काठमाडौं । बिसं १९९६ असोजमा जन्मेका नारायणगोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । प्रसिद्ध गायक नारायण गोपाललाई नेपाल सरकारले स्वर सम्राटको उपाधि दिएको थियो । सयौं गीतमा स्वर संगीत दिएका नारायण गोपालले नेपाली संगीतलाई उचाइमा पुर्याउन निर्वाह गरेको भूमिका अहिले पनि स्मरणीय छ । नयाँदेखि पुराना संगीतकर्मीलाई समेत मायालु ब्यबहार गर्ने नारायण गोपालवारे संगीतकार
आलोकश्रीको स्मृतिः
रेडियो नेपाल अगाडी एउटा पोखरी थियो । नारायण गोपाल रोडियो नेपाल पुगेपछि केही समय पोखरीको छेउमा गएर बस्थे । जब नारायण गोपाल पोखरीको डिलमा पुग्थे । आलोकश्री उनकै छेउँमा गएर बसिरहन्थे । नारायण गोपाल मौन हुन्थे । केही बोल्दैन थिए । उनको स्वभावै त्यस्तै थियो । सार्है थोरै बोल्ने । १५ मिनेटपछि आलोकश्रीलाई भन्थे ‘जा केटा चिया लिएर आइज ।’
रेडियो नेपालको क्यान्टिनमा गएर एककप चिया ल्याउथे । एक कप मात्रै चिया देखेपछि सोध्थे ‘तलाई खै त ।’ आलोकश्री भन्थे ‘दाई मैले पैसा तिरिसकेको छु ।’ नारायण गोपाल भन्थे ‘तैले पैसा तिर्न पर्दैन मेरो खाता छ । जा तँलाई पनि चिया लिएर आइज ।’ फेरि जान्थे र अर्को कप चिया ल्याउथे र नारायण गोपालको छेउमै बसेर चिया पिउथे ।
चिया खाइसकेपछि पनि केही बोल्दैन थिए नारायण गोपाल । चुरोट पिउँदै रेडियो नेपालतीर लाग्थे । लगभग ३ महिनासम्म त्यही रित चल्यो । तीन महिनापछि गाउँमा आलोकश्रीको भाइको निधन भयो । उनी गाउँ गए । डेढ महिनासम्म काठमाडौ आएनन् ।
डेढ महिनापछि रेडियो नेपाल पुग्ने बित्तिकै त्यहाँका परिचित कर्मचारीले सोधेछन् ‘ओए तँ कहाँ गएको थिइस् नारायणगोपाल दाइले सोध्दै हुनुहुन्थ्यो ।
के खोज्छस् कानो आँखो भैहाल्यो आलोकश्रीलाई । हतार हतार नारायण गोपाललाई भेटन पुगे । नारायण गोपालले सोधे ‘कहाँ हराइस् ।’ भाइको निधन भएकाले गाउँ गएको कुरा गरे । कुरा सुन्ने बित्तिकै नारायण गोपालले एकसय रुपैंया झिकेर दिए ।
पहिला गीतकार थिए
संगीतकार हुनु अघि गीतकार थिए आलोकश्री । डायरीमा गीत लेख्थे र संगीतकार भएको ठाउँमा पुग्थे अनि आफ्नो डायरीमा भएका गीतका हरफ देखाउथे ।
गीतका शब्द हेरिसकेपछि संगीतकारले भन्थे ‘भाइ यो त ठिक छैन ।’ त्यही वेलामा रेडियो नेपालका संगीतकार कमल परियारसंग भेट भयो अनि उनले सोधे ‘दाई यो संगीत भनेको के हो ?’
उनले भने धुन बनाउने हो । उनलाई लाग्यो । धुन त म बनाइहाल्छु नि ।’ घर आएपछि उनको दिमाग धुन कसरी बनाउने भन्नेमै केन्दि्रत थियो ।
एउटा हारमुनियम उनीसँग पहिल्यै थियो । १४ सयमा पुरानो हारमुनियम किनेका थिए । त्यो यति पुरानो थियो । एकतिर बजाउदा अर्कोतिर फुस्कन्थ्यो ।
ललितपुरको कुमारीपाटीमा छिँडीको कोठामा बस्थे । गाना बजाना घरबेटीलाई मन पर्दैन थियो । हारमुनियम बजाउनु अघि झ्याल ढोका पुरै बन्द गरेर बजाउथे । त्यहि क्रममा उनको भेट भयो पूर्ण परियारसंग । परियारलाई भने ‘दाइ म पनि संगीतकार बन्न पर्यो ।’ परियारले भने पाँचसात सय खर्च गर्न पर्छ भैहाल्छ नि ।’ भरत बम्जनको गीतमा आलोकश्रीले संगीत दिए अनि गीत रेकडिङ गराए तीमी जति टाढा भएपनि …। ४५ सय रुपैया पारिश्रमिक पाए ।
नातीकाजीलाई तीन चक्कर
नातीकाजी श्रेष्ठ रेडियो नेपालका चल्तापूर्जा पात्र थिए । रेडियोमा डेट मिलाउनका लागि उनैलाई भेट्नु पथ्र्यो । नयाँ गायक गायिका संगीतकारले सिधै गएर भन्न सक्दैन थिए । आलोकश्रीको पनि पारा त्यहि थियो । नातीकाजी भएको ठाउँमा पुगेर तीन चार चक्कर लगाउथे । अनि बुढाले सोध्थे ‘के भयो ?’ दाइ मलाई डेट चाहियो ? आलोकश्रीको कुरा सुनेपछि भन्थे ‘मलाई हैन तल गएर भेट ।’
डेट मिलाउने कोठामा गयो कसैले वास्तै नगर्ने । बल्ल बल्ल डेट पायो त्यहि डेटमा पनि अर्कैले गाइदिन्थे । आलोक भन्छन् ‘नयाँ गायक गायिकाका लागि रेडियो नेपाल निकै अप्ठयारो थियो । बल्ल बल्ल डेट पायो अर्कैले गाइदिन्थ्यो ।’
प्रतिक्रिया 4