+
+

रुपन्देहीमा इजरायली मोडेलको गाई फार्म, सञ्चालक भन्छन्– कोक फेन्टाको विकल्प दिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २२ गते ७:४३

२२ भदौ, बुटवल । नेपालकै सबैभन्दा ठूलो गाई फार्म रुपन्देहीको टिकुलिगढस्थित लुम्बिनी एग्रो प्रोडक्टस् एण्ड रिसर्च सेन्टर प्रा.लि.ले ५० करोडभन्दा बढी लगानी थप गरेर डेरी उद्योग र खाद्य उद्योग ग्राम सञ्चालनमा ल्याउँदैछ ।

पाँच सय गाई पालेर दैनिक सरदर दुई हजार लिटर दूध विक्री गर्दै आएको प्रा.लि.ले इजरायली कम्पनीसँग मिलेर अन्तराष्ट्रिय मापदण्डका डेरी प्रोडक्टहरु उत्पादन गर्ने तयारी गरेको हो ।

इजरायल कृषि र डेरी उत्पादनमा विश्वमै अग्रणी मुलुक मानिन्छ । इजरायलको एबीईएल कम्पनीसँगको साझेदारीमा ३५ करोड लगानीमा गाई फार्मसंगै डेरी प्लान्ट राख्न थालिएको हो । डेरी प्लान्टमा इजरायलकै मेसिन, प्रविधि र व्यवस्थापन हुनेछ ।

अमेरिकन ब्रिडका जर्सी र होलस्टोन फ्रिजन जातका दुई सय ५० गाईबाट शुरु भएको फार्ममा तिनै गाईका बाच्छीहरुसमेत गरी हाल पा“च सयको हाराहारीमा गाई छन् । जसमध्ये एक सय ७० जति गाई दुहुना छन् । फार्ममा एकैपटकमा २० देखि २५ वटासम्म गाई दुहुन मिल्ने गरी मेसिन जडान गरिएको छ ।

तीन बिघा क्षेत्रफलमा स्थापना हुने डेरी प्लान्टबाट युरोयिन र अमेरिकन मापदण्डमा प्रशोधित दुध, दही, घिउ, मही, मिल्कसेक (बोतल दुध) र आइसक्रिम लगायतका परिकारहरु उत्पादन हुनेछन् । डेरी प्लान्ट ६ महिनाभित्र सञ्चालनमा आउने प्रालिका सञ्चालक शशि शर्मा पौडेलले बताए ।

‘डेरी प्लान्टका लागि इजरायली टिमसाग लगानीको हिस्सा र व्यवस्थापनबारे समझदारी भई आवश्यक कानुनी प्रकृया पनि पूरा गरिसक्यौं’–पौडेलले भने–‘जग्गाको व्यवस्था पनि भइसक्यो, मेसिन ल्याउन एक–दुई दिनमै एलसी (प्रतिपत्र) खुल्दैछ ।’ डेरी उद्योगमा दैनिक २० हजार लिटर दुधबाट डेरीजन्य वस्तु उत्पादन गर्ने लक्ष्य प्रालिको छ । स्वचालित प्लान्ट भएकाले यसमा करिब २० जनाले प्रत्यक्ष रोजगारी पाउने प्रालिले जनाएको छ । डेरी उद्योगमा इजरायली कम्पनी र प्रा.लि.ले बराबर लगानी गर्ने सहमति भइसकेको छ ।

कोक–फेन्टाको विकल्प दिन्छौं

निकट भविष्यमै उत्पादन शुरु हुने डेरी प्रोडक्टमध्ये प्रा.लि.ले बोतल दुधलाई पहिलो प्राथमिकता दिने सञ्चालक पौडेलले खुलाए । वहुराष्ट्रिय कम्पनीले उत्पादन गर्ने हल्का पेय पदार्थहरु ( कोक,फेन्टा आदि ) को सट्टा मिल्कसेक (बोतल दुध) को सेवन बढाउने रणनीति लिइएको पौडेलले खुलाए । ‘अरु पेय पदार्थको तुलनामा स्वास्थ्यका लागि पनि दुध हितकर हुने र मूल्य पनि उस्तै उस्तै पर्ने भएकाले मिल्कसेकको उत्पादन धेरै गर्छौं’– पौडेलले भने ।

प्रा.लि.ले डेरी प्लान्टसँगै खाद्यान्न परिकारहरु उत्पादनको तयारी पनि गरिरहेको छ । पास्ता, कर्नफ्लेक्स, कुकिज र मसला लगायतका खाद्य वस्तु उत्पादन गर्ने गरी एकैथलोमा खाद्य उद्योग ग्राम संचालनमा आउन लागेको हो । ६ महिनाभित्र संचालनमा आउने खाद्य उद्योग ग्राममा १५ देखि २० करोड रुपैयां लगानी हुने अनुमान छ ।

खाद्य उद्योग ग्रामका लागि भौतिक संरचना निर्माण र मेसिनहरु ल्याउने काम भइसकेको पौडेलले बताए । खाद्य उद्योग ग्राममा प्रा.लि. अन्तर्गत सबैभन्न्दा धेरै एकसय जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने छन् । डेरी र खाद्य प्रोडक्टहरुको बजार देशव्यापी बनाउने प्रालिको लक्ष्य छ ।

जङ्कफुड रोक्न खीर उत्पादन

प्रा.लि.ले स्कुले बालबालिकाले खाजाको रुपमा बढी चाउचाउ लगायतका जङ्क फूडको सेवनलाई नियन्त्रण गर्ने उद्देश्यले खीर उत्पादन पनि गर्दैछ । खीर उत्पादन र प्याकेजिङका लागि करिब २० लाख लगानीमा मेसिन र प्रविधि जडान गर्न लागिएको प्रा.लि.का सञ्चालक पौडेलले जानकारी दिए । प्रा.लि.ले १० दिनसम्म नबिग्रने प्रविधिबाट खीर उत्पादन गर्ने जनाएको छ । हाइजेनिक र विशेष प्रकारको प्याकेटमा प्याकेजिङ गरिने खीर टिफिन समयमा विद्यालयहरुमा पुर्‍याई विद्यार्थीहरुलाई विक्री गर्ने र जङ्कफुड खानबाट बालबालिकालाई जोगाउने प्रालिको उद्देश्य रहेको छ ।

‘हामी स्वास्थ्यका लागिसमेत आयातित पेय पदार्थ र जङ्क फुडको सट्टा हाइजेनिक र स्वास्थ्यवद्र्धक मिल्कसेक र खीरको उपभोगलाई बढावा दिन्छौं’– पौडेल भन्छन् । खीरको उत्पादन र बजारीकरणमा कम्तीमा १० जनाले रोजगारी पाउने छन् ।

दुबै उद्योगमा आवश्यक जनशक्ति व्यवस्थापनमा स्थानीयलाई प्राथमिकता दिने प्रालिले जनाएको छ । २३ बिघा जग्गामा रहेको गाई फार्ममा हालसम्म गाई खरिद र संरचना निर्माणमा १५ करोड लगानी भएको छ । यद्यपि जग्गाको मूल्य समेत जोड्दा डेढ अर्ब रुपैयां लगानी पुगेको संचालक पौडेल बताउंछन् ।

गोबरबाट बिजुली

प्रालिले फार्ममा उत्पादन हुने गाईको गोबरबाट विद्युत उत्पादन समेत गर्दैछ । पहिलो चरणमा ५ सय घनमिटर गोबर ग्यासबाट ३ सय किलो वाट बिजुली निकाल्ने र त्यसपछि ११सय घनमिटरको प्लान्ट बनाएर ७ सय ५० किलोवाट बिजुली उत्पादन गर्ने तयारी प्रा.लि.को छ । गोबरबाट विद्युत उत्पादन भएपछि प्रालि अन्तर्गका उद्योगहरु र गाई फार्ममा खपत हुने विद्युतका लागि खर्च हुने रकम समेत जोगिने छ ।

फार्म देखाएर वर्षमा साढे ४५ लाख आम्दानी

 

नेपालकै ठूलो गाई फार्मको रुपमा स्थापित भएपछि यो फार्म हेर्न देशका सबैजसो जिल्लाबाट विभिन्न क्षेत्रका मान्छेहरु दैनिक आउने गरेका छन् । सबैभन्दा धेरै संख्यामा गाई, मेसिनबाटै दुध दुहुने प्रविधि, आफ्नै दुध चिस्यान मेसिन र सरकारबाट उत्कृष्ट किसानका रुपमा विकास रत्न पदक र हालै मात्र जनसेवा श्री पदकबाट सम्मानित जस्ता कारणले पौडेलको फार्म देशभर चर्चित भएकाले हेर्न आउनेहरुको संख्या पनि ठूलो छ । यहां मुलुकका वहालवालादेखि पूर्व प्रधानमन्त्रीहरु,मन्त्रीहरु, कर्मचारी प्रशासनका उच्च अधिकारीहरु, पशुपालक कृषक, अनुसन्धानकर्ता, विद्यार्थी, शिक्षक, प्रोफेसर, सहकारीकर्मी, संघसंस्थाहरु, सरकारी र गैर सरकारी निकायका मान्छेहरु अलोकनका लागि आउंछन् ।

दिनमा सरदर साढे दुईसय जनाका दरले अवलोकनकर्ताहरु फार्म हेर्न आउने गरेको संचालक पौडेल बताउंछन् । फार्म अवलोकन गर्न एकजनाले ५० रुपैयां तिर्नुपर्छ ।

पौडेलका अनुसार फार्म अवलोकनकर्ताबाट मात्रै प्रा.लि.ले वर्षमा साढे ४५ लाख आम्दानी गर्छ ।

वार्षिक पाँच करोडको कारोबार

औसतमा दैनिक २ हजार लिटर दूध उत्पादन गरी विक्रि गर्ने प्रालिले वार्षिक करिब ५ करोड रुपैयां बराबरको दुध विक्रि गर्ने गरेको जनाएको छ । दुध वाहेक फार्मले गाई बेचेर पनि आम्दानी गर्छ । एउटा गाई एकलाख देखि डेढलाख रुपैयाँसम्ममा बिक्री हुने पौडेल बताउंछन् । फार्मले दैनिक एक लाखदेखि एक लाख ३० हजार रुपैयाँसम्मको दुध बेच्ने गरेको छ । फार्मको दूध डेरीमार्फत बुटवल र भैरहवासम्म विक्री हुन्छ । अन्यत्र ८० रुपैयां प्रतिलिटर मूल्य रहेकामा पौडेलको फार्मले प्रतिलिटर ६० देखि ६५ रुपैयाँमा बिक्री गर्ने गरेको छ । फार्ममा ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

भविष्यको सपना: एग्रो रिसोर्ट

सरकारी स्कूलको स्थायी शिक्षक पौडेल २०६७ साल बैसाखमा गाई फार्म शुरु गर्नुअघि सञ्चार गृह, बैंक र रियल स्टेट व्यवसायमा पनि थिए । बीचमा भीसा पाएर अमेरिका पनि पुगेका पौडेल फर्केर फेरि नेपालमै आएपछि गाईपालनमा हात हालेका हुन् । शुरुमा पाँचजना मिलेर दर्ता गरेको प्रालिबाट दुई जना त फार्म शुरु नहुंदै बाहिरिएका र बाँकी २ जना केही वर्षपछि सहमतिमै बाहिरिएका पौडेल बताउँछन् ।

‘अब इजरायली कम्पनीसंगको साझेदारीमा प्रालिलाई दक्षिण एशियाकै नमूना एग्रो रिसोर्टको रुपमा विकास गर्ने सपना देखेको छु’–संचालक पौडेलले भने–‘डेरी उद्योग र खाद्य उद्योग संचालनमा आइसकेपछि एग्रो रिसोर्टको काम अघि बढछ ।’

कम्तीमा २५ करोड लगानी हुने एग्रो रिसोर्टमा सुविधासम्पन्न बेडरुम, रेष्टुरां, कन्फेरेन्स हलहरु,स्वीमिङ पूल, चिल्ड्रेन पार्क,एग्रो लाइब्रेरी,सपिङ मल आदि सुविधा उपलब्ध गराउने दीर्घकालीन लक्ष्य रहेको पौडेलले खुलाए । एग्रो रिसोर्टमा लुम्बिनी आउने पर्यटकलाई समेत लक्षित गरेर सेवा उपलब्ध गराइने सोंच छ । ‘सबैले कृषि प्रधान भन्दै हिंड्ने तर कसैले नयां ढंगले काम गरेर परिवर्तन ल्याउने गरी काम नगरेको देखेर आफैले शुरु गरेर हेरौं न भनेर अमेरिकाको भीसा त्यागेर आएको हुं, अब बांकी जीवनमा जे जति गर्न सक्छु यही फार्मका माध्यमबाटै गर्छु–पौडेलले भने–‘नीति निर्माण तहमा बसेकाहरु, र दलका नेताहरुले बुझ्नुपर्छ,देशलाई सांच्चिकै समृद्ध र आत्मनिर्भर बनाउने हो भने पहिलो कृषिबाट र त्यसपछि पर्यटनबाटै हो ।’

राज्यका नीति नियमले हतोत्साही बनाउँंछ

सबैजसो प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु,कर्मचारी प्रशासनका पनि उच्च ओहदाका अधिकारीहरुसंग उत्तिकै राम्रो सम्बन्ध स्थापित गरिसकेका पौडेलले अहिलेसम्म राज्यका नीति, नियम, कानुन र व्यवहार नयां क्षेत्रमा केही गर्न खोज्ने उद्यमीलाई प्रोत्साहन गर्ने भन्दा निरुत्साहित गर्ने र त्यो पेशा व्यवसायबाटै हात झिक्ने बनाउने खालका रहेको दुखेसो पोखे ।

सरकारी नीति नियम, कर्मचारी प्रशासनको रवैया देख्दा त बेलाबेलामा पेशा नै छोडौं कि जस्तो सोंच आउने गरेको पौडेल स्वीकार्छन् । तर आफूले संयमता र धैर्यता अपनाएर देशका लागि केही नमूना काम गरेर देखाउन पनि यो व्यवसाय नछोड्ने दृढता व्यक्त गर्छन् ।

‘राज्यका नीति,नियम केही गर्छु भन्नेलाई हौसला मिल्ने खालका हुनुपर्ने हो, तर यहां ठीक उल्टो छ, यसमा आमूल परिवर्तन नगर्ने हो भने जतिसुकै समृद्धिका गफ गरेपनि उद्यममा लगानी हुँंदैन र उत्पादन बढ्दैन’–पौडेलले भने । आफूले गरेको प्रयासले सफलता पाउँदै गएकोमा र देशले चिन्ने मान्छे हुन पाएकोमा पौडेल सन्तुष्ट छन् ।

‘अमेरिकामा एनआरएनए भएर बसेको भए अथवा अन्य क्षेत्रमा लागेर प्रशस्तै पैसा कमाएको अवस्थामा भन्दा गाईको गोठालोकै रुपमा सफल कृषक भएर राज्यबाट विभुषित हुन पाएकोमा नै बढी सन्तुष्ट छु’–पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?