२० भदौ, रामेछाप । रामेछाप जिल्लाका प्रहरी प्रमुख डिएसपी कुमोध ढुंगेललाई नागरिक स्तरबाट सम्मान गरिएको छ । मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा मावनअधिकार संरक्षण सञ्जाल रामेछापले ढुंगेललाई सम्मानित गरेको हो ।
ढुंगेललाई रामेछाप जिल्लामा अपराध नियन्त्रण तथा गम्भीर प्रकृतिका अपराधका घटना अनुसन्धान तथा लुकेर बसेका आरोपीहरुलाई पक्राउ गरी कानुनको दायरामा ल्याउन सफल भएकोमा सञ्जालले सम्मानित गरेको हो ।
रामेछाप जिल्लामा मानवअधिकारको क्षेत्रमा क्रियाशील १९ वटा संस्था र त्यसमा आवद्ध अधिकारकर्मीहरुको साझा सञ्जालको तर्फबाट प्रदान गरिएको सम्मानपत्रमा जिल्लामा मानवअधिकारको संरक्षण, संवर्धन र प्रवर्धनको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ ।
सम्मानित व्यक्तित्वलाई सञ्जालका तर्फबाट जिल्ला समन्वय समिति रामेछाका प्रमुख प्रेमबहादुर खड्काले दोसल्ला वढाएका थिए । त्यस्तै सञ्जालका संयोजक पाण्डव प्रसाईँले सम्मानपत्र प्रदान गरेका थिए भने सञ्जाल सदस्य खड्गबहादुर आलेमगरले नेपाली ढाका टोपी वढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख खड्काले मान्छेको इच्छाशक्ति भए अपराध नियन्त्रणमा धेरै काम गर्ने सकिने कुरा ढुंगेलले प्रमाणित गरिदएको बताए । उनले केहि यस्ता आँट र कार्यकुशलता भएका व्यक्तिहरु भए नागरिकहरुले परिवर्तनको महशुस गर्ने बताए ।
सम्मान कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले ढुंगेलको कार्यशैली प्रशंसायोग्य भएको बताए । उनले सञ्जालले सही मान्छेलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे ।
ढुंगेलले रामेछाप जिल्लामा आएपछि गम्भिर प्रकृतिका अपराधाका घटनामा संलग्नलाई पक्राउ गरी कानुनी दायरमा ल्याउन सफल भएका छन् । ढुंगेलले रामेछापको चर्चत सुन्तली हत्याकाण्ड, गाडीभत्रै राखि ड्राइभलाई जलाएको काण्ड लगायतका घटनाको अनुसन्धान र आरोपीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएका थिए ।
प्रतिक्रिया 4