९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चुनाव अघिसम्म पार्टी नेतृृत्व मात्रै होइन, प्रधानमन्त्रीकै सम्भावित दाबेदार थिए । स्थानीय चुनावमा कांग्रेस दोस्रो भएपछि आम चुनावको सम्भावित ‘ड्यामेज कन्ट्रोल’ का लागि पौडेललाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्ने मत पनि झिनोरुपमा उठेको थियो ।
तर, प्रतिनिधिसभा चुनाव हारेसँगै पौडेलको राजनीतिक करियर विश्रामउन्मूख देखिन थालेको छ । कांग्रेसमा एकातिर शेरबहादुर देउवाको विकल्प खोजिँदैछ भने अर्कोतिर राजचन्द्र पौडेल क्रमशः छेउ लाग्दै गइरहेका छन् ।
पौडेल तिनै नेता हुन्, जसलाई अहिलेसम्म कांग्रेस कार्यकर्ता र जनताले समेत ‘भ्रष्ट नेता’ भनिहालेका छैनन् । कांग्रेसभित्र सादगी एवं सरल व्यक्तिको पहिचान बनाएका नेता हुन् पौडेल ।
तर, फागुन ०७२ मा पार्टी सभापति र मंसिर ०७४ मा प्रतिनिधिसभा चुनाव हारेपछि पौडेलको ‘करिअर’मा ‘ल अफ डिमिनिसिङ रिटर्न्स ‘ लागू हुने देखिएको छ ।
पौडेलसँग अब फेरि उठ्ने, कांग्रेसलाई बनाउने र आफैं रिभाइभ गर्ने टाइम छैन । उनलाई समयले पनि विश्राम दिन दबाब दिएको छ
अर्थशास्त्रमा यो आधारभूत सिद्धान्तले भन्छ कि कुनै पनि व्यवसायमा सुरुवाति लगानीमा जति प्रतिफल आउँछ, निश्चित समयसीमा पछि लगानी थप्दा प्रतिफलमा सोही अनुपातको बृद्धि हुँदैन । अझ केही समयपछि त उत्पादनमै ह्रास आउँछ ।’
हो, कांग्रेसमा पौडेलको अवस्था यस्तै भएको छ । गिरिजाप्रसाद, सुशील कोइराला हुँदासम्म उनी भावि नेतृत्वका दाबेदार थिए । सुशील कोइरालाको निधनपछि उनी तत्कालीन संस्थापन गुटको नेता बने तर, पार्टी सभापतिको चुनाव हारे ।
यदि यो चुनाव जितेको भए कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोजिरहँदा उनी उपयुक्त विकल्प बन्न सक्थे । तर, यो हारले उनलाई देउवाको विकल्पका रुपमा उभिने बाटो लगभग बन्द गरिदिएको छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘पौडेलसँग अब फेरि उठ्ने, कांग्रेसलाई बनाउने र आफैं रिभाइभ गर्ने टाइम छैन । उनलाई समयले पनि विश्राम दिन दबाब दिएको छ । उनले यो पदचाप बुझ्छन् कि बुझ्दैनन्, थाहा छैन ।’
कांग्रेसको होइन, गुटको नेता बन्न पनि गाह्रो
सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेल सहजरुपमा तत्कालीन संस्थापन समूहको नेता बनेका थिए । भलै, केही आंकाक्षी थिए र उनीहरुमध्ये एक कृष्ण सिटौलाले अर्को समूह बनाउने प्रयास गरे । तर, पौडेल सहजै कोइराला गुटको नेता बने ।
तत्कालीन संस्थापन समूहले पौडेललाई सभापतिको उम्मेदवार पनि बनाएको थियो । तर, आफ्नो टिमको महामन्त्री र कोषाध्यक्ष जित्दा पनि पौडेलले जितेनन् ।
अहिले आम चुनाव हारेपछि भने अब पौडेल पार्टी सभापति होइन, गुटको नेता बन्न पनि गाह्रो देखिएको छ ।
पौडेलको समूहबाट महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनाव जितेका छन् । तर, वीपीपुत्र शशांकले चुनावअघि नै आफूलाई देउवा र पौडेलसँगै प्रधानमन्त्री र पार्टी सभापतिको दावेदारका रुपमा प्रस्तुत गरिसकेका छन् । निकै संघर्षका बीच चुनाव जितेका गणेशमान पुत्र प्रकाशमान पनि आफैं नेतृत्वका आकांक्षी हुन् ।
चुनावी हारपछि कांग्रेसमा अहिले विशेष महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरणको माग उठेको छ । यो सुनुवाइ हुन्छ कि हुँदैन, अहिले नै भन्ने अवस्था छैन ।
यदि नियमित समयमा कांग्रेसको महाधिवेशन हुने हो भने रामचन्द्र पौडेलले अझै ३ वर्ष पर्खिनुपर्छ । संसदीय चुनावका लागि त नेता पौडेलले अझै ५ वर्ष कुर्नुपर्ने हुन्छ ।
जब कि त्यसबेलासम्म कांग्रेसभित्रको डाइनामिक्स धेरै परिर्वतन भइसक्नेमा कुनै शंका छैन । अर्कातिर नेता पौडेलको उमेर पनि त्यसबेला ७७/७८ वर्षतिर हुनेछ ।
फेरि पनि राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘रामचन्द्रजीले फेरि पार्टी सभापतिका लागि पहल गर्लान् तर, उनका लागि समय सिद्धिएको जस्तो मान्छु ।’
तनहुँमा पौडेल हार्नुको कारण
कांग्रेस नेता पौडेलको राजनीतिमा धक्का लाग्नुको प्रमुख कारण चाहिँ अहिलेको प्रतिनिधिसभामा उनले व्यहोरेको हार नै हो ।
पौडेलको हारका धेरै कारण छन्, जसमा उनी आफैं पनि हुन् । कांग्रेसका एक नेता भन्छन्, ‘दोहोर्याएर चुनाव जित्ने कुरा आफैंमा चुनौतीपूर्ण हो । त्यसमाथि उहाँले लगातार चार पटक चुनाव जितेका असन्तुष्टि बढी नै थियो ।’
०४८ देखि लगातार चुनाव जित्दै आएका पौडेललाई योपटक सुरुदेखि नै दबाव थियो । भ्रष्टाचारको अभियोग लोगका पूर्वगृहमन्त्री गोविन्दराज जोशीले उनको टिकट खोस्ने प्रयास गरे ।
यद्यपि उनी पार्टीभित्र त्यो अवस्थामा थिएनन् । पौडेलले टिकट त पाए तर, जित्न सकेनन् ।
नेताहरुका अनुसार केन्द्रीय सदस्य प्रदीप पौडेलले रामचन्द्रलाई सचेत पनि गराएका रहेछन् । उनले क्षेत्र नम्बर १ बाट उठ्ने भए शंकर भण्डारीलाई मनाएर प्रदेशसभामा लैजान सुझाएका थिए, नभए क्षेत्र नम्बर २ मा आउन भनेका थिए ।
पौडेलसँग चुनाव लडेका कृष्णकुमार श्रेष्ठ ‘किसन’, जसले पौडेललाई ६ हजार ८२७ मतान्तरले हराए । श्रेष्ठ ग्यास, घरजग्गा लगायतका चल्तापूर्ता व्यवसायी हुन् । कांग्रेस नेताहरुका अनुसार वाम गठबन्धनका श्रेष्ठसँग प्रतिस्पर्धा गर्न तनहुँका शंकर भण्डारीले सक्थे, जो खुमबहादुर खड्का गुटका हुन् ।
किसन र शंकर भण्डारी एउटै शैलीका राजनीतिज्ञ हुन् र युवा परिचालनमा शंकरले पौडेललाई साथ दिने थिए । प्रदिप यो स्वीकार गर्दै भने, ‘प्रदेशसभामा शंकर भण्डारीलाई उम्मेदवार भनाएको भए पौडेलले चुनाव जित्न सक्ने अवस्था बन्सक्थ्यो ।’
तर, प्रदीपको आग्रह अनुसार रामचन्द्रले न क्षेत्र परिर्वतन गरे, न शंकरलाई प्रदेशसभामा मनाउने प्रयास नै गरे ।
उल्टै ‘पावर’ प्रयोग गरेर जोशीको स्वतन्त्र उम्मेदवारी खारेज गर्न लगाए, यसले झन घाटा लाग्यो । जोशी उम्मेदवार भएको भए उनले ३/४ हजार मत पाउथेँ । तर, उनको उम्मेदवारी खारेज हुँदा यो आक्रोसको मत पौडेललाई आएन, बरु किसनतिर गयो ।
कांग्रेस नेता रामचन्द्र पौडेलको अर्को कमजोरी जातीय फ्याक्टर मिलाउन नसक्नुमा देखियो । त्यहाँ जानजाति, त्यसमा पनि मगर समुदायको बाक्लो उपस्थिति छ ।
विगतमा तीनवटा क्षेत्र हुँदा एउटामा जनजाति समुदायबाट उम्मेदवार बनाउने गरिएको थियो । तर, यो पटक प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार गरी ६ सिटमा कांग्रेसले खसआर्य मात्रै उम्मेदवार बनायो । त्यसमा पनि तीनजना (प्रतिनिधिसभा-रामचन्द्र, प्रदेशसभा-प्रदीप र रघुनाथ) तीनै उम्मेदवार पौडेल नै बनाइए ।
त्यसै पनि पौडेल पछिल्लो समय आत्मकेन्द्रित भएकोमा गुटभित्र आलोचित बन्दै गएका थिए । अवसर पाउँदा आफ्ना छोराछोरी र सम्धीलाई दिने, अरु बेला कार्यकर्ता खोज्ने गरेको गुनासो पौडेल समूहका नेताहरुले नै गर्ने गरेका छन् ।
प्रतिक्रिया 4