१० भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिका-८ मा मा रातिको समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ बेच्न रोक लगाइएको छ । साँझ पाँचदेखि आठ बजेभित्र मात्रै मदिराजन्य पदार्थ बेचबिखन गर्न पाइने निर्णय वडाले गरेको हो ।
वडाको बैठकले मदिरा तथा सूर्तिजन्य पदार्थको विक्री वितरणमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्न नपाइने निर्णयसमेत गरेको छ । ‘गाउँमा मदिरा सेवन गर्ने अत्याधिक बढ्न थाले,’ वडा अध्यक्ष रामप्रसाद रेग्मीले भने, ‘यसले सामाजिक समस्या निम्त्याउन थाल्यो, फेरि धेरैको स्वास्थ्यमा समस्या पनि देखिन थाल्यो, त्यही भएर यस्तो निर्णय गरेका हौ ।’
मदिरा सेवनकै कारण यो वर्ष पाँच जना युवाको मृत्यु भएको उनले बताए । वडाको बैठकले गरेको उक्त निर्णयहरु भदौ १५ गतेबाट कार्यान्वयनमा ल्याउने वडा अध्यक्ष रेग्मीले जानकारी दिए । ‘राजनीतिक दल, प्रहरी प्रशासन, महिला समूह, सहकारीका पदाधिकारी, शिक्षक, बुद्धिजीवी लगायतका सबै सरोकारवालाहरुसँग छलफल गरेर यो निर्णय गरेका हौ, सबैबाट सहयोग प्राप्त हुनेछ भन्ने आशा छ ।’ उनले भने ।
निर्णय कार्यान्वयनका लागि सार्वजनिक रुपमा सूचनासमेत टाँस गरिएको उनको भनाइ छ । निर्णय कार्यान्वयन भए नभएको बारे वडा प्रतिनिधि र सरोकारवालाहरुबाट अनुगमन हुने वडा कार्यालयले जनाएको छ ।
निर्णय कार्यान्वयन नगर्नेलाई कानुनी कारवाही प्रक्रिया अगाडि बढाइने अध्यक्ष रेग्मीले चेतावनी दिएका छन् । वडाभित्र संचालनमा रहेका सबै पसलहरु असोज महिनाभित्र दर्ता गरेर संचालन गर्न पनि कार्यालयले सबै व्यवसायीलाई आग्रह गरेको छ ।
प्रतिक्रिया 4