+
+

पेचिलो बन्दै प्रदेश ७ को राजधानी बहसः थारु समुदाय नै विभाजित

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २० गते १२:१९

२० साउन, डोटी । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न संसदीय बिशेष समिति गठन भएसँगै राजधानीको बिवाद पेचिलो बन्दै गएको छ । राजधानी बहसमा थारु अगुवाहरुको मत बाँझेको छ ।

राजधानी र नामाकरणबारे सिफारिस गर्न गत सोमबार प्रदेशसभा सदस्य तारा लामा तामाङ्गको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भए लगत्तै थारु कल्याणकारी सभा (थाकस) कैलाली जिल्ला सचिव माधव थारुले यस बिषयमा थारु बुद्धिजीवीहरुसँग अन्तरक्रिया गरेका थिए ।

उक्त अन्तरक्रियामा थारु बुद्धिजीवीहरुले राजधानी पहाडमै हुनुपर्ने त्यसमा पनि साविकको क्षेत्रीय सदरमुकाम भएको दिपायलमा बनाउँदा उपयुक्त हुने प्रष्ट सुझाव दिएका थिए ।

दिपायलमा सरकारी भौतिक संरचनाहरु पनि भएकाले दिपायल उपयुक्त हुने उनीहरुको तर्क थियो । बुद्धिजीवीहरुले नामाकरणका बारेमा मौन बस्नसमेत थाकसलाई सुझाव दिएका थिए ।

उक्त सुझावमा थारु युवाहरुले सामाजिक सञ्जालमा विचार व्यक्त गरेका छन् । कर्मराज चौधरी लेख्छन्, ‘बुद्धिजीवीहरुले प्रदेश ७ को मुकाम दिपायल हुनु पर्छ भनेर निश्कर्ष निकाल्नु हास्यास्पद हो । यदि सच्चा मनले थारु बुद्धिजीवीहरुले यो सुझाव दिएका हुन भने थरुहट/थारुवान प्रदेश माग गर्नुको औचित्य के हो ?’ नरेश चौधरी लेख्छन्, ‘मेरो विचारमा राजधानी धनगढी हुनु पर्छ ।’

‘आफ्नो माग मुद्धामा सधैं डगमग रहने हाम्रा थारु नेताहरुलाई खै के भन्ने ? कहिले प्रदेशको नाम अखण्ड सुदूरपश्चि राख, कहिले राजधानी पहाडमा राख भन्ना बाहेक अरु के नै गर्न सक्छन र ? आफूलाई बहुत चलाख षड्यन्त्रकारी ठान्ने थारु नेताहरु याद राख्नु हाम्रो विपक्षीहरु हामी भन्दा सयौं गुणा चलाख र षड्यन्त्रकारी छन् ।’ असिराम डंगौराले लेखेका छन् ।

यस्तै दिनेश चौधरी लेख्छन्, ‘हारको मानसिकताको उपज हो, आज यो निर्णय गर्नु थियो भने के को लागि आन्दोलन गरेको ? किन निर्दोषलाई जेल कोचेको ?’

अर्का थारु युवा राजेन्द्र कठरिया लेख्छन् ‘हास्यास्पद्, थारुको पछाडि बुद्धि हुन्छ भनेको यही हो । सबैले आफ्नो गाउँ ठाउँको विकास होस् र आफ्नो पायक पर्ने स्थानमा राजधानी चाहान्छन, तर हाम्रा थारु बुद्धिजीवी नेताहरुको उदारबादी सोच गज्जवको छ ।’

पहाडामा राजधानी हुनु पर्ने प्रस्तावको पक्षमा थारु नेता माधव थारु लेख्छन् ‘थारुहरुले माग गरेको कञ्चनपुरदेखि नवलपरासीसम्मको थरुहट भूमी खण्डित भईसकेपछि प्रदेशको राजधानी कहाँ हुने ? नाम के हुने ? भन्ने बिषयमा धेरै चासो हुनुहुँदैन भन्ने कुरा थारु बुद्धिजीवीहरुलाई राम्रोसँग ज्ञात छ । फेरि पनि यो बिषयमा मुख खोल्नै पर्दा दीर्घकालीन रुपमा समग्र जनताको न्यायको पक्षमा बोल्नु न्यायोचित ठाने र मुख खोले । थारुहरु पहिचान र अधिकारको मुद्धामा अडिक हुनु पर्दछ ।’

मुकेश चौधरी प्रश्न गर्छन, ‘धनगढीमा राजधानी बनाएर दिपायलमा कुनै मन्त्रालय, कुनै बाजुरा यसरी बाँड्न मिल्दैन ?’ दिपायल राजधानी वनाउने कुराको समर्थन गर्दै बिरेन्द्र चौधरी लेख्छन् ‘उत्तम निश्कर्ष निकाल्नु भयो, हामी सवैको चहाना पनि त्यही हो ।’

धनगढी राजधानी हुनु पर्ने भन्दै आफ्नो व्यक्तिगत विचार राख्छन् नरेश चौधरी । बुन्दीलाल चौधरी पनि राजधानी धनगढी हुनु पर्ने माग गर्छन् ।

प्रदेश नामाकरणको बिषयमा भने थारु समुदायबाट सामाजिक सञ्जालमा कुनै प्रतिक्रिया आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?