+
+

बिहानको यूएन पार्कः साँघुरिँदैछ उपत्यकाको फोक्सो

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २६ गते १७:२०

२६ मंसिर, काठमाडौं । बिहानको ६ बजे । वागमती नदीको किनारमा अवस्थित युएन पार्कको गेटमा पुग्नेवित्तिकै मानिसहरुको बाक्लो चहल–पहल देख्न पाइन्छ ।

शंखमूल पुलदेखि टेकु दोभानसम्म फैलिएको यो पार्क शहरी जीवनले स्वच्छ श्वास फेर्ने सार्वजनिक ठाउँ हो ।

बिहान पाँचै बजेदेखि नै युएन पार्कमा चहल–पहल सुरु हुन्छ । कोही गुरुबाट ध्यान सिकिरहेका हुन्छन् त कोही संगीतको तालमा नृत्य (व्यायाम) गरिरहेका हुन्छन् । ब्याटमिन्टन, टेबल टेनिस र फुटबल खेल्नेहरु अलि पछि आइपुग्छन् ।

पार्कभित्र असारे, कल्की, लप्सी, मसला, काइँयो, अम्बा, रुद्राक्ष, धुपी, युकिलिप्टस, कपुर, बरपीपल, नीम लगायतका वृक्षहरु छन् ।

पार्कको बीचमा रहेको एउटा चौतारीमा ध्यानमग्न भेटिए एक युवक । आँखा खोलेपछि हामीले उनीसँग कुरा गर्‍यौं । उनी रहेछन्, २९ वर्षीय सुलभ खड्का । उनी दौड र व्यायामपछि ध्यानाशनमा बसेका रहेछन् ।

‘१८ महिना भयो योग शुरु गरेको’, उनले भने, ‘तौल ७७ केजीबाट ७० केजीमा झारेको छु ।’

नरेन श्रेष्ठ स्किपिङ गरेर पसीना फाल्न नजिकै आइपुगे । उनले अरु काम नपरेको हरेक बिहान शारीरिक क्रियाकलापका लागि युएन पार्क आउन नछुटाउने बताए । धुवाँधुलोको बतास चल्ने कंक्रिटको जंगल बनेको काठमाडौंका लागि यो पार्क अक्सिजन तान्ने फोक्सो बनेको उनको अनुभव छ ।

‘उपत्यकामा एकाबिहानै पनि गाडीहरुको घ्यारघुर नभएको ठाउँ पाउनै मुस्किल भइसक्यो’, श्रेष्ठ भन्छन्, ‘तर, यहाँ चराको चिरवीरमा स्वच्छ श्वास लिन सकिन्छ ।’

यही कारण एक हजार ५७६ रोपनीमा फैलिएको युएन पार्कमा हरेक बिहान अविभावकसहितका वालवालिकादेखि ७० वर्षबाट उकालो लागिसकेकाहरु आइपुग्छन् । मानिसहरु सामान्य व्यायामदेखि ब्याटमिन्टन र फुटबलसम्म खेलेर पसिना फाल्छन् ।

५८ वर्षकी छोरीमाया स्थापितले हरेक बिहान यो पार्कमा हिँडेर उच्च रक्तचाप नियन्त्रण गरेको बताइन् । ‘टाउको र खुट्टा दुख्ने समस्या पनि हरायो’, यहाँ आएपछि ‘टेन्सन’ पनि हराउने बताउँदै उनले भनिन्, ‘रक्तचाप सन्तुलनमा आएको डाक्टरले बताउनुभएको छ ।’

अलि पर रुखको फेदमा म्याट्रेसमाथि मौन भेटिइन् मेनुका राना मगर । उनी प्रणायाममा मग्न थिइन् । ५४ वर्षीया मगर बिहान–बिहान युएन पार्क आउन थालेको १० वर्ष भएछ ।

यो पार्क खुल्नुअघि मर्निङवाकमा मंगलबजारतिर जाने गरेको उनले सुनाइन् । ‘बिहानको व्यायाम र प्राणायामले अहिलेसम्म पेट लागेको छैन, तनावमुक्त छु’, उनले उपलब्धी सुनाइन्, ‘सुगर, प्रेसर पनि कन्ट्रोलमा छ ।’

५३ वर्षीय कृष्ण कार्की हरेक बिहान सात बजेतिर युएन पार्क आउँछन् र पसिना ननिस्कुञ्जेल हिँड्छन् । ‘पहिले जिउ भारी भएर आउँथ्यो, काम नगर्दा पनि थकान महसुस हुन्थ्यो’, उनले तीन महिनाको प्रगति विवरण सुनाए, ‘अहिले ज्यान फुर्तिलो भएको छ, स्वाँस्वाँ पनि हुँदैन ।’


कार्कीले तौल ६ किलो घटेर ८० मा झरेको बताए । तौल अझ घटाउने र हिँडाइलाई डौडाइमा पुर्‍याउने उनको प्रयास जारी छ । ‘४० कटेपछि रोगहरुले अलि हेप्दा रहेछन्’, कार्की भन्छन्, ‘तिनलाई जित्न नदिन शारीरिक व्यायाम आवश्यक भयो ।’

खेलाडीसमेत रहेकी नयाँ वानेश्वरकी रुष्मा श्रेष्ठ भने ‘लुक्स’ र मानसिक स्वास्थ्यका लागि हरेक बिहान युएन पार्क आएर व्यायाम गर्छिन् । ‘कतिपय मानिसहरु चिसोमा अनुहारको छाला बिग्रन्छ भनेर बिहान हिँड्दैनन्’, उनले भनिन्, ‘योचाहिँ गलत हो जस्तो लाग्छ मलाई ।’

पहिले म्याराथुन धावक रहेका ४० वर्षीय अजय श्रेष्ठ पनि हरेक बिहान दौडन युएन पार्क आउँछन् । उनलाई पार्क साँगुरो लाग्न थालेको छ । ‘पछिल्लो समय निकै भीड हुन थालेको छ’, उनी भन्छन्, ‘मान्छे बढ्नु राम्रो हो, अब ठाउँ बढाउने सोच्नुपर्‍यो ।’

काठमाडौंको जनघनत्व दिनप्रतिदिन बढ्दै छ, तर खुला ठाउँहरु मासिँदै र पार्कहरु साँगुरिदैछन् । बालाजु, शंखपार्क, रत्नपार्क लगायत करिव डेढ दर्जन पार्क मानिसको बढ्दो चापसँगै साँघुरा भइसके । महानगर वा सम्बन्धित निकायले यसमा खासै ध्यान दिएको देखिन्न ।

त्यसमाथि, पार्क व्यवस्थापन लाजमर्दो छ । युएन पार्कको आकार र सौन्दर्य वृद्वि त टाढाको कुरा, भाँच्चिएको बेञ्च मर्मतसमेत हुन सकेको छैन ।

पार्कको मूलगेटमा निस्कँदा सा–साना दोकान भेटिन्छन् । टेबुल वा भूईंमै धानिएको तीनघण्टे दोकानमा गहुँको जमरा, घ्युकुमारी (एलोभेरा) र किवी फल सजाइएका छन् ।

कोही थर्मसमा चिया बोकेर बसेका छन् । कोही तरकारी बेच्न बसेका छन् । मानिसहरु व्यायाम गरिसकेर यिनै दोकानमा ठोक्किन्छन् । कोही जमराको जुस पिउँछन् त कोही तरकारी किन्छन् ।

रीना बस्नेतले युएन पार्कको गेटमा जमराको जुस बेच्न थालेको दुई वर्ष भयो । उनको दाबी अनुसार, यो जुसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । उनी गहुँको जमरालाई सानो मेसिनले पेलेर जुस बेच्छिन् । हरेक बिहान सय गिलाससम्म जुस बिक्री हुने उनले बताइन् ।


तस्वीरहरूः शंकर गिरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?