+
+

छाउगोठमा कहिले सर्पले डस्छ, कहिले बलात्कारीले !

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २३ गते १:०५

२२ असार, सुर्खेत । भुत्ते उखान छ, ‘बाह्र बर्षमा खोलो पनि फर्कन्छ ।’ कानुनले छाउपडी ‘कुप्रथा’ घोषणा गरेको बाह्र बर्ष बित्यो । तर, यत्तिका अवधी गुजि्रसक्दा पनि सुदूरपश्चिमको घाउ निको हुन सकेको छैन ।

बरु, झन् बल्झिरहेको छ । र, यसले निर्दोष किशोरीहरुको अस्मितालाई दाउमा मात्र राखेको छैन, ज्यान नै जोखिममा पारिदिएको छ । छाउपडीलाई कानुनले ‘अपराध’ ठहर्‍याइसकेको छ । गैरसरकारी संस्थाहरुले ‘छाउपडी प्रथा उन्मुलनका लागि’ भन्दै करोडौं रुपैयाँको खोलो बगाइसकेको छ ।

तर, सुदूरपश्चिमको यो ऐजेरु मास्न सकिएको छैन । यदि त्यसो नहुँदो हो त, सुर्खेत बराहतालकी किशोरीले सामूहिक बलात्कारको शिकार हुनुपर्ने थिएन । अछाम तुर्माखाँदकी पार्वती बुढाले सर्पको डसाईबाट ज्यान गुमाउनुपर्ने थिएन ।

रजस्वला एवं सुत्केरी भएको अवस्थालाई ‘अछुत भएको’ भनी घरबाट अलग्गै राखिने प्रथा हो यो, जसका लागि छाउगोठ बनाइन्छ । रजस्वला हुनु, सुत्केरी हुनु प्राकृतिक प्रक्रिया हो भनेर बुझ्दा-बुझ्दै पनि यसलाई ‘अछुतो’ भनि छाउगोठमा राख्ने पुरातन शैलीले कहिले काँचुली फेर्ने हो ? जवाफ छैन ।

मंगलबार सुर्खेतको बराहताल गाउँपालिका-रतुरामा एक किशोरीको सामूहिक बलात्कार भयो । त्यस्तै जेठ महिनाको अन्तिम साता अछामको तुर्माखाँद गाउँपालिका ४ जयागाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको सर्पले डसेर मृत्यु भयो । दुबै घटना छाउगोठमा भएको हो ।

पार्वती बुढा घरबाट तल बेंसीको छाउगोठमा महिनावारी बार्न बसेकी थिइन् । साथी राधिका बुढासँगै गोठमा सुतिरहेकी उनलाई छानामाथि रहेको सर्प खसेर औंलामा टोकिदियो । सर्पले टोकेपनि घर-परिवार टाढा भएकाले उनीहरुले तत्काल खबर गर्न सकेनन् । उपचारको अभावमा उनको ज्यान गयो । पार्वतीले यसैबर्ष विश्वज्योति माविबाट एसईई दिएकी थिइन् ।

गएको चैत्रमा हुम्लाको सिमकोट गाउँपालिका-७ मा छाउगोठ बसेकी लक्ष्मी शाही लडेर घाइते भइन् । पानी परेको बेला छाउगोठ बाहिर निस्कदा १७ बर्षीया उनी लडेर घाइते भएकी हुन् । उनको दायाँ खुट्टाको माथिल्लो भाग नचल्ने भएको छ ।

छाउगोठमा बस्नैपर्ने बाध्यताको कारण यी निर्दोष किशोरीहरु कष्ट भुक्तान मात्र गर्नु परेको छैन, ज्यानलाई जोखिममा राख्नुपरेको छ ।

कोही चिसोले कठ्यांग्रिएर ज्यान गुमाइरहेका छन्, कोही निसास्सिएर । कोही सर्पको डसाई त कोही बलात्कारको शिकार भइरहेका छन् । अछाममा मात्र बितेको १० बर्षमा १३ महिलाले छाउगोठमा ज्यान गुमाएका छन् ।

छाउगोठमा साथी बस्दा …

सुर्खेतको बराहताल गाउँपालिका-रतुरामाकी निर्मला शर्मा मासिक श्राव भएर छाउगोठमा बसेकी थिइन् । आमाबुबा लेकमा गएकाले आफु एक्लै भएको भन्दै निर्मलाले स्थानीय १५ बषिर्य किशोरीलाई साथी बोलाइन्, जो सञ्चो नभएको भन्दै औषधि लिन त्यहाँ पुगेकी थिइन् ।

उनीहरु छाउगोठमै सुतिरहेका थिए । राती १२ बजेतिर स्थानीय तीन युवा चेतन गिरी, जनक शर्मा र पदम गिरी त्यहाँ आइपुगे । प्राप्त जानकारी अनुसार निर्मलालाई एक किशोरले भगाएर अर्की किशोरीलाई भने सामूहिक बलात्कार गरे । बलात्कारमा संलग्न किशोरमध्ये पदम १४ बर्षका, चेतन १५ र जनक १८ बर्षका छन् ।

निर्मलाले प्रहरीलाई भनेकी छिन्, ‘तीन जना मध्ये पदमले मलाई बाहिर निकाल्यो, म डराएर खेततिर आएँ । तर, साथीलाई बलात्कार गरेछन् ।’
जिल्ला प्रहरी कार्यालय, सुर्खेतले छाउ बसेकी शर्मासहित बलात्कारमा संलग्न भनिएका स्थानीय किशोरहरुलाई पक्राउ गरेको छ ।

उनीहरुमाथि जबरजस्तीकरणी मुद्दामा म्याद थप गरेर अनुसन्धान थालिएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले अनलाइनखबरलाई बताए ।

तर, पीडित किशोरीका परिवारले भने छाउ बसेकी निर्मलाकै सहयोगमा ३ जना युवकहरु त्यहाँ आएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एक अधिकारी पनि घटनामा निर्मलाको प्रत्यक्ष संलग्नता भएको कुरालाई अस्वीकार गर्न नसकिने बताउँछन् । यद्यपि, अहिल्यै निश्कर्षमा पुगिहाल्दा हतार हुने उनको भनाइ छ ।

पीडित किशोरीसँग मोबाइल थिएन । घटनामा संलग्न र निर्मलाको कल डिटेल हेर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

‘निर्मलाले केहीवेर गफगाफ गरौं भनेर बोलाइन् र त्यस क्रममा साथी बलात्कृत भइन् वा नियतवस नै घटनाको मतियार बनिन् वा निर्मलाको सूचनाविनै उनीहरु आएका हुन् भन्ने विषय चाहिँ अनुसन्धानको एउटा महत्वपूर्ण पाटो हो’ प्रहरी स्रोतले भन्यो ।

दिमागको गोठ भत्काउन गाह्रो भयो

पीडित किशोरीको उपचार भइरहेको छ । उनको यौनाङ्ग सुन्निएको छ । शरीरको विभिन्न भागमा चोट छ । अधिकारकर्मी पवित्रा शाही भन्छिन्, ‘छाउगोठमा भएको घटना भनी सामान्य रुपमा लिने प्रवृत्ति छ, जसको कारण यस्ता कृत्यहरु फस्टाउँदै गएको छ ।’

हुन त छाउगोठ भत्काउने अभियान नचलाइएको होइन । तर, छाउगोठ भत्काउने अभियान देखावटीभन्दा बढी केही छैन । केही समयअघि नै पश्चिम सुर्खेत लगायत अछाम, दैलेखका ग्रामिण क्षेत्रमा बनेका छाउगोठ भत्काइए ।

तर, जबसम्म चेतनास्तरमा परिवर्तन ल्याउन सकिदैन, छाउगोठ भत्काएर मात्र केही हुनेवाला छैन भन्छिन्, अधिकारकर्मी शाही । उनी भन्छिन्, ‘छाउगोठ भत्काउने भन्दा पनि दिमागको छाउगोठ भत्काउनु पर्छ । तबमात्र यसमा प्रभावकारी सुधार हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?