+

बार्सिलोनासँग इनिएष्टाले गरे आजीवन सम्झौता

२०७४ असोज  २० गते १६:२५ २०७४ असोज २० गते १६:२५
बार्सिलोनासँग इनिएष्टाले गरे आजीवन सम्झौता

२० असोज, काठमाडौं । बार्सिलोनाका सुपरस्टार आन्द्रेस इनिएष्टाले क्लवसँग आजीवन सम्झौता गरेका छन् । ३३ वर्षीय भेट्रान मिडफिल्डर आजीवन क्लवमा बस्ने गरी नयाँ सम्झौता भएको बार्सिलोनाले पुष्टि गरेको छ ।

बार्सिलोनाबाट खेलिरहेका खेलाडीमध्ये इनिएष्टा एकमात्र हुन्, जसले ८ पटक लालिगा र ४ पटक च्याम्पियन्स लिग जितेका छन् ।

उनले २ पटक युरोकप र एक पटक विश्वकप उपाधि जितेका छन् । सन् २०१० को विश्वकपको फाइनलमा उनकै गोलको सहयोगमा स्पेनले उपाधि जितेको थियो ।

बार्सिलोनाले हृयासट्याग ‘#ForeverIniesta’ उल्लेख गरी सामाजिक सञ्जालमा नयाँ सम्झौता सार्वजनिक गरेको छ । साथै उनको सम्मानमा एउटा लामो भिडियो पनि जारी गरेको छ ।

बार्सिलोनाका अहिलेका कप्तान इनिएष्टा जाभीपछि क्लवका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । जाभीले बार्सिलोनाका लागि ६३९ खेल खेलेका छन् । इनिएष्टा उनीभन्दा १२८ खेलले पछाडि छन् ।

उनी अहिले पनि स्पेनको राष्ट्रिय टोलीका सदस्य छन् । तर, अहिले उनी चोटका कारण टिमबाट बाहिर छन् । उनले स्पेनबाट १२१ क्याप जितेका छन् र १३ गोल गरेका छन् ।

५.७ इन्च अग्ला इनिएष्टा बार्सिलोनाका गोल्डेन जेनेरेसनका सदस्य हुन् । उनी १२ बर्षको हुँदा बार्सिलोनामा आबद्ध भएका थिए र ला मासियाको उत्पादनको रुपमा विश्वभर लोकपि्रय रहे ।

लियोनल मेस्सी, जाभी र थुप्रै अन्य खेलाडीहरुसँगै उनी क्लवले प्रमुख २० ट्रफी जित्दा टिमका प्रमुख खेलाडी थिए । पछिल्लो ११ वर्षमा बार्सिलोनाले तीन पटक एकै सिजनको तीन प्रमुख उपाधी जितेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय