२७ भदौ, काठमाडौं । भियतनामको राजधानी हनोइका अधिकारीहरुले नगरबासीलाई कुकुरको मासु नखान आग्रह गरेका छन् ।
कुकुरको मासु खानाले शहरको प्रतिष्ठामा आँच आउने र रेविजजस्ता हानिकारक रोगका बिरामी बढ्न सक्ने उनीहरुको भनाइ छ ।
हनोइको पिपुल्स कमिटीले यो निर्णयले शहरको छवि सुधार गरेर ‘सभ्य र आधुनिक राजधानी’ बनाउने आशा गरेको जनाएको छ ।
भियतनामको शहरी विकास कार्यालयले कुकुरको मासु खानाले मानिसहरुमा रेविज र लेप्टोस्पाइरोसिसको संक्रमण फैलने भएकाले यसको सेवन गर्न छोड्न नगरवासीलाई आग्रह गरेको हो ।
हनोइमा १ हजार भन्दा धेरै पसलहरुमा कुकुर र बिरालोको मासु पाइन्छ । कमिटीले नगरबासीलाई बिरालोको मासु पनि नखान आग्रह गरेको छ । बिरालोको मासु कुकुरको जति लोकपि्रय नभए पनि धेरैले खाने गर्छन् ।
कमिटीले मासुको लागि जनावरहरुलाई क्रुर तरिकाले मारिएको हुन सक्ने भन्दै यस्तो कार्य रोकिनुपर्ने बताएको छ । हनोइमा करिब ५ लाख कुकुरहरु रहेको अनुमान गरिएको छ ।
‘भियतनाममा कुकुरको मासु खाएको मन नपराउने युवाहरु बढिरहेका छन्’, बिबिसीका भियतनामी सेवाका पत्रकार लिन्ह न्युगेनले भने, ‘तर, यो बानी अझै पनि पुरातन प्रचलनको रुपमा रहेको छ ।’
सामाजिक सञ्जालमा पनि धेरै मानिसहरुले निर्णयको स्वागत गरेका छन् तर, केहीले भने भियतनामीहरुले कुकुरको मासु खान सजिलै छोड्न नमान्ने तर्क गरेका छन् ।
फेसबुकका एक प्रयोगकर्ता दाङ न्गोक क्वाङले यो परिकारलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउन नहुने बताएका छन्, त्यसले स्वतन्त्रतामा बञ्चित गर्ने उनको तर्क छ ।
त्यसको सट्टा कुकुरको मासुमा धेरै कर लगाएर कुनै निश्चित स्थानमा मात्रै बेच्न उनले सुझाव दिएका छन् ।
बीबीसीबाट
प्रतिक्रिया 4