१३, वैशाख, तनहुँ । वैदेशिक रोजगारी एवं शहरको बसाइले नेपालको सामाजिक संरचना फेरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ४ मा करिब एक घण्टाका बीचमा देखिएका चारवटा दृश्यले गाउँको चित्र स्पष्ट पार्छ ।
नेपालका ग्रामीण वस्तीलाई वैदेशिक रोजगारीले कुन हदसम्म बिथोलेको छ, गाउँमा जाँदा थाहा हुन्छ । जिउँदाको जन्ती र मर्दाका मलालीसमेत भेटिन छाडेका छन् गाउँमा ।
युवाहरु वैदेशिक रोजगारीका लागि खाडी देशहरुमा पुगेका छन् । गाउँघरमा बुढाबुढी र महिलाहरु मात्रै देख्न पाइन्छ । अझ बुहारीहरु शहरकेन्दि्रत बनेका छन् । छोराछोरी पढाउन उनीहरु सदरमुकाम वा शहर बजारमा गएर बस्ने गरेको पाइन्छ ।
एकदशक अघिसम्म रमाइलो लाग्ने गाउँहरु निरश बनेका छन् । गाईबस्तु चराउन जाँदा जंगलमा बज्ने सालका पात बज्न छाडेको बर्षौं भइसक्यो । सम्पदाहरु थ्ाोत्रिँदै गए । बस्तुभाउहरु घटे । खेतबारी बाँझिए । उत्पादन घट्यो । वनमारा झार उमि्रयो । पानीका मुहानहरु सुकेँ । परनिर्भरता चुलियो । लाखौं युवा विदेशमा छन् । गाउँमा आँटेर काम गर्न सक्ने कोही छैन ।
तनहुँ बन्दीपुर-४ जुमडाँडा गाउँमा एकाबिहानै पुग्दा देखिएका अलग- अलग चार दृश्य यस्ता देखिएः
दृश्य एक : मैले नजोते कसले जोत्छ ?
जनवादी गायक जीवन शर्माले गाएको ‘सिमली छाँयामा बसी भरिया लामो सास फेरेको, उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको’ बोलको गीतजस्तै छ तनहुँ बन्दीपुरस्थित जुमडाँडाका ७७ वर्षीय रामबहादुर आलेको दैनिकी ।
घरले जा-जा र वनले आइज-आइज भन्ने बेलामा पनि रामबहादुरको जीवनको दुःख अझै सकिएको छैन, बरु थपिएको छ । जुमडाँडा पुग्दा ७७ बर्षको यो पाको ज्यान सकीनसकी हलो जोतिरहेको थियो ।
११/१२ बर्षको उमेरदेखि जोत्न थालेका रामबहादुरलाई दुखिया हलोले साथ छाडेको थिएन । अझ यिनै रामबहादुरका पछाडि-पछाडि उनका नाति (कान्छी छोरीका छोरा) १२ वर्षीय सुवास थापामगरले झोलाबाट मकैका दाना सियोमा खसाइरहेका थिए । उनले मामाघर आएका बेला हजुरबुबालाई साथ दिएका रहेछन् ।
८० बर्ष पुग्न ३ बर्ष बाँकी रहेका रामबहादुरले एकछिन हलो बिसाएर सुइँया सुस्केरा हाल्दै भने- ‘सकेर जोतेको कहाँ हुँ र ? मैले नजोते कसले जोत्छ ? दुईमुठी सास भइञ्जेल त खानै पर्यो ।’
जीवनमा कहिल्यै आनन्द र सन्तुष्टि नपाएको बताएका रामबहादुर आफैं पनि बिरामी छन् । उनलाई दम छ । हातखुट्टा फतक्कै गल्छन् । दाँतहरु झरेका छन् । चपाउन केही मिल्दैन ।
रामबहादुरकी श्रीमती पवित्राकुमारी आले ५८ बर्षको उमेरमा दुई वर्षअघि क्यान्सर लागेर बितिन् । उनका दुई छोरा छन् । पाँच छोरीहरु आ-आफ्नैं घरमा छन् ।
८० बर्ष पुग्न ३ बर्ष बाँकी रहेका रामबहादुरले एकछिन हलो बिसाएर सुइँया सुस्केरा हाल्दै भने- ‘सकेर जोतेको कहाँ हुँ र ? मैले नजोते कसले जोत्छ ?
‘जेठो छोराले घरको धन्दा हेर्दैन, कान्छो यहाँ छैन विदेशमा छ’ रामबहादुरले गुनासो गर्दै भने, ‘बुहारीहरुको के कुरा गर्ने ?’
श्रीमतीको निधन भएपछि रामबहादुरले आफूलाई एक्लो महसुस गर्दै आएका छन् ।
रामबहादुरको ८ रोपनी जग्गा छ । हलो जोत्ने बेलामा जोत्ने र अरूबेला बस्तु गोठालो जाने रामबहादुरको नियमित रुटिन हो ।
उनका गोठमा ७ वटा बाख्रा र ५ वटा गाईगोरू छन् । ‘ती कराउँछन्, नफकुाए कसले हेर्ने ? मैं बुढो जानुपर्यो’ रामबहादुरले दुःख सुनाउँदै भने, ‘कुन दिन कता पुक्लुक्क भइने हो, पत्तो छैन ।’
दृश्य दुई : विप्लवलाई पढाउन शहरतिर !
रामबहादुरको दुःख सुनेर केही अघि बढ्दा बाटामा भेटिए, विकास गुरूङ र उनकी श्रीमती लविना । उनीहरु ४ बर्षीय छोरा विप्लवलाई लिएर शहरतिर जाँदै थिए ।
काठमाडौंलाई गन्तव्य बनाएका विकास र लविना छोरा पढाउने भन्दै कुम्लोकाम्लो बोकेर गाउँबाट हिँडेका रहेछन् । विकास काठमाण्डौंमा एउटा सिसा उद्योगमा काम गर्छन् । श्रीमती लविना गाउँकै एक प्राथमिक विद्यालयका शिशु शिक्षिकाको रुपमा पढाउँथिइन् ।
तर, राम्रो ठाउँमा छोरो पढाउने र श्रीमान-श्रीमती सँगै बस्ने भन्दै विकास गुरूङ र श्रीमती लविना काठमाडौं हिँडेका रहेछन् ।
बुबाको हात समाएका विप्लव खुसी थिए, शहर जान पाउँदा । शायद विप्लवका हजुरबुबा-हजुरआमा भने दुःखी थिए नातिले छाडेर शहरतिर जाँदा ।
दृश्य तीन : छोरा मान्छेको काम !
अलिमाथि पुगेपछि अर्को एक दृश्यले मन छोयो । १२ वर्षीय बालक निशान घर्ती ‘हँ हँ पछ् हैट’ भन्दैं गोरू धपाउँदै हलो जोतिरहेका भेटिए । चार सियो लगाएपछि सकिने साँधुरा सुर्का, अग्ला-अग्ला काल्नामा गोरुलाई हलोसहित उकाल्दै झार्दै गर्नुपर्ने अवस्था !
पछिपछि निशानकी काकीले मकै छर्दैं थिइन् । एउटा कालो र अर्को खैरों रंगको गोरुका मुखमा महला झुण्डाइएका थिए । सकी-नसकी निशान साँघुरो सुर्कामा गोरु फर्काउँदै जोत्दै गरिरहेका थिए ।
निशानका बुबा नारायण घर्ती एक बर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका रहेछन् ।
‘घरमा बाजेले नसक्ने भएपछि मैले जोतेेको’ निशानले गर्वका साथ भने, ‘आज स्कुल विदा भएकाले जोतें ।’
निशान बन्दीपुरको भानु माविमा कक्षा ६ मा पढ्छन् । घरबाट झण्डै डेढ घण्टाको उकालो हिँडेर विद्यालय जानुपर्छ । विहान साढे ८ बजे नै हतार-हतार दुई गाँस भात टिपेर घरबाट उकालो लाग्नुपर्ने वाध्यता छ यी बालकको ।
राम्रो ठाउँमा छोरो पढाउने र श्रीमान-श्रीमती सँगै बस्ने भन्दै विकास गुरूङ र श्रीमती लविना काठमाडौं हिँडेका रहेछन् ।
निशानकी ३४ वर्षीया आमा देवी घर्तीले भनिन्, ‘महिलाले हलो जोत्न भएन, गाउँमा युवा छैनन्, कसलाई लगाउने ?’
केही वर्षअघि सोही ठाउँमा एक महिलाले हलो जोतेपछि गाउँका अधबैंशे छोरा मान्छेहरुले बारीमा गएर हलो, जुवा सबै काटेर फालिदिएको बताउँछन् स्थानीय तिलकबहादुर आलेमगर । उनी भन्छन् ‘महिलाले गर्ने काम महिलाले गर्नुपर्यो, छोरामान्छेले गर्ने काम छोरामान्छेले गर्नुपर्यो ।’
दृश्य चार : गर्भवतीले पठाइन् श्रीमानलाई विदेश !
६३ वर्षीया रत्नकुमारी घर्ती सात महिने नातिलाई अप्ठ्यारो हुने गरी च्यापेर घरको भित्र-बाहिर गरिरहेकी थिइन् । ७ महिनाका रोहित घर्ती रोइरहेका थिए ।
तेजिला आँखा बनाएर घरमा आएका नयाँ मान्छेतर्फ हेरेपछि केही फकिए रोहित । त्यसपछि फिस्स हाँसे । घरको बाहिर आँगनमा कुकरमा भात पाँक्दै थियो । बुहारी लक्ष्मी घर्ती घरकै अन्य काममा व्यस्त थिइन् ।
रत्नकुमारीका अन्य दुई नातिहरू १० बर्षका सुनिल र ६ वर्षका रोशन आँगनमा खेलिरहेका थिए ।
रत्नकुमारीका छोरा सुरेश १४ महिनाअघि वैदेशिक रोजगारीका लागि विदेश गएका रहेछन् । घरमा दुई रहरलाग्दा छोरा, वृद्धा आमा र गर्भवती श्रीमतीलाई छाडेर उनी विदेश हानिएका हुन् ।
‘घरैमा बसेरमात्रै पनि भएन, यी बालवच्चालाई पढाउन, खुवाउन, हुर्काउन त पर्यो नि । के खाने, के गर्ने ?’ सुरेशकी श्रीमती लक्ष्मीले भनिन् ‘मैंले नै गह्रुँगो मन बनाएर विदेश पठाएकी हुँ ।’
छोरा सुरेशको कुरा झिक्दा आमा रत्नकुमारीले पनि नमज्जा मानिन् ।
‘छोरा नहुँदा घरमा छोरामान्छेले गर्ने काम गर्न असाध्यै अप्ठ्यारो हुँदोरहेछ’ आमा रत्नकुमारीले दुःखेसो सुनाइन्, ‘आफ्नो सन्तानलाई विदेश पठाउन कुन आमाको मन मान्छ र ?’
प्रतिक्रिया 4