२० फागुन विराटनगर । मोरङका बाढी प्रभावित किसानका लागि आएको ५ करोड रुपैयाँ राहत कर्मचारीले वितरण नगर्दा फिर्ता हुने अवस्थामा पुगेको छ ।
कृषि मन्त्रालयले गत असोज २२ गते पठाएको रकम कृषि कार्यालयले कर्मचारी अभाव देखाउदै वितरण गरेको छैन । राहतका लागि किसानले निवेदन दिए पनि ५ करोड ४२ लाख ५३ हजार रुपैयाँ फिर्ता हुने अवस्थामा पुगेको छ ।
कृषि मन्त्रालयले कृषि बालीमा भएको क्षतिको आधारमा किसानलाई मलखाददेखि साना सिञ्चाई आयोजना निर्माणसम्म बनाइदिने योजना बनाएको थियो ।
कृषि कार्यालयका सहायक सूचना अधिकारी रुद्रराज राउतले कर्मचारी अभाव र नीतिगत समस्याका कारण राहत वितरण गर्न नसकेको बताए ।
‘राहत कार्यक्रममा समावेश धेरै कार्यक्रमको वितरणमा नीति पनि प्रष्ट छैन, कर्मचारी पनि पर्याप्त छैनन्, अहिलेको अवस्थामा कार्यक्रम कार्यान्वयमा जान सक्ने अवस्था देखिदैन’ उनले भने ‘यस्तो अवस्थामा बजेट फिर्ता हुने निश्चित छ ।’
राउतले क्षतिको आधारमा राहत रकम न्युन आएकाले वितरणमा समस्या भएको पनि बताए ।
राहत रकम चालु आर्थिक वर्षको अन्त्य अर्थात २०७५ को असार मशान्तसम्म वितरण गरिसक्नुपर्छ । तर आउँदो चैत २८ पछि कृषि कार्यालय नै स्थानीय तहमा समायोजन हुँदैछ । ४० जना कर्मचारीमध्ये धेरैजसो कर्मचारीहरु स्थानीय तहमा खटिएकाले हाल कृषि कार्यालयमा ४ जनामात्र कर्मचारी छन् ।
कस्ता छन् राहत कार्यक्रम
बाढी प्रभावित किसानका लागिसरकारले मलखाद, साना सिञ्चाई, फलफूलका विरुवा वितरण, भकारो सुधार लगायतका राहत कार्यक्रम ल्याएको थियो । यसमा सबैभन्दा बढी ४४ लाख १३ हजार रुपैयाँको माछाका भुरा वितरण गर्ने योजना छ ।
४२ लाख ३४ हजार रुपैयाँको युरिया मल वितरण, भकारो सुधारमा ५ लाख २० हजार, प्रांगारिक मल वितरणमा १९ लाख २० हजार रुपैयाँ वितरणको योजना छ । त्यस्तै विभिन्न जातका फलफूल वितरण गर्न ३ लाख ७५ हजार रुपैयाँ छुट्याइएको छ ।
४५ करोडको क्षतिमा ५ करोड राहत
साउनको अन्तिम साता आएकोे बाढीले मोरङमा ४५ करोड रुपैयाँको कृषि उपज क्षति भएको छ । तर सरकारले भने ५ करोड ४२ लाख ५३ हजार रुपैयाँमात्रै राहत पठाएको छ ।
साउनको २८ र २९ गते आएको बाढीले धानवाली, फलफूल, तरकारी, जुट, माछा, रहर र बेसन खेतीमा ठूलो क्षति पुगेको थियो ।
२२ दशमलव ८ हेक्टरको धान खेती नष्ट हुदा २१ करोड २१ लाख २७ हजार रुपैया बराबरको नोक्सानी भएको थियो ।
प्रतिक्रिया 4