२०५० सालतिर सामाजिक चेतनामुलक टेलिश्रृंखला ‘देवी’ मा अभिनय गर्ने क्रममा दीपाश्री निरौलाको पहिलो भेट भएको थियो भिमबहादुर थापासँग । सो टेलिश्रृंखलामा उनको बुवाको भूमिका निर्वाह गरेका भिमबहादुरलाई दीपाश्रीले अन्ततः वास्तविक जीवनमा बुवाकै रुपमा पाइन् ।
‘चिनेदखि नै उहाँले मलाई छोरीको व्यवहार गर्नुभयो, माया दिनुभयो,’ दीपाश्री भन्छिन् ।
देवीपछि हास्य टेलिश्रृंखला ‘तितो सत्य’ मा पनि लामो समय उनीहरु बाबुछोरी बनेर खेले । ‘तितो सत्य’मा काम गर्ने क्रममा नै आफू भिमबहादुर बुवासँग अत्यधिक निकट बनेको दीपाश्रीले बताइन् ।
दीपाश्री हरेक विहान मर्निङ वाक गर्दै मैतिदेवी पुग्थिन् र भिमबहादुरको घरमा पस्थिन् । चिया पिउँदै गफिन्थिन् । यो सिलसिला पछिल्लो समयसम्म पनि जारी थियो ।
‘अब म मैतिदेवीको बाटो कसरी हिँड्नुहोला ?’ दीपाश्री भुत्भुताउँछिन् ।
किन हो, भिमबहादुर दीपाश्रीलाई ‘कस्तुरी’ को संज्ञा दिन्थे ।
‘तँ कस्तुरी होस, तेरो सुगन्ध सबैले थाहा पाउनुपर्छ,’ भिमबहादुरको भनाई उद्वृत गर्दै दीपाश्रीले सुनाइन् ।
उनी दीपाको जन्मदिन कहिल्यै पनि भुल्दैनथे । हरेक जन्मदिनमा ‘परी’ को गुडिया उपहार दिने गर्थे ।
‘तँ परी होस नी मेरो,’ उनी भन्ने गर्थे । उनले दिएका सबै गुडियाहरु दीपाले घरमा सजाएर राखेकी छन् ।
‘हरेक तिजमा बोलाएर दर खुवाउनुहुन्थ्यो । तिजको भाग भनेर खामबन्दी गरेर पैसा दिनुहुन्थ्यो । उहाँले दिएको खामबन्दी पैसा अहिलेसम्म नखोलिकन दराजमा राखेकी छु,’ दीपाश्रीले भनिन् ।
उनले पुरानो बानेश्वरमा घर बनाउँदा भिमबहादुर कम्ति खुशी भएका थिएनन् ।
‘मैले घर बनाउँदा भिमबहादुर बुवा कम्ति खुशी हुनुभएको थिएन,’ दीपाश्रीले भनिन्, ‘उहाँ र मेरो बुवा सँगै बसेर घरपुजा गर्नुभएको थियो ।’
२० वर्षअघि अमेरिका गएका भिमबहादुरका एक मात्र छोरा प्रकाश थापा एकचोटि पनि फर्केर आएनन् । बाबुको मृत्यू हुँदासमेत उनी आएका छैनन् । बुहारी र नाति केही महिनाअघि आएका थिए । भिमबहादुरले नातिको ब्रतबन्ध गरिदिए र उनीहरु फर्किए ।
उहिल्यै बिहे भएका दुई छोरीमध्ये एक तराईमा बस्छिन् भने अर्की भारतको कलकत्तामा । मैंतिदेवीमा भिमबहादुरका बुढाबुढी मात्रै थिए । भिमबहादुर पनि नरहेपछि उनकी ८६ वषिर्या पत्नी एक्लिएकी छन् । अहिले उनको रेखदेखका लागि छोरीकी छोरीलाई सोही घरमा कोठा लिएर राख्ने तयारी गरिएको छ ।
जिर्ण शरीर र कमजोर स्वास्थ्यका बाबजुद भिमबहादुर निकै उर्जावान थिए । उनको कलाकारिताको भोक अझै मेटिएको थिएन । पछिल्लो पटक छक्का पञ्जा-२ मा अभिनय गरेका थिए । दीपाश्रीका अनुसार उनी काम कम सुन्थे, त्यसैले कानमा चिच्याएर डाइलग सुनाउनुपथ्र्यो । तर, सुनिसकेपछि डाइलग कन्ठ गर्न भने उनलाई कत्ति पनि समय लाग्दैनथ्यो ।
भिमबहादुर आफ्नो ९४ औं जन्मदिन धुमधामले मनाउने तयारीमा थिए । उनको जन्मदिन १३ असारमा पर्छ । उनले मैंतिदेवीको एउटा रेस्टरेन्ट दीपाश्रीलाई देखाउँदै भनेका थिए, ‘यही रेस्टुरेन्टमा मनाउनुपर्छ । खुब रमाइलो गर्नुपर्छ है छोरी । तँलै फुर्सद भएन भन्न पाउँदिनस ।’
पछिल्लो ६ महिनादेखि भिमबहादुर अस्वस्थ भएका थिए । फोक्सोमा पानी जमेको थियो । एक महिना अगाडि मात्रै दुवै किड्नी फेल भएको थाहा भयो । साथै मुटुको भल्व पनि सुन्निएको थियो । दीपाश्रीले नै उनलाई उपचारका लागि गंगालाल पुर्याएकी थिइन् । केही सुधार भएपछि घर फर्काइएको थियो ।
तर, त्यसको केही दिनमै फेरि समस्या बल्भिmएपछि सैनिक अस्पताल पुर्याइएको थियो । त्यहाँ केही दिन उपचारपछि थापाले घर जाने इच्छा व्यक्त गरेका थिए । सायद उनी घरमै आफ्नो प्राण बिसाउन चाहन्थेँ । उनलाई गत आइतबार घर ल्याइएको थियो । त्यसको तीन दिनपछि बुधबार बिहान २ बजे उनले प्राण त्यागे ।
‘उहाँलाई गुमाउँदाको पीडा त छँदैछ, तर, उहाँले भने पीडाबाट मुक्ति पाउनुभयो जस्तो लाग्छ,’ दीपाश्रीले भनिन् ।
भिमबहादुरको ९३ वर्षको उमेरमा बुधबार राति दुई बजे निधन हुँदा दीपाश्री पोखरामा छक्का पञ्जा ३ को सुटिङ गर्दै थिइन् । उनको मोबाइलमा दुखद खबर आउनासाथ सुटिङ प्याकअप गरेर काठमाडौं आइन् र परिवारलाई सान्त्वना दिइन् । अहिले उनी पोखरा फर्किसकेकी छन् ।
प्रतिक्रिया 4