५ जेठ, रामेछाप । गत वैशाख ३१ गते मध्यरातमा बर्षासँगै आएको बाढीका कारण अस्तव्यस्त भएको रामेछापको सदरमुकाम मन्थलीबजारको सफाईमा नगर प्रमुख नै हातमा कुचो र सावेल लिएर निस्किएका छन् ।
बजार सफाईको लागि नगर प्रमुख मात्र होइन, प्रमुख जिल्ला अधिकारी, सेना, प्रहरी, कर्मचारी तथा स्थानीयवासीहरु समेत जुटेका छन् । नगरपालिकाको समन्वयमा स्थानीय प्रशासन, मन्थली उद्योग वाणिज्य संघ, विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र टोल सुधार समितिहरु तथा बजारवासी शनिबार मन्थली सरसफाइमा जुटेका हुन् ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत र रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण शर्मा पनि हातमा सावेल र झाडु लिएर सडकमा निस्किएका थिए । नगर प्रमुख बस्नेतले सडकमा झाडुमात्रै लगाएन्, सडकको ठाउँठाउँमा थुप्रीएको माटोको ढिस्कालाई खन्ने र सावेलले उठाउने समेत काम गरे ।
दिन छिप्पिदै गएपछि सफाईमा निस्किएका अरु लाखापाखा लागे पनि नगरप्रमुख बस्नेत भने मध्यान्ह १२ बजेसम्म पनि आफ्ना सहयोग किर्मचारीका साथ सडकको माटो सावेल लगाएर उठाउँदै थिए ।
वस्नेतले मन्थली नगरपालिकालाई व्यवस्थित र सफा बनाउने अभियानमा आफुहरु लागिरहेको बताए । ‘यसमा नागरिकको पनि राम्रो सहयोग छ । यस्तै सहयोग भयो भने मन्थली बजार सफा हुन्छ’, उनले भने ।
प्रतिक्रिया 4