+
+

बीमा कम्पनीमा पनि अब मर्जर नीति !

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २६ गते ०:१८

२५ असार, काठमाडौं । बैंकिङ क्षेत्रमा निकै लामो बहसको विषय बनेको मर्जर नीति अब बीमा क्षेत्रमा पनि शुरु हुने भएको छ । बीमा कम्पनीहरुका लागि मर्जर नीति ल्याउने बीमा समितिले गृहकार्य शुरु गरेको छ । सबै बीमा कम्पनीहरुले निर्देशन अनुसार पूँजी पुर्‍याउन नसक्ने देखिएपछि बीमा समितिले मर्जर नीति ल्याउने तयारी शुरु गरेको हो ।

समितिले चालु आर्थिक वर्षको असार मसान्तभित्रमा जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्ब पूँजी पुर्‍याउन निर्देशन दिएको थियो । तर चालु आर्थिक वर्षको समाप्त हुन केही दिनमात्रै बाँकी रहँदासमेत अधिकांश बीमा कम्पनीहरुले पूँजी पुर्‍याउन सकेका छैनन् ।

चालु आर्थिक वर्षभित्र सञ्चालनमा आएका कम्पनीसमेत गरेर जीवनतर्फ १८ वटा र निर्जीवन बीमातर्फ २० वटा कम्पनीहरु रहेका छन् ।

बीमा समितिले उपलब्ध गराएको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक हेर्दा जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै तोकिएअनुसारको पूँजी पुर्‍याएको छ । सञ्चालनमा रहेका अन्य १७ वटा जीवन बीमा कम्पनीहरुले भने अझै पूँजी पुर्याउन सकेका छैनन् ।

उता निर्जीवन बीमा कम्पनीहरुको हालत पनि उस्तै छ । हालसम्म २ वटा कम्पनीहरुले मात्रै समितिले तोकेअनुसारको पूँजी पुर्‍याएका छन् भने अधिकांश निर्जीवन बीमा कम्पनीहरुले अझै पूँजी पुर्‍याउन सकेका छैनन् ।

बीमा कम्पनीहरुलाई बलियो बनाउन पूँजी वृद्धिको योजना ल्याइएको भए पनि तोकिएको मितिमा पूँजी पुर्‍याउन नसकेपछि मर्जरको नीति ल्याउने तयारी थालिएको वीमा समितिका पदाधिकारी बताउँछन्

बीमा कम्पनीहरुलाई बलियो बनाउन पूँजी वृद्धिको योजना ल्याइएको भए पनि तोकिएको मितिमा पूँजी पुर्‍याउन नसकेपछि मर्जरको नीति ल्याउने तयारी थालिएको समितिका एक अधिकारीले बताए । कम्पनीहरुलाई मर्ज गर्ने नीति ल्याउने कार्यविधिका बारेमा हाल छलफल भइरहेको ती अधिकारीले बताए ।

६ महिना थप्छौं, त्यसपछि मर्जरः अध्यक्ष चापागाईं

बीमा कम्पनीहरुका मर्ज गर्नका लागि समितिले तयारी गरिरहेको अध्यक्ष चापागाईंले पुष्टि गरे । बीमा कम्पनीहरुले समितिमा पूँजी वृद्धिको योजना बुझाएको र योजना अनुसार पूँजी पुग्नेमा आफू आशावादी रहेको अध्यक्ष चापागाईले बताए ।

‘सबै कम्पनीहरुले प्लानिङ बुझाउनुभएको छ, प्लानिङ अनुसार पूँजी पुर्‍याउनेमा म आशावादी छु’ अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष चापागाईंले भने, ‘असार मसान्तभित्र पूँजी नपुर्‍याउने कम्पनीलाई केही समय थप गर्छौं, थपेको समयमा पनि पूँजी नपुगे मर्जको प्रक्रियामा अघि बढ्छौं ।’

अध्यक्ष चापागाईंले पहिलो चरणमा ३ महिना र दोस्रो चरणमा ३ महिना गरेर बढीमा ६ महिनासम्म मात्रै समय थप गर्न सकिने जानकारी दिए । बढीमा ६ महिनासम्म पनि पूँजी नपुर्‍याउने कम्पनीहरुलाई अनिर्वाय मर्जरमा लाने गरी तयारी थालिएको उनले बताए ।

कस्तो बन्ला मर्जर नीति ?

मर्जर गर्ने भनिए पनि कुन ढंगले गर्ने भन्ने विषय समितिले सार्वजनिक गरेको छैन । थप गर्ने भनिएको समयमा बीमा कम्पनीहरुले पूँजी पुर्‍याउने सम्भावना पनि यथावत रहेकाले मर्जरमा कुन विधि अपनाउने भन्ने विषयमा टुंगो लाग्न बाँकी रहेको बीमा समितिका अधिकारीहरु बताउँछन् ।

एकै व्यापारिक घरानाको धेरै कम्पनीमा लगानी रहेको र यसलाई नियन्त्रण गर्न सके कतिपय कम्पनीहरु आफै मर्जरमा जाने जानकारहरुको भनाइ छ । अहिले बीमा क्षेत्रमा क्रश होल्डिङको समस्या रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीका सीईओ रमेशकुमार भट्टराई बताउँछन् ।

क्रश होल्डिङ बन्द गर्ने हो भने केही बीमा कम्पनीहरु मर्जरको बाटो रोज्न बाध्य हुने उनको दावी छ । कुन ढंगले मर्ज हुने भन्ने विषयमा छलफल भइरहेको बीमा समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?