 
																			६ असोज, गोरखा । गत साउन २३ गते गोरखा नगरपालिका–५ रोहटेपानीमा ७५ वर्षीया रत्नकुमारी मग्रातीको घाँटीबाटै सुनको सिक्री लुटियो ।
साँझ अन्दाजी पाँच बजे कालो स्कुटरमा आएका दुई युवक सिक्री लुटेर फरार भए । बाटोमा हिँडिरहेकी उनले मास्क लगाएर आएका ती युवकको न पहिचान गर्न सकिन् न स्कुटर नम्बर याद गर्न ।
गत भदौ २३ गते फेरी त्यही किसिमको घटना दोहोरियो । साँझ पाँच बजेतिर सदरमुकामको छहरेस्थित बालमन्दिर माध्यमिक विद्यालय क्षेत्रमा बाख्रा चराइरहेकी दाउरी माया रानाले लगाएको सुनको सिक्री घाँटीबाटै लुटियो । मास्क लगाएर कालो स्कुटरमा आएका दुई युवक सिक्री लुटेर फरार भए ।
दिनदहाडै उही प्रकृतिको घटना दोहोरिन थालेपछि प्रहरीले बिशेष सुरक्षा रणनीति अपनाउँदै चोरीमा संलग्नको खोजी कार्यलाई तीव्रता दियो । छुट्टै अनुसन्धान टोली गठन गरि परिचालन गर्यो । अन्ततः सिक्री लुटेराहरु समात्न प्रहरी सफल भयो ।
लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको शहिद लखन गाउँपलिका–९ नाम्जुङका ३८ बर्षीय सुनिल बिक र ललितपुर उपमहानगरपालिका–१६ का ३७ बर्षीय शैलेश ताम्राकार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
शनिबारर गोरखा नगरपालिकाको लक्ष्मीबजारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।
‘हामीले त्यो नम्बरको स्कुटरलाई निगरानीमा राखेका थियौं’, उनले भने, ‘त्यो दिनपनि त्यही नम्बरको स्कुटरमा त्यही हुलिया भएका दुई जना युवक गोरखा प्रवेश गरेको सूचना पायौं, चारैतिरबाट घेरा हालेर पक्राउ गर्न सफल भयौ ।’
लुटपाटको घटनामा उनीहरु संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको डीएसपी श्रेष्ठले जानकारी दिए । उनीहरुको साथबाट लुटपाट गर्दा प्रयोग भएको कपडा र स्कुटर समेत बरामद गरिएको उनले बताए ।
उनीहरु विरुद्ध प्रहरीले चोरी सम्बन्धी कसुर शीर्षकमा अनुसन्धान गरिरहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4