+
+

गर्भावस्थामा वान्ता ! सधैं सामान्य नहुन सक्छ

डा.बालकृष्ण साह

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १२ गते १७:२७

‘चिठ्ठी आएन… मेरो मायालुको मलाई चिठ्ठी आएन’ नेपाली चलचित्र ट्रक ड्राइभरको यो गीतमा नायिका करिष्मा मानन्धरले वान्ता गरेको देखाइन्छ, जसले उनी गर्भवती भएको संकेत गर्छ । नेपाली मात्र होइन अधिकांश हिन्दी चलचित्रमा पनि वान्ता हुनुलाई गर्भवती भएको लक्षणका रूपमा देखाइन्छ ।

घरमा बुहारीले खान मन नगर्नु अनि वाकवाक गर्नु वा वान्ता गर्नुले गर्भवती पो भइन् कि भनेर अन्दाज लगाउने चलन छँदै छ । गर्भावस्थामा अलिअलि वाकवाक लाग्नु, खानेकुरा गन्हाएर खान मन नलाग्ने हुनु स्वाभाविक हो ।

गर्भवस्थाममा दिनमा २-४ पटक वान्ता हुनु पनि सामान्य नै मानिन्छ तर कसैकसैलाई धेरै वान्ता हुने र वान्ताकै कारण शरीरमा पानी तथा लवणको कमी भएर भर्ना गर्नुपर्ने अनि नसाबाट औषधि उपचार गर्नुपर्ने अवस्था समेत आउन सक्छ ।

विमला पराजुली पहिलो पटक गर्भवती भएकी छिन् । उनलाई अत्यधिक वान्ता हुने, केही खायो कि वान्ता भइहाल्ने गर्छ । यसका कारण ब्लडप्रेसर घटेको अनि चक्कर लागेर ढलेकाले अस्पताल ल्याउनु परेको उनको सासु निर्मलाले बताइन् ।

गर्भावस्थामा अत्यधिक वान्ता हुनु, वान्ताका कारण शरीर निकै कमजोर हुनु वा थप समस्या देखापर्नु तथा यसको उपचार गर्नुपर्ने अवस्थालाई हाइपरईमेसिस् ग्राभिडम भनिन्छ । हाईपरईमेसिस ग्राभिडम प्रायः पहिलो पटकको गर्भमा बढी हुने गर्छ । गर्भमा एकभन्दा बढी शिशु अर्थात् जुम्ल्याहा गर्भ रहेमा तथा अव्यवस्थित गर्भ रहे पनि वान्ता बढी हुने गरेको देखिन्छ ।

हुन त हाइपरईमेसिस् ग्राभिडम वंशाणुगत पनि हुने गर्छन तर यसको प्रमुख कारण एचसिजी नामक हर्मोन नै प्रमुख मानिन्छ । गर्भावस्थामा एचसीजी हर्मोनको उत्पादन बढ्ने हुन्छ । एचसिजी हर्मोनको मात्रा समान्यभन्दा बढी भएमा धेरै वान्ता हुनसक्छ ।

एच.सि.जि. हर्मोन बढ्ने कारण धेरै हुन्छन् र कति अवस्थामा यो हर्मोन बढ्नुको कारण पता लगाउन पनि सकिँदैन । यस बाहेक भिटामिन वी वा प्रोटिनको कमी हुनु तथा मानसिक तनावहरूले हाइपरईमेसिस् ग्राभिडम गराउन सक्छन् । गर्भावस्थामा पनि अन्य अवस्थाको जस्तै विभिन्न रोगहरू जस्तै पिसाबको संक्रमण, पेटको अल्सर एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजको संक्रमण आदिले वान्ता गराउन सक्छ । गर्भावस्था अझ त्यसमा पनि पहिलो तीन महिना खानामा विशेष ध्यान पुर्‍याउनु पर्छ ।

खान मन नलाग्ने तथा वाकवाक लाग्ने भए पनि खानामा विचार गर्नुपर्छ । मौसम अनुसारको फलफुल, दही, ड्राइफुट्स (काजु, पेस्ता, बदाम), माछामासु, अण्डा र पानी प्रशस्त खानुपर्छ । सादा पानी नरुचेको अवस्थामा कागती, ग्लुकोज वा अन्य जुसहरू प्रयोग गर्न सकिन्छ । अलिअलि वान्ता हुँदा आत्तिनु हुँदैन तर समान्यभन्दा बढी वान्ता भए तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।

यस्तो बेला वान्ताको कारण पत्ता लगाउन विभिन्न परीक्षणहरू -रगत, पिसाब, भिडियो एक्सरे) गर्नुपर्ने हुनसक्छ । कसै कसैलाई अत्यधिक वान्ता भएर शरीरबाट धेरै पानी तथा नुनखेर गएको हुनसक्छ । त्यस अवस्थामा विरामीलाई अस्पताल समेत भर्ना गरेर उपचार गर्नुपर्ने हुनसक्छ । सामान्यतया यो समस्याले १२ हप्ता अर्थात् पहिलो ३ महिना दुःख दिए पनि त्यसपछि भने आफै निको हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?