारतको २२ औं राज्य हो । हामीले सिक्किमलाई भारतमा गाभेर देशभक्ति देखाएका हौं । माथि चीन बोर्डरमा लडाइँ हुने आशंका छ । त्यहाँबाट पनि हामीलाई डर छ । तलबाट हामीलाई चामलै आउन नदिने । उताबाट पनि हामीलाई चेप्दैछ ।’
मुख्यमन्त्री चाम्लिङले सार्वजनिकरुपमा प्रश्न गरे- ‘के हामी इण्डियन होइनौं ? के यो देशमा हामीलाई बाँच्ने हक छैन ? सीमानामा हामीले विना तलवको सिपाहीजस्तो भएर देशको रक्षा गरेर बसेका छौं । हाम्रो कति ठूलो योगदान छ यो देशको लागि ?’
पश्चिम बंगलाले विगत ३० वर्षदेखि पहाडको बाटो थुन्ने प्रयास गर्दै आएको मुख्यमन्त्री चाम्लिङले गुनासो गरे । भारतीय नाकाबन्दीले सिक्किमको पर्यटन व्यवसाय प्रभावित भएको, सवारीसाधनहरु नचलेको र रासन पानीको समेत अभाव हुन थालेको भन्दै मुख्यमन्त्रीले सिक्किमे जनतालाई भने- ‘तपाईहरु चिन्ता नगर्नोस, तपाईहरुलाई हामी भोकै राख्ने छैनौं । भारत सरकारसित कुरा गर्छौं ।’
फलाम र सिमेन्ट खुल्ला, चामलमा नाकाबन्दी
भारतले दार्जीलिङ र सिक्किमका पहाडमा सिमेन्ट, फलामका रड आदि सामाग्रीहरु पठाए पनि खाद्यान्नको ढुवानीमा नाकाबन्दी लगाएको छ ।
खाद्यान्न रोकेर भोकै मार्न खोजेको भन्दै पहाडका जनता आक्रोशित हु्न थालेका छन् । प्रहरी प्रशासनले सिलिगुढीबाट दार्जीलिङ, सिक्किम लगायतका पहाडतर्फ जाने सडकमा ब्यारिकेट लगाएर सवारी साधनहरु रोकेको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।
प्रहरीले मंगलबारदेखि यसरी खाद्यान्न ढुवानीमा प्रतिबन्ध लगाएको हो । सिमेन्ट, रड र ईंटाको ढुवानीमा रोक नलगाइएको तर खाद्यान्न बोकेका गाडीहरु छिर्न नदिइएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
खाद्यान्न बोकेर सिक्किमतिर लागेका केही सवारी साधनलाई सिलिगुडी प्रहरीले बाटैबाट फकाईदिएका छन् ।
नाकाबन्दीको सर्वत्र विरोध
पश्चिम बंगाल सरकारले गरेको नाकाबन्दीको सर्वत्र विरोध भएको छ । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङदेखि पश्चिम बंगालका कम्युनिष्ट नेताहरुले समेत नाकाबन्दीको विरोध गरेका छन् ।
दार्जीलिङका प्रायः सबै राजनीतिक पार्टीहरुले नाकाबन्दीको विारेध गर्दै यसलाई मानवताविरोधी कार्य भनेका छन् ।
-हिमालय दर्पणको सहयोगमा
प्रतिक्रिया 4