+
+

पासपोर्ट बनाउन आफैं उपस्थित हुने कि हुलाकबाट ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते ११:३२

९ कात्तिक, बार्सिलोना । नेपालका सरकारी अधिकारीहरु पुरानै मानसिकताबाट काम गरिरहेका छन् । यही पुरानो मानसिकता बोकेका कर्मचारीलाई स्पेनको म्याड्रिडमा स्थापित नयाँ नेपाली दूताबासमा पठाइएका कारण राहदानी  सम्बन्धी विवाद चर्किएको छ ।

नेपाली दूताबासका कर्मचारीले पासपोर्ट बनाउन वा नवीकरण गर्न व्यक्ति स्वयं दूताबासमा उपस्थित हुनैपर्ने बताएपछि सेवाग्राहीले यस्तो प्रावधानको विरोध गरिरहेका छन् । हुलाकबाटै डकुमेन्ट पढाएर राहदानी बनाउन पाउनुपर्ने यहाँका नेपालीको माग छ ।

युरोप, अमेरिकालगायत प्रायः सबै विकसित देशहरुले हुलाकमार्फत हुने कामलाई मान्यता दिने गरेका छन् । अझ अहिलेको डिजिटल युगमा त इमेलमार्फत् नै सरकारी कामहरु हुन्छन्, व्यक्तिले सरकारी कार्यालयमा गएर लाइन लागिरहनुपर्दैन । तर, नेपालमा सरकारी हुलाकलाई अस्थिपञ्जर बनाएका नेता र कर्मचारीहरुले विदेशमा हुलाकको महत्व र प्रभावकारिता कति छ भन्ने नै ठम्याउन सकेका छैनन् । भलै, केपी ओली नेतृत्वको सरकारले क्याबिनेटलाई पेपरलेस बनाउने भन्दै मन्त्रीले म्याक चलाएका तस्वीरहरु भने नआएका होइनन् ।

म्याड्रिडस्थित नेपाली दूताबासबाट राहदानी जारी गर्न थालेको महिनौं बितिसक्यो । तर, दूताबासले अहिलेसम्म पोष्टल सर्भिस सुरु गरेको छैन । यसले गर्दा राहदानी बनाउन स्पेनमा बसोबास गर्ने नेपालीहरुले सास्ती व्यहोर्नुपरिरहेको छ ।

स्पेनस्थित नेपाली राजदूताबासका राजदूत भरतबहादुर रायमाझीले पासपोर्ट विभागको निर्देशन भन्दै स्वयं ब्यक्ति नै उपस्थित हुनुपर्ने बताउँदै आएका छन् । जसका कारण म्याड्रिडभन्दा सयांै किलोमिटर टाढा तथा अन्य शहरहरुमा बस्ने नेपालीहरुलाई राहदानी बनाउन समस्या परेको छ ।

त्यतिमात्र हैन, नयाँ राहदानी बनेपछि सो लिनका लागि पनि दूताबासमा नै स्वयं उपस्थिति हुनुपर्ने राजदूतताबासका अधिकारीहरुको भनाइ छ ।

महानिर्देशक भन्छन्– हुलाकमार्फत राहदानी जारी गर्न सकिन्छ

परराष्ट्र मन्त्रालय, राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले स्पेनस्थित नेपाली दूताबासले राहदानी सर्कुलेसनबारे गलत धारणा बनाएकाले समस्या आएको प्रतिक्रिया दिएका छन् ।

दूताबासले ‘विभागीय निर्देशन’ भन्दै राहदानी बनाउन अनिवार्य रुपमा स्वयं व्यक्ति नै उपस्थिति गराउनुपर्ने बताएपछि महानिर्देशक खड्काले यस्तो स्पष्टीकरण दिएका हुन् ।

एक सरकारी कार्यक्रममा सहभागी बन्न क्यानाडामा रहेका थापाले अनलाइनखबरसँग कुराकानी गर्दै हुलाकमार्फत दूताबासमा डकुमेन्ट पठाएर पनि राहदानी जारी गर्न सकिने बताएका छन् ।

खड्काले अनलाइनखबरसँग भने– ‘हामीले जुन किसिमको त्यहाँ सर्कुलेशन गरेका छौं, दूताबासमा मिस कन्सेप्सन (गलत धारणा) भएछ । लाईभ इनरोलमेन्ट सिष्टम (प्रत्यक्ष दर्ता प्रणाली) भएका मुलुकहरुमा सम्भव भएसम्म व्यक्ति नै उपस्थित गराउने भनेर सर्कुलर गरेका हौं । तर, त्यो प्रणाली नभएका मुलुकहरुमा होइन र स्पेन पनि त्यसमा पर्दैन ।’

महानिर्देशक खड्काले राहदानी सेवालाई छिटो, छरितो र सजिलो र प्रभावकारी बनाउने बिभागको उदेश्य रहेकोसमेत बताए । खड्काले भने, ‘पोष्टल सर्भिसको उपयोग गरेर पासपोर्ट बनाएर पठाइदिन दूताबासलाई कुनै पनि समस्या हुँदैन । तर, यदि अफिसरलाई कुनै शंका लाग्यो भने सो व्यक्तिलाई स्वयम् स्काईपबाट अथवा कुनै ढंगले कुराकानी गरेर यकिन गर्न सकिन्छ । नागरिकता वा कुनै डकुमेन्टमा शंका लागेमा सम्बन्धित जिल्ला कार्यालयमा पत्राचार गरेर भेरिफिकेसन गर्न सकिन्छ ।’

व्यक्ति आफैं उपस्थित हुनुपर्छः राजदूत

राहदानी विभागका महानिर्देशक खड्काले हुलाकबाटै डकुमेन्ट पठाएर पासपोर्ट बनाउन सकिने बताए पनि राजदूत रायमाझी भन्छन्– ‘हामीले काम गर्ने हो, उहाँहरुले एउटा नियम बनाउनुभएको रहेछ । त्यो नियम बेलाबेलामा फेसबुकमा राखेर रिमाइण्ड पनि गराउनुहुन्छ । पासपोर्ट बनाउनको लागि निबेदन गर्न पनि दूताबास जानु पर्ने र लिन पनि जानु पर्ने नियम रहेछ । अहिले हामीले पनि त्यही नै गरेका छौं ।’

दूताबासमा स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने नीतिको बचाउ गर्दै राजदूत रायमाझीले विभागबाट प्रमाणीकरण र सहप्रमाणीकरण भनेर छुट्याइएको बताए । उनले भने,‘प्रमाणीकरण भनेको जुन राष्ट्रमा बसेको छ, त्यसलाई प्रमाणीकरण र एउटा राष्ट्रबाट अर्को राष्ट्रमा हेरिनेलाई सहप्रमाणीकरण गरिन्छ ।’

स्पेनमा नै दूताबास भएकाले यो प्रमाणीकरणअन्तर्गत परेको बताउँदै रायमाझीले अनलाइनखबरसँग भने– ‘त्यसैले राहदानी बनाउन स्वयं उपस्थित हुनुपर्छ ।’

उता महानिर्देशक खड्काले गलत बुझाइका कारणले यस्तो समस्या आएको बताएका छन् । उनले भने, ‘हुलाक मार्फत डकुमेन्ट पठाउन सकिन्छ । मैले मौखिकरुपमा पनि उहाँलाई बताइसकेको छु । यदि लिखितरुपमा दूताबासलाई निर्देशन चाहिन्छ भने पनि पठाइदिन्छु, यसमा समस्या नै छैन । यो सामान्य कुरा हो । उहाँहरु आफंैले बुझेर पनि गर्नुपर्ने हो ।’

नयाँ दूतावास, कुटनीतिक दक्षताको अभाव

प्रायः राजनीतिक नियुक्ति अर्थात् दलीय भागबण्डाका आधारमा सरकारले राजदूत नियुक्ति गरेर पठाउने हुँदा दूताबासहरुमा यस्ता समस्या देखापर्ने गरेका छन् ।

राहदानीबारे प्रत्यक्ष दर्ता प्रणाली भएका नियोगहरु तथा अन्य दूताबासहरुको हकमा राहदानी बिभागबाट जारी भएका सर्कुलेसनलाई समेत नबुझ्दा, विदेशस्थित नेपालीहरुको हितमा खोलिएका दूताबासबाटै उल्टो सास्ती खेप्नु परेको गुनासो सेवाग्राहीहरुको छ ।

एकातर्फ नयाँ दूताबास, अर्कोतर्फ राजदूत र कर्मचारीको खिचातानीले यहाँको सेवा झनै कमजोर बनेको छ ।

म्याड्रिडस्थित नेपाली दूताबासमा राजदूत रायमाझीसहित प्रथमसचिव हरिहरकान्त पौडेल र तेस्रो सचिवका रुपमा भोजकुमार भट्टराई कार्यरत छन् । स्रोतका अनुसार लामो समयदेखि तीनैजनाको एकैसाथ बैठक तथा छलफलसमेत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?