१७ पुस, काठमाडौं । विज्ञ समूहले रानीपोखरीको पुरातात्विक उत्खनन गर्न पुरातत्व विभागलाई अनुरोध गरेको छ ।
रानीपोखरीलाई प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय गर्दै काठमाडौं महानगरपालिकाले पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की नेतृत्वको विज्ञ समूह बनाएको थियो ।
सोमबार बसेको विज्ञ समूहको पहिलो बैठकले रानीपोखरी पुनर्निर्माण थाल्नुअघि उत्खनन गर्नुपर्ने निष्कर्ष निकालेको छ । ‘पुरातात्विक उत्खननका लागि पुरातत्व विभागलाई आग्रह गर्ने निर्णय गरेको छौं’ समूहका सदस्य सचिव एवं काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत धनिराम शर्माले अनलाइनखबरसँग भने ।
प्रताप मल्लले बनाएको रानीपोखरीमा मध्यसमयमा कसले डिल हाल्यो भन्ने प्रश्न उठेको छ । सम्पदाविद् सुदर्शन राजतिवारीले रानीपोखरीलाई पुरानै स्वरुपमा पुनर्निर्माण गर्न केही समय अध्ययन-अनुसन्धान गर्नुपर्ने बताउँदै आएका छन् ।
सार्वजनिक सुझाव पनि मागिने
विज्ञ समूहको बैठकले रानीपोखरी पुनर्निर्माणबारे सार्वसाधारणसँग पनि सुझाव माग्ने निर्णय पनि गरेको छ । यसका लागि भोलि नै सूचना निकालिनेछ ।
‘पाँच दिनको सूचना दिएर सुझाव लिन लागिएको हो’ महानगरका कार्यकारी अधिकृत शर्माले भने ।
कंक्रिट हारेको भन्दै सम्पदाविदहरुले विरोध गरेपछि महानगरपालिकाले १३ पुसमा पुनर्निर्माण रोक्ने निर्णय गरेको थियो । साथै मल्लकालीन शैलीमै बनाउने निर्णय गर्दै विज्ञ समूह बनाएको छ, जसको सुझावका आधारमा पुनर्निमार्ण हुनेछ ।
प्रतिक्रिया 4