२८ चैत, डोटी । डोटी जिल्ला अदातलका न्यायाधीश जयानन्द पनेरुले स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि म्याद तामेलीमा समस्या आएको बताएका छन् ।
न्यायाधीश पनेरुले जनप्रतिनिधिहरुले नवुझिदिँदा समस्या भएको बताए । यसअघि कर्मचारीहरु हुँदा यो समस्या नभएको उनी बताउँछन । ‘म्याद तामेली गर्दा सम्बन्धित व्यक्तिकै हातमा म्याद थमाउनु पर्ने, सम्बन्धित व्यक्ति नभेटिएमा उसको घरमा सूचना टाँस गर्नु पर्ने र उक्त सूचनाको एकप्रति सार्वजनिक स्थलमा पनि टाँस गर्नु पर्ने व्यवस्था छ’ न्यायाधीश पनेरुले भने ‘सूचना टाँस गर्दा रोहवरमा राख्नु पर्ने हुन्छ तर जनप्रतिनिधि हरु रोहवरमा बस्न मान्दैनन् ।’
न्यायाधीश पनेरुले जनप्रतिनिधिहरुले सहयोग नगरेको गुनासो तमिलदारहरुबाट आएको बताए । ‘फलानो व्यक्तिलाई हामी चिन्दैनौं, फलानो नाम गरेको व्यक्ति फलानो होइन, त्यो त्यसको नाम त अर्कै हो’ भनेर जनप्रतिनिधिहरुले असहयोग गर्ने गरेको उनी बताउँछन् ।
गाउँमा एउटै व्यक्तिका फरक फरक नाम हुने हुँदा प्रयोग भइरहेको नाम र सरकारी लिखत्हरुमा भएको नाम फरक परेर पनि समस्या भएको उनले भने ।
प्रतिवादीका नाममा तामेल गरिएको म्याद समयमै उनीहरु समक्ष नपुग्दा मुद्धा फैसला गर्नमा समेत ढिलाई हुने पनेरुको भनाई छ ।
डोटी जिल्ला अदालतमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १८ र यस वर्ष हालसम्म दर्ता भएका ५५ गरी ७३ मुद्धामध्ये हालसम्म ३५ मुद्धा फछ्र्यौट भएका अदालतका श्रेष्तेदार राईभान कुन्जेडाले जानकारी दिए ।
कुन्जडाका अनुसार व्यक्तिवादी देवानी आठ, सरकारवादी देवानी एक, व्यक्तिवादी फौजदारी १० र सरकारवादी फौजदारी ११ मुद्धा फछ्यौंट भएका छन् ।
यस्तै पुनरावेदनका पाँच मुद्धा फछ्र्यौट भएका छन । जिल्लामा यस बर्ष रिट निवेदन नपरेको श्रेष्तेदार कुन्जेडाले जानकारी दिए ।
निर्वाचन भएका कारण यस बर्ष तुलनात्मक रुपमा मुद्धा फछ्र्यौट हुन नसकेको कुन्जेडाले भनाई छ ।
प्रतिक्रिया 4