१३ पुस, बुटवल । अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै बुटवलमा पहिलापटक सडक खाना महोत्सव आयोजना गरिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा पुस १५ र १६ गते बुटवलमा सडक खाना महोत्सव हुन लागेको हो ।
तीनकुनेदेखि होराइजनचोकसम्मको सडकमा सञ्चालन हुने महोत्सवमा ५० वटा स्टल रहने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए । महोत्सवमा नेपालका विभिन्न आदिवासी जनजातिका परम्परागत खानाका परिकारसंगै नेपाली, इण्डियन, चाइनिज, जापानीज, इटालियन र थाई खानाका परिकारहरु रहने संघका अध्यक्ष समुन्द्र जीसीले जानकारी दिए ।
आयोजकहरुले छपियाको माछा र खसीको सेकुवाका परिकारलाई महोत्सवको मुख्य आकर्षण र पहिचानको रुपमा स्थापित गर्ने बताएका छन् । महोत्सवमा खानाका परिकारमा १० प्रतिशत र आवासमा २० प्रतिशत छुट दिइएको जीसीले बताए । दुई दिनसम्म चल्ने महोत्सवमा ५० हजार दर्शकलाई अवलोकन गराउने र ५० लाख रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य लिइएको संघका महासचिव माधव खनालले बताए ।
महोत्सवमा आउने दर्शकलाई मनोरञ्जनका लागि लोक, आधुनिक, पप र रक विधाका स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति पनि रहने सहआयोजक म्युजिक डेस्टिनी इन्टरटेन्मेन्टका दीपक तामाङले जानकारी गराए ।
प्रतिक्रिया 4