३२ साउन, काठमाडौं । तीज आउनै लागेका बेलाबजारमा फलफूलको अभाव खड्किएको छ । अहिले काठमाडौं उपत्यकामा फलफूल किन्न खोज्ने उपभोक्ताले चाहेजति फलफूल किन्न पाएका छैनन् । बजारमा पाइने फलफूलको पनि मूल्य आकाशिएको छ ।
काठमाडौंमा उपभोक्ताको मागबमोजिम फलफूलको आपूर्ति दिन नसकिएकोे व्यवसायीहरूले नै बताएका छन् । व्यवसायीहरूका अनुसार उत्पादनको कमीका साथै बाढी-पहिरोका कारण आपूर्तिमा कठिनाइ हुँदा बजारमा फलफूलको अभाव खड्किएको हो । भारतबाट आउने फलफूल पनि राजधानीमा आउन सकेको छैन ।
५० ट्रक आउने ठाउँमा ३/४ ट्रकमात्रै
नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका अनुसार अहिले उपत्यकामा दैनिक ३/४ ट्रक मात्रै फलफूल भित्रिन्छ । सामान्य अवस्थामा उपत्यकामा दैनिक ५० ट्रक फलफूल भित्रिने गरेको संघका उपाध्यक्ष रुद्रबहादुर पाठकले बताए ।
‘अहिले हामीलाई बजारबाटै फलफूलको अभाव भएको गुनासो आउन थालेको छ,’ पाठकले अनलाइनखबरसँग भने । फलफूलको अभाव भएकै समयमा उपभोक्ताले बढी फलफूल खरिद गर्न खोज्दा माग धान्न नसकेको संघ बताउँछ । सदाबहार नै बढी उपभोग गरिने केरा, स्याउ, आँप लगायतका फलफूलकै माग धान्न व्यवसायीलाइै धौधौ भएको संघ बताउँछ ।
पछिल्लो समय फलफूल उपभोग गर्ने उपभोक्ताको संख्यामा पनि बढोत्तरी आएको व्यवसायी बताउँछन् ।
मौसमी फलफूलकै अभाव
अहिले उपत्यकामा मौसमी फलफूलकै अभाव देखिएको छ । वषर्ा मौसममा उत्पादन हुने आँप, भुइँकटहर, नास्पाती, अनार लगायतका फलफूल पनि बजारमा कममात्रामा उपलब्ध हुन थालेको छ ।
साउनको समयमा धेरै मानिस ब्रत बस्ने र त्यसले फलफूलको माग बढाएका कारण पनि अभाव बढाएको संघको भनाइ छ । यही अवस्था कायम रहे आशन्न तीजमा फलफूलको माग धान्न गाह्रो हुने संघ बताउँछ ।
बाढी -पहिरोको प्रभाव
हालैका दिनमा तराई क्षेत्रमा आएको बाढी प्रकोपका कारण फलफूल आपूर्तिमा असर परेको व्यवसायी बताउँछन् । बाढीका कारण फलफूल ढुवानी गर्ने गाडी बाटैमा फसेका उनीहरूको भनाइ छ । ‘तराई तथा भारतबाट आउने फलफूलका गाडी बाढी -पहिरोका कारण बाटोमा रोकिएका छन्,’ संघका उपाध्यक्ष पाठकले भने, ‘फलफूल लोड गरिएका अधिकांश गाडी बाटैमा रोकिँदा अभाव खड्किएको हो ।’ राजमार्ग अवरुद्ध हुँदा कतिपय फलफूल गाडीमै कुहिएका व्यवसायी बताउँछन् ।
अहिले उपत्यकामा भित्रिने फलफूलमा भारतबाट आयात हुने फलफूलको हिस्सा झण्डै ८० प्रतिशत रहेको व्यवसायीको भनाइ छ ।
बढ्यो महंगी
मागबमोजिमको आपूर्ति नहुँदा अहिले बजारमा फलफूलको मूल्य बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार अघिल्लो सातासम्म १ सय ५ रुपैयाँ प्रतिकिलो खुद्रा विक्री भएको भुइँकटहरको मूल्य अहिले १ सय १५ रुपैयाँ पुगेको छ । त्यस्तै, अघिल्लो साता ८५ रुपैयाँ प्रतिदर्जन मूल्य रहेको केराको भाउ अहिले ९५ रुपैयाँ पुगेको छ ।
अघिल्लो साता १ सय २५ रुपैयाँ प्रतिकिलो मौसमको मूल्य अहिले १ सय ३५ रुपैयाँ पुगेको छ । त्यस्तै, अघिल्लो साता ७५ रुपैयाँ प्रतिकिलो मूल्य रहेको मेवा अहिले ८५ रुपैयाँ पुगेको छ ।
व्यवसायीका अनुसार महंगै मूल्य तिर्ने उपभोक्ताले पनि चाहेअनुसार फलफूल पाउन सकेका छैनन् ।
प्रतिक्रिया 4